कैदीलाई काम देऊ



जिल्ला कारागार, दैलेखका कैदी (थुनुवा) घाम तापेर दिन बिताइरहेका छन्। यहाँ अहिले १ सय २१ जना कैदी (थुनुवा) छन्। जसमा १ सय ११ जना पूरुष छन् भने १० जना महिला छन्। उनीहरुले सीपमूलक तालिम, खेलकुद सामग्री, खानेपानी व्यवस्थापनलगायतका माग राख्दै आएका भए पनि अहिलेसम्म त्यसको व्यवस्था गरिएको छैन। त्यहाँ रहेका कैदीहरुका लागि आवश्यक सीपमूलक तालिमको व्यवस्थापन गरिनु जरुरी देखिन्छ।
सो कारागारभित्र काम गर्न इच्छित व्यक्तिहरु थुप्रै छन्। उनीहरुका लागि आवश्यक सीपमूलक तालिम दिइएमा यहीँ भित्रै रोजगारी सृजना हुने थियो। कैदीहरुले आफूले जानेअनुसारको लद्युउद्यमका सामग्रीहरु निर्माण गरेको भए पनि त्यसको बजारीकरण गर्न समस्या छ। उनीहरुका लागि काम र उत्पादित वस्तुको बजार व्यवस्थापनका लागि केही सोच्नु जरुरी देखिएको छ।
– सम्झना शर्मा, दैलेख, हालः कीर्तिपुर

अहंकार छोड्दा धेरै फाइदा
अहंकार मानिसमा पैदा हुने एउटा भाव हो। यो भावले मानिसलाई सफल बनाउँदैन। अहंकार मानिसमा सुस्तगतिमा पैदा हुन्छ। अहंकार कुनै पनि मानेमा राम्रो कुरा भने होइन। अहंकारले मानिसलाई आफ्नो बारेमा मात्रै सोच्ने गराउँछ। आफ्नो कुरालाई जसरी भए पनि मनाउने योजनामा लैजान्छ। आफ्नो मात्रै कुरा गर्दा वा आफ्नो मात्रै कुरा लागू गराउन खोज्दा त्यसले दिने परिणाम राम्रो हुँदैन। अहंकार पाल्ने कुराभन्दा पनि फाल्ने कुरा हो। अहंकार विकारी विषय हो। अहंकारले मानिसलाई दुर्घटनातर्फ लैजान्छ। यसरी लैजान्छ कि कुनै दुर्घटना नहुँदासम्म उसले आफूलाई गलत काममा लगाइरहन्छ। गलत कामको परिणाम गलतै हुन्छ।
राम्रो कामको परिणाम राम्रो हुन्छ। अहंकारले राम्रो परिणाम दिँदैन। अहंकारले मानिसमा अनावश्यक मोह जगाइदिन्छ। अहंकारले जगाइदिने मोह जब महत्वाकांक्षामा परिणत हुन्छ र उसले त्यो प्राप्त गर्न सक्दैन, त्यसपछि दुर्घटना निश्चित हुन्छ। दुर्घटना हुँदा पनि उसले आफूले गरेको कामलाई पुष्टि गर्ने काम गरिरहेको हुन्छ। दुर्घटनाले उसलाई चेतना दिन नसक्दा अहंकार झनै फैलँदै जान्छ।

अहंकारले मानिसलाई सफल बनाउँदैन। अरुको अस्तित्व स्वीकार नगर्ने विचार भनेको अहंकारवाद हो। अहंकारवादलाई त्याग्न सकिएन भने सफलता पनि हात लाग्दैन। एउटा हदसम्म जाँदा उसले सफलता पाउन सक्ला। सफलता नै अन्तिम विन्दु हो भन्ने पनि लाग्न सक्ला तर त्यसो हुँदैन। अहंकारले उन्नतितर्फ अग्रसर गराउँदैन। अहंकारको परिणाम भयानक हुन्छ। अहंकारको परिणाम सुन्दर हुँदैन। अहंकारको परिणाम लायक हुँदैन। अहंकारको परिणाम जटिल हुन्छ। अहंकारले गर्दा मानिसहरु असफल भएका छन्। आउँदै गरेको सफलता टाढा पुगेको छ। प्राप्त हुँदै गरेको लक्ष्य भेटिँदैन। अहंकारले धनको नाश गर्दछ। अहंकारले समयको नाश गर्दछ। अहंकारले मनको नाश गर्दछ। अहंकारले भएका सम्बन्धहरु बिग्रन्छन्। अहंकारभाव हुने मानिसहरुका पछिल्तिर केही मानिसहरु हुन्छन्। उनीहरुको सम्बन्ध भनेको स्वार्थको मात्र हो। स्वार्थ मिल्दासम्म एक हुन्छन्। स्वार्थ मिल्न छोड्यो भने सम्बन्ध पनि बिग्रन्छ। स्वार्थको सम्बन्ध कुनै पनि हिसाबले दिगो हुन सक्दैन।

