“सांस्कृतिक संरक्षण, हस्तकला र व्यवस्थित शहर”



ललितपुर क्षेत्र नं २ का प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले ललितपुरका ऐतिहासिक सम्पदा, कला, मूर्त–अमूर्त संस्कृतिको संरक्षणसहित हस्तकला पर्यटन विकास, कृषिको व्यवसायिकरणलाई आर्थिक समृद्धि र विकासको माध्यमका रूपमा अघि सारेका छन्। ललितपुरको भित्री कोरबस्ती र महालक्ष्मी नगरपालिकाको पूरै क्षेत्र रहेको यस निर्वाचन क्षेत्रमा चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारहरुको मुख्य एजेन्डा र प्रतिबद्धता प्रस्तुत गरिएको छ। प्रस्तुतिः सुनील महर्जन

‘भूकम्पपीडितको पुनस्र्थापना’
अहिले नेकपा (एमाले) र माओवादी केन्द्रले ज्यादै अस्वस्थ गठबन्धन गरेको छ। त्यो गठबन्धन पक्षमा मुलुक जानु भनेको मुलुकमा अधिनायकवादी शासन व्यवस्था आउनु हो। त्यसैले लोकतन्त्रको विकास र लोकतन्त्रको रक्षाका लागि मेरो उम्मेदवारी हो।

कांग्रेसकै नेतृत्वमा संविधान बन्यो र कांग्रेसकै नेतृत्वमा मात्र संविधान कार्यान्वयन सम्भव छ। यस अर्थमा मेरो उम्मेदवारी संविधान कार्यान्वयन, लोकतन्त्रको रक्षाका लागि हो। वाम गठबन्धनले आदिवासी जनजाति, मधेसको मुद्दालाई संकीर्ण अर्थमा लिँदै आएका छन्। राष्ट्रवादका नाउँमा सामाजिक सद्भाव बिग्रिने अभिव्यक्ति दिँदै हिँडेकाले कांग्रेसले ‘सबै अटाउने देश र सबै जोड्ने कांग्रेस’ भन्ने नारा दिएको छ। कांग्रेस जिम्मेवार र सबै अटाउने राष्ट्रियताको पक्षमा छ। संविधान संशोधनको सवालमा वाम गठबन्धन उदार भएन। सबैलाई चित्त बुझाएर संविधानको कार्यान्वयन गर्न कांग्रेसले जित्नुपर्दछ। त्यससँगै आर्थिक समृद्धि र यहाँकै स्थानमा रोजगारी सृजना गर्नेछु।

यो क्षेत्र कला र सम्पदाले भरिपूर्ण छ। पर्यटनको विकास गरेर भौतिक पूर्वाधार, उद्योग, व्यवसाय, रोजगारी सृजना गरी आर्थिक समृद्धि ल्याउनेछु। हस्तकला, काष्ठकला, मूर्तिकलाको अझै विकास गरेर कला र संस्कृतिलाई विकासको आधार बनाउने योजना ल्याएको छु। यस क्षेत्रमा रहेका नदीहरू ढलरहित गराउने र सडक कालोपत्र गराउने योजना आफू लाग्नेछु।

२०७० सालमा संविधान बनाउने मुख्य लक्ष्य पूरा गर्ने क्रममा पनि यस क्षेत्रमा विकास निर्माणका थुप्रै कामहरू अघि बढाएको थिएँ। यस क्षेत्रको मुख्य समस्या भनेको हिउँदमा खानेपानीको हाहाकार नै हो। त्यसका लागि योजनाहरू अघि सारेको थिएँ। एकातिर स्रोतमा पानी खेर गइरहेको छ भने अर्कातिर यहाँका बासिन्दाले पानी खान पाएका छैनन्। यसको व्यवस्थापन गर्न लाग्नेछु।

अहिलेसम्म भए गरेका विकास निर्माण कार्यलाई पूरा गर्न र विकास निर्माणका कार्यलाई थप तीव्रता दिन फेरि मेरो उम्मेदवारी परेको हो। यस क्षेत्रमा आम जनताले भोग्नुपरेका समस्या, जनताको पीरमर्काप्रति म संवेदनशील छु। यहाँका समस्याहरू बुझेको छु। त्यसैले संविधान निर्माणको मुख्य लक्ष्यका अतिरिक्त यस क्षेत्रका जनताको पीरमर्का सम्बोधन गर्न म अघि सरेको सबैलाई सम्झना नै होला।

