“हामीलाई मत दिए धोका हुँदैन”



बसन्त मानन्धर प्रदेशसभा, नेकपा (एमाले)

दोस्रो चरणअन्तर्गत आउँदो मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तात्दै गएको माहौलले काठमाडौंलाई पनि छोइसकेको छ। उम्मेदवारहरु आ–आफ्नो चुनावी एजन्डा लिएर मतदाताको घरघरमा गइरहेका छन्।

निर्वाचनको मिति जति नजिकियो उम्मेदवारबीच हारजितको जोडघटाउ पनि चलिरहेको छ। सांस्कृतिक सम्पदाको धनी रहेको राजधानीको मुख्य भागमा रहेको क्षेत्र नम्बर ७ अन्तर्गत प्रदेश १ मा वाम गठबन्धनका साझा उम्मेदवार बसन्त मानन्धर पनि आफ्नो एजेन्डा लिएर मतदाताको घरदैलोमा गइरहेका छन्। चुनावी माहौल तात्दै गएको सन्दर्भमा उनै मानन्धरसँग नेपाल समाचारपत्रले गरेको कुराकानीको सारसंक्षेप

तपाईंको क्षेत्रमा चुनावी माहौल कत्तिको तातिरहेको छ ?
मेरो क्षेत्रको मात्र हैन २१ गते निर्वाचन हुने सबै क्षेत्रहरुमा निर्वाचनको माहौल तात्दै गएको छ। उम्मेदवारहरु आ–आफ्नो एजेन्डा लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन्। म पनि चुनाव प्रचारप्रसार गर्दै मतदाताको घरदैलो गइरहेको छु। साथै, चुनावको सन्दर्भलाई लिएर नगर, वडा, टोल भेला तथा कोणसभाहरु पनि भइरहेका छन्। मुख्य रूपमा वाम गठबन्धनको तर्फबाट हामीले आफ्ना चुनावी एजेन्डा मतदातासामू राखिरहेका छौं।

मतदाताहरुको चाहना के रछ त ?
मुख्य रूपमा मतदाताहरुको चाहना भनेको स्थानीय क्षेत्रको विकास नै हो। स्थानीय क्षेत्रको विकास गर्छु भनेर जनप्रतिनिधिहरुले पटकपटक बाचा गर्ने र चुनाव जितेपछि त्यो बाचा पूरा नगर्ने तथा जनप्रतिनिधिहरुले चुनावअघि गरिएको बाचालाई ध्यान नै दिएनन् भन्ने मतदाताहरुको मुख्य चासो र गुनासो मैले पाएँ। हामी जे बाचा गर्छांै त्यो पूरा गर्छौं भनेर भनेका छौं। मतदातालाई हामीबाट धोका हुँदैन।

स्थानीय क्षेत्रको विकासका लागि यहाँ गर्नुपर्ने काम चाहिँ के–के हुन् त ?
हेर्नुस, मुख्य गरी हामीले यहाँको स्थानीय सांस्कृतिक संरचनाको रक्षा र प्रवद्र्धन गर्दै सडक, खानेपानी, ढल निकास, फोहोर व्यवस्थापन, वातावरण संरक्षणजस्ता अत्यावश्यक कामहरु तत्काल गर्नुपर्नेछ। यहाँ विश्वमा चर्चित रहेको कुमारी मन्दिर पनि छ। कुमारी घुम्ने रुटलाई विशेष सांस्कृतिक क्षेत्र घोषणा गर्ने र पर्यटकीय क्षेत्र बनाउनुपर्नेछ। अन्य स्थानीय कला र संस्कृतिको जगेर्ना पनि गर्नुपर्नेछ।

यो क्षेत्रको विकासको कुरा गर्नुभयो। सिंगो प्रदेशको विकास गर्ने योजना चाहिँ के छ तपाईंको ?
संविधान कार्यान्वयन गर्दै प्रदेशसभाको अधिकार जनताको पक्षमा उपयोग गर्ने मुख्य काम त छँदै छ। साथै, राजनीतिक सहमतिमा काठमाडौंको पहिचान खुल्ने गरि ३ नम्बर प्रदेशका नामाकरण गर्ने पनि हाम्रो एजेन्डा छ। सिंगो काठमाडौंलाई सुन्दर, सुविधाजनक र सुरक्षित शहर बनाउने पनि हाम्रो एजेन्डा छ। मूल रूपमा संविधानमा २१ वटा प्रदेशको अधिकार तोकिएको छ त्यसलाई जनताको पक्षमा उपयोग गर्छांै।

यो क्षेत्रमा धेरै उम्मेदवार छन्। तपाईंको प्रतिस्पर्धा चाहिँ कोसँग हुने अनुमान गर्नुभएको छ ?
हो, मेरो क्षेत्रमा ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। मेरो प्रतिस्पर्धा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजय मालीसँग नै हुनेछ भन्ने मेरो अनुमान हो। स्थानीय निर्वाचनलाई आधार मान्ने हो भने हामी लोकतान्त्रिक गठबन्धनभन्दा १ हजार ५ सय मतले अगाडि छौं। अहिले मतदाताहरु पनि थपिएका छन् र वाम गठबन्धनप्रति आम मतदातामा आकर्षण बढेको छ। त्यसैले यो निर्वाचनमा हामी ठूलो मतान्तरले विजयी हुन्छौं।

यहाँको भौगोलिक अवस्था, मतदाताको अवस्थाका बारेमा पनि बताइदिनुस् न ?
मेरो क्षेत्र काठमाडौं महानगरपालिकाको वडा नम्बर १६, १७, १८ र २५ को क्षेत्र पर्दछ। यहाँ साढे १८ हजार जति मतदाता रहेका छन्। जसमध्ये वडा नम्बर १६ मा मात्र २० हजार मतदाता छन्। मतदाताहरु ७० प्रतिशत नेवार समुदायका छन्।

प्रतिक्रिया दिनुहोस्