पूर्वराष्ट्रपति बुस सबैभन्दा लामो समय जीवित राष्ट्रपति



वासिङटन, (एजेन्सी)
पूर्वअमेरिकी राष्ट्रपति जर्ज एचडब्ल्यु बुस अमेरिकी इतिहासमा सबैभन्दा लामो आयु भएका राष्ट्रपति भएका छन्। उनी ९३ वर्ष १ सय ६६ दिन पुगेको जनाइएको छ।

बुसले शनिबार यसअघि जेराल्ड फोर्डले सन् २००६ डिसेम्बरमा निधन हुँदा बनाएको ९३ वर्ष १ सय ६५ दिनको कीर्तिमानलाई उछिनेको छ। दोस्रो सबैभन्दा बृद्ध राष्ट्रपति जिमी कार्टर बुसभन्दा १ सय ११ दिनले पछाडि छन् भने रोनाल्ड रेगनभन्दा ६५ दिन पछाडि छन्। रेगन ९३ वर्ष १ सय २० दिनसम्म बाँचेर लामो आयु बाँच्ने राष्ट्रपतिको सूचीमा तेस्रो स्थानमा परेका छन्।

हालैका महिनामा बुसले कयौंपटक नाजुक स्वास्थ्य स्थितिको सामना गरिसकेका छन्। यसमा उनी २ पटक क्रोनिक निमोनिया र एक पटक ब्रोकाइटिसबाट ग्रसित पनि भएका छन्।

यसै वर्ष सामुद्रिक आँधी हार्वीले विध्वंश मच्चाएको टेक्सासमा पीडितहरुको सहायतार्थ आयोजित एक आँधीपीडित कन्सर्टमा बुस ४ अन्य जीवित राष्ट्रपतिसँग कार्यक्रममा उपस्थिति भएका थिए।
पछि अक्टोबरमा केही महिलाले फोटो खिच्ने क्रममा आफूहरुमाथि बुसले गलत नियतले छुने गरेको आरोप लगाएपछि उनले त्यसका लागि माफी मागेका थिए।

एक प्रवक्तामार्फत् जारी गरेको विज्ञप्तीमा राष्ट्रपतिले आफूले असल मनसायबाटै महिलाको नितम्बमा थपथपाएको स्वीकार गरेका थिए। आफूबाट भएको कुनै पनि गलत व्यवहारका लागि राष्ट्रपति बुसले अत्यन्तै इमान्दारितापूर्वक क्षमायाचना गरेको बुसका प्रवक्ताले बताएका थिए।

रेगनको दुई कार्यकालमा उपराष्ट्रपति रहेका बुस सन् १९८९ देशको उच्च ओहदामा निर्वाचित भएका थिए। उनी सन् १९९३को राष्ट्रपतीय चुनावमा बिल क्लिन्टनसँग पराजित भएका थिए।

आफ्नो कार्यकाल सन् २००१मा बुसले कुबेत अतिक्रमण विरुद्ध इराकी शासक सद्दाम हुसेनसँग युद्ध लडेका थिए। राष्ट्र संघको नेतृत्वमा भएको उक्त युद्धमा अमेरिकी नेतृत्वको सेनाले कुबेतलाई इराकी अधिनबाट मुक्त गराएको थियो। सोही युद्धको शृंखलाका रूपमा उनका छोरा जर्ज डब्ल्युबुसले सन् २००३ मा सद्दाम हुसेनको इराकमा अर्को सैन्य आक्रमण गरी उनलाई सत्ताच्यूत पारेका थिए। सत्ताच्यूत भएपछि लुकेर बसेका सद्दामलाई पक्राउ गरी अदालतको कठघरामा उभ्याइएको थियो। अदालतले उनलाई युद्ध अपराधीमा दोषी ठहर्याउँदै फाँसी दिएको थियो।

प्रतिक्रिया दिनुहोस्