अहंकारको लाभ हुन्छ कि हुँदैन ? यो प्रश्न जटिल छ। अहंकारमा लाभ देख्नेहरु पनि छन् यो दुनियाँमा। अहंकारमा लाभ देख्नेहरुले या त जीवनलाई बुझेका छैनन्, या बुझेर पनि बुझ पचाइरहेका छन्। जसले बुझेर पनि बुझ पचाइरहेको हुन्छ, त्यो मानिस नै यो दुनियाँमा सबैभन्दा काम नलाग्ने मानिस हो। बुझेर पनि बुझ पचाउने मानिस खराब मानिस पनि हो। जसले कुनै कुरा बुझ्न सकेको हुँदैन ऊ त अज्ञानी हो। उसलाई सम्झाइ–बुझाइ गर्नुपर्छ। अज्ञानीलाई कुरा बुझाइयो भने त्यो ज्ञानी हुन्छ। उसले गल्ती दोहोर्याउँदैन। हामीकहाँ जानी–जानी गल्ती गर्नेहरुको संख्या कति होला ? जवाफ स्पष्ट छ, यस्ता मानिस त कति छन् कति। जानी–जानी गल्ती गर्ने र त्यसलाई महसुस गर्ने मानिस पनि थोरै छन्।

गल्ती गरेर महसुस गर्ने र गल्ती सच्याउने मानिस नै महान् मानिस हो। गल्ती गर्ने मानिस जो पनि हुनसक्छ। अन्जानवश हुने गल्तीभन्दा जानाजान गरिएको गल्ती दण्डनीय विषय हुन्छ। जसले अहंकार पालेको हुन्छ, जसले गल्ती नै नगरेको जस्तो गरिरहेको हुन्छ, गल्ती जोसुकैबाट पनि हुनसक्छ, मात्र महसुस गर्ने कुरा हो। गल्ती गर्ने तर महसुस नगर्ने भनेको अहंकारीले मात्रै गर्न सक्छ। त्यसैले अहंकारीलाई हुने लाभ भनेको असफलताको लाभ हो। मित्रहरु कम मात्रै हुने मात्रै होइन, भएका मित्रहरु पनि गुमाउने लाभ हो। यस्तो लाभको चाहनामा अहंकारी मात्रै हुन्छन्, अरु कोही पनि हुँदैनन्।
– सम्झना केसी, डोटी

कारबाहीका समाचार खोई ?
निर्वाचनका क्रममा आतंक मच्चाएर कुटपिट गर्ने, विस्फोट गराउने, कर्मचारीहरुलाई नियन्त्रणमा लिई बुथ कब्जा गर्न खोज्नेहरु को–को हुन् र उनीहरुलाई के कारबाही गरियो ? जनसमक्ष यी कुराहरु आउनुपर्छ। बम विस्फोट गराएर म्यादी प्रहरी मारिएको घटना ताजै छ। साथै अन्य घाइतेहरुको अवस्था पनि दयनीय नै छ। यसरी मान्छे मार्ने कार्य कसले गर्यो र उसलाई कस्तो कारबाही चलाइएको छ ? अथवा पक्राउ नै गरिएको छैन ? उता मतपत्रको बाकसमा एसिड हालेर जलाउने व्यक्तिलाई के कारबाही भइरहेको छ ? सरकारले यी कुराको प्रस्टरुपमा उत्तर दिएमा अलि ढुक्क भइने थियो। ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ जस्तो गर्ने हो भने आक्रमणका घटना अझै बढ्नेछन्। आक्रमण गर्नेहरुलाई कडा कारबाहीस्वरुप वर्षौंवर्ष जेल हालिएका समाचारको आशा गर्दछु।
– मदनकुमार प्रजापति, कठमाडौं

प्रतिक्रिया दिनुहोस्