राष्ट्रपतिद्वारा आर्थिक रूपान्तरणमा योगदान पुर्याउन आह्वान



नेपाल समाचारपत्र
काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधानले व्यवस्था गरेबमोजिम सबै तहको निर्वाचन सम्पन्न भएसँगै गठन हुने सरकारले राजनीति स्थायीत्व कायम भई मुलुकमा रहेको गतिरोध अन्त्य गरी आर्थिक विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो। बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा तेस्रो संकरणको नेपाल चेम्बर एक्स्पो २०१७ उद्घाटन गर्दै उहाँले शो कुरा बताउनु भएको हो।

राष्ट्रपति भण्डारीले अर्थतन्त्रको मुख्य खम्बा निजी क्षेत्रले दृढ आत्मविश्वास उत्सापूर्वक आर्थिक रूपान्तरणमा योगदान पुर्याउन आह्वान गर्नुभयो। आन्तरिक स्रोत साधनको सम्भवना धेरै रहेकाले यसको उच्चतम् सदुपयोग तथा मानवीय साधनको उच्च परिचालन गरी आयात प्रतिस्थापनमा केन्द्रित भई व्यापार घाटालाई न्यूनीकरण गर्दै लैजानुपर्ने खाँचो रहेको राष्ट्रपति भण्डारीले बताउनुभयो। उहाँले एकातिर मुलुकमा श्रमिकको अभाव छ भने अर्कोतिर रोजगारीको लागि युवा जनशक्ति पलायन भएको अवस्था छ। यसको लागि निजी क्षेत्र र सम्बद्ध निकायले मुलुकमै कसरी श्रमको अधिकतम् प्रयोग गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने औंल्याउनुभयो।

उद्योग धन्दाको विकास वाणिज्य प्रणालीको सुदृढीकरण गरेर रोजगार प्रवद्र्धन गर्नुपर्नेछ जसले गर्दा जनताको जीवनस्तर उकास्न सकिने आफ्नो विश्वास रहेको छ राष्ट्रपतिले बताउनुभयो। सरकारले वैदेशिक लगानी सुरक्षित पारदर्शी सर्वपरि हितको लागि आकर्षित गर्ने नीति अपनाएको छ, मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको अग्रणी भूमिका हुने हुँदा सरकारले बनाउने नीति तथा कार्यक्रममा समेटेर अगाडि बढ्न राष्ट्रपतिले आग्रह गर्नुभयो। राष्ट्रपति भण्डारीले देशमै लगानीमैत्री वातावरण निर्माण गरी उद्योगधन्दा स्थापना गरेर रोजगारी प्रदान गर्नुपर्ने आजको आश्यकता रहेको भन्दै परम्परागत प्रविधि ज्ञान सीपलाई संरक्षण सम्वद्र्धन गर्दै समय सुहाउँदो परिमार्जन गरी नेपालको उकृष्ट पहिचान विश्वमा स्थापित गर्न र स्वदेशी उद्यमीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेतर्फ ध्यानकर्षण गराउनुभयो।

उक्त कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले नेपाल र कोरियाको सुमधुर सम्बन्ध रहँदै आएको बताउनु भयो। राजदूत सिकले नेपालमा जलस्रोत, पर्यटन र कृषि क्षेत्रमा पर्याप्त लगानीको सम्भावना रहेको बताउनुभयो। साथै उहाँले एक्पोले दुवै देशको व्यापार बढाउन सहयोग पुग्ने बताउनुभयो।
वाणिज्य मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले एस्पोले स्वदेशी उत्पादनमा प्रोत्साहन मिल्ने र व्यापारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। निर्यातित वस्तुको गुणस्तरमा सुधार गरी व्यापारघाटा कम गर्न सरकार प्रयासरत रहेको छ जसको लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले चोभारमा अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल निर्माणधीन रहेको जानकारी दिनुभयो।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यापारघाटा घटाउनमा सरकार र निजी क्षेत्रले जोड दिनुपर्ने बताउनु हुँदै जसका लागि संरचनागत र स्थायीत्वको विकास गर्न सकेमा मात्र व्यापारघाटा कम गर्न सकिने बताउनुभयो।

वैदेशिक लगानी र लगानीमैत्री वातावरण बनाउनुपर्ने जरुरी रहेको उल्लेख गर्दै उहाँले नेपालको सबै क्षेत्रमा उत्तिकै सम्भावना रहेकाले अब आउने नयाँ सरकारले आर्थिक विकासमा सहयोग गर्ने र जस्ले गर्दा व्यापारघाटा कम हुने पनि विश्वास व्यक्त गर्नुभयो। आर्थिक विकासले गति लिएसँगै आर्थिक वृद्धिदर सुधारको बाटोमा रहेको उहाँको भनाइ थियो।

एक्स्पोमा नेपालसहित दक्षिण कोरिया, थाइल्यान्ड, भारत, चीन, जापान, पाकिस्तान र बंगलादेश गरी आठ वटा मुलुकको सहभागिता रहेको छ। दक्षिण कोरियाले साझेदारी मुलुकको रूपमा सहभागिता जनाएको छ भने थाइल्यान्ड फोकस मुलकको रूपमा सहभागी भएको छ।

नेपाल चेम्बर अफ कमर्सको आयोजना तथा व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रको सहयोगमा आयोजना भएको एक्स्पो मंसिर १८ गतेसम्म जारी रहने छ। ३ लाखभन्दा बढीको सहभागिता हुने अपेक्षा गरिएको एक्स्पोमा २ सय २५ वटा स्टल रहेको छ भने ९० स्टलमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय कम्पनी, उद्योगको स्टल रहेको छ। जसमा कोरियाको २३ र थाइल्यान्डका १५ स्टल समेत रहेका छन्। एक्स्पोमा अटोमोबाइल, विद्युतीय घरायसी तथा फनिर्सिङ सामग्री, फेसनदार न्याना कपडा, खानाका परिकार, मोबाइल तथा ग्याजेटका राखिएको छ।

प्रतिक्रिया दिनुहोस्