नेपालमा लगानी बढाउन आग्रह



काठमाडौं, (नेस)
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपाल र दक्षिण एसियाली देश तथा चीनबीचको आर्थिक व्यावसायिक साझेदारीका अनुभव साटासाट गर्न पाएकोमा खुशी व्यक्त गर्नुभएको छ। माल्दिभ्सको राजधानी मालेमा आयोजित चाइना साउथ एसिया विजिनेस काउन्सिलको मिटिङलाई सम्बोधन गर्नुहुँदै उहाँले चीन र दक्षिण एसियाबीच सहकार्यका लागि फोरम उपयोगी रहेको धारणा राणाले राख्नुभयो।

नेपाल र चीनबीचको दौत्य सम्बन्ध र निजी क्षेत्रबीचको सम्बन्ध अत्यन्त प्रगाढ रहेको स्पष्ट पार्नु हुँदै अध्यक्ष राणाले महासंघले चीनको सीसीपीआईटी र अखिल चीन उद्योग वाणिज्य महासंघमार्फत् पनि दुई देशबीच आर्थिक व्यावसायिक सम्बन्ध विस्तारमा सहकार्य गरिरहेको जानकारी गराउनुभयो।

अध्यक्ष राणाले हालै मात्र स्थापना गरिएको एसियन पूर्वाधार लगानी बैंक र चीन सरकारबाट अगाडि बढाइएको एक वेल्ट एक रोडमा नेपालले हस्ताक्षर गरेको स्मरण गर्दै नेपालको यो सहभागिताबाट निकै धेरै अवसर प्राप्त हुनुको साथै दुई पक्षीय तथा बहुपक्षीय व्यापार वृद्धि तथा लगानी विस्तारमा समेत महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गर्नुभयो।

अध्यक्ष राणाले सार्क देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारमा जोड दिनुका साथै नेपालमा लगानी बढाउन चीन तथा दक्षिण एसियाका व्यवसायी नेतालाई आग्रहसमेत गर्नुभयो।

अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चिनियाँ परिषद् र सार्क उद्योग वाणिज्य संघद्वारा संयुक्त रूपमा आयोजित उक्त बैठकमा माल्दिभ्सका आर्थिक विकास उपमन्त्री अदाम थाउफेग, सार्क उद्योग वाणिज्य संघका सुरज वैद्य र सीसीपीआईटीका पदाधिकारीहरूको सहभागिता रहेको थियो। उक्त बैठक आगामी वर्ष चीनमा आयोजना हुने १३औं चाइना साउथ एसिया व्यावसायिक फोरमको पूर्व तयारी बैठक हो। सोही समारोहमा सिल्क रोड विजनेस काउन्सिलसम्बन्धी सहमतिपत्रमा महासंघका तर्फबाट अध्यक्ष राणाले हस्ताक्षर गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्