निर्वाचनपछि एसियाड तयारी थालिने



नेपाल समाचारपत्र
काठमाडौं
सन् २०१८ मा इन्डोनेसियाको राजधानी जाकार्तामा हुने एसियाली खेलकुदको तयारी आसन्न निर्वाचनपछि गरिने नेपाल ओलम्पिक कमिटीका (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले बताएका छन्।

‘निर्वाचनपछि बन्ने नयाँ सरकार, राखेपसँग सल्लाह समन्वय गरेर टिम तयारी र सहभागिताको लागि विशेष ध्यान दिएर तयारीमा लाग्नेछौं।’ –अध्यक्ष जीवनराम श्रेष्ठले बताए। उनले यसपटक सहभागिताका लागि मात्र नभई परिणामुखी नतिजा मुख्य लक्ष्य बनाउने समेत बताए।

बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै एनओसीले एसियन गेम्सका लागि डिसेम्बरमा हुने बैठकमा सहभागी हुने ‘सेभ दि मिसन’को घोषणासमेत गरेको छ। जसमा एनओसीका उपाध्यक्ष ज्योति राणाले नेपालको प्रतिनिधित्व गर्ने अध्यक्ष श्रेष्ठले जानकारी गराए।

सन् २०१८ अगस्ट १८ देखि सेप्टेम्बर २ सम्म हुने १८औं संस्करणको एसियन गेम्समा ४० खेलका ६६ इभेन्ट्सहरु समावेश छन्। जसमा कुल ४ सय ६२ स्पर्धा रहेको छ। पछिल्लो दुई संस्करणमा नेपालले एक–एक कांस्य पदक मात्र जित्न सफल भएको थियो।

एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले विगतमा जस्तो भए पनि यसपटक विशेष तयारी गरिने बताए। उनले नेपालले कति खेलमा सहभागिता जनाउने भन्ने निर्णय नभइसकेको जानकारी दिए।

अध्यक्ष श्रेष्ठले एसियन गेम्सका लागि प्रतिस्पर्धा गर्न खेल र खेलाडीको केही मापदण्ड रहने बताए। उनले भने– ‘खेलाडीको यसअघिको प्रदर्शन, रेकर्डहरु सबै विचार गरेर मात्र खेलाडी छनोट गरिनेछ। त्यसका लागि ४० खेलका सबै नेपाली राष्ट्रिय संघलाई जानकारी गराइसकेको छ। अब खेलाडी छनोट गर्दा पनि पारदर्शी नियम लागू गर्नुपर्छ। सबैलाई छनोटको समान अवसर पाउनुपर्छ भन्ने हाम्रो धारणा हो।’

अध्यक्ष श्रेष्ठले एसियन गेम्समा सहभागी हुने खेलाडीहरुलाई विशेष प्रशिक्षण आवश्यक रहेकोले रसिया, थाइल्यान्ड, कतार, जापान, चीन र कोरिया गरी ६ राष्ट्रसँग कुरा भइरहेको बताए। उनले आवश्यकताअनुसार विदेशी प्रशिक्षक पनि नेपालमै झिकाएर प्रशिक्षण गराउनेसमेत योजना रहेको बताए।

प्रतिक्रिया दिनुहोस्