संविधानसभा–२ मा जनताले गर्न पठाएको काम पूरा गरेको छु। त्यसैले मलाई फेरि मतदाताको मत मिल्नेछ। ग्वार्को, इमाडोल, लुभू लामाटार हुँदै काभ्रे नमोबुद्ध जोड्ने सडक, इमाडोल, टीकाथली, चांगाथली र भक्तपुर जोड्ने सडकका लागि विगतबाट नै लागिपरेको अहिले त्यसलाई पूर्णता दिने मुख्य एजेन्डा रहेको छ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत त्यसको स्तरोन्नतिका लागि काम गरें। निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट महिलावर्गको उद्यमशील र सशक्तीकरण, क्षमता विकासका कार्यक्रमहरू अत्यधिक सञ्चालन गरेको थिएँ। यी कार्य नै मेरो निर्वाचन जित्ने आधार हुन्।

वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि यहाँ मानिसहरू घरबारविहीन हुन पुगे। राजधानीभित्रकै जिल्ला भए पनि यहाँका जनताले राहत पाएनन्। अहिले पनि घर निर्माणको अनुदान नपाएका पीडितहरू हजारौं संख्यामा छन्। विश्वसम्पदामा सूचीकृत सम्पदाहरू लडिरहेका छन्। त्यसको पुनर्निर्माण गर्ने केही सुरसार छैन। भूकम्पले क्षतिग्रस्त भएका व्यक्तिगत घर र सम्पदाको संरक्षणमा लाग्नेछु।

यहाँका मतदाताहरूले घरदैलोका क्रममा ललितपुरलाई सांस्कृतिक र पर्यटकीय नगर र जिल्लाका रूपमा घोषणा गर्नुपर्ने विषयलाई जोड दिएका छन्। यहाँका जनता आफ्नो कला, संस्कृति हराउँदै गएकामा निकै चिन्तित देखिन्छन्। यहाँको कला, मूर्त–अर्मूत संस्कृति, कला संरक्षण, युवावर्गको सशक्तीकरणलाई मैले प्राथमिकतामा राख्दै आएको छु। अब पनि राख्नेछु। मेरो कार्य, सोचलाई आम मतदाताले सकारात्मक मूल्यांकन गर्नेमा म विश्वस्त छु।

चन्द्र महर्जन
प्रतिनिधिसभा, नेपाली कांग्रेस

‘सांसद हुँदा गरेको कार्य नै मेरो जित्ने आधार’
राष्ट्र र राष्ट्रिय स्वाधीनताका लागि समर्पित भएर ललितपुरको चौतर्फी विकासका लागि क्रियाशील हुन मैले उम्मेदवारी दिएको हुँ। यहाँ रहेका पुरातात्विक महत्त्वका सम्पदाको संरक्षण, संवद्र्धन गर्ने कार्यलाई प्राथमिकतामा राख्नेछु।

देशमा व्याप्त भ्रष्टाचार अन्यौल, र बेथितिविरुद्ध आवाज घन्काउन वाम गठबन्धन भएको हो। स्थिर र जनताका हितमा काम गर्ने सरकार बनाउन पनि यस पटक वाम गठबन्धनलाई जिताउन आवश्यक रहेको छ।
ललितपुरका सडकमा व्याप्त धुलो र धुवाँ हटाउन चक्रपथको कार्य चाँडै पूरा गर्नेछु। भित्री नगरमा ढल व्यवस्थापन गरी कतिपय बाटोहरू पुरातात्त्विक ढंगले पुनर्निर्माण गर्न ढुंगा छाप्न लगाउनेछु। ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकाका सडकलाई छिटो व्यवस्थित गर्ने, दायाँ–बायाँ फुटपाथ र हरियाली बनाउन मेरो विशेष जोड हुनेछ। ती दुवै नगरपालिकालाई सुविधायुक्त नगरपालिकाका रूपमा विकास गर्न योजनाबद्ध तवरले काम गर्नेछु। ललितपुरका ऐतिहासिक महत्त्वका सम्पदा, मठमन्दिर र बौद्धविहार संरक्षण र जीर्ण अवस्थामा पुगेकाहरूको पुनर्निर्माण, छिटो र मापदण्डअनुसार गर्न लगाउन मैले उम्मेदवारी दिएको हुँ।

सुरक्षित नगरबस्ती विकास अवधारणाअनुरुप वैज्ञानिक शहरीकरण, हरियाली उद्यान, व्यवस्थित पार्किङस्थल, ट्राफिक जाममुक्त सडक र स्मार्ट सिटी आजको आवश्यकता हो। मिच्चिएका, जबरजस्ती हडपिएका जग्गा फिर्ता गराउनेछु।

ललितपुर जिल्लाको गहना भनेको नै भाषा, कला, साहित्य, संस्कृति सम्पदा नै हो। यिनै भाषा, कला, साहित्य सांस्कृतिक सम्पदा र संगीतलाई पर्यटकीय उद्योगसँग जोडेर ललितपुरको विकासका थप सम्भावना खोज्ने मेरो मुख्य एजेन्डा हो। ललितपुरलाई कला संग्रहालयका रूपमा विकास गरी पर्यटन प्रवद्र्धन गर्ने कार्यलाई प्राथमिकतामा राख्नेछु। सांस्कृतिक र पर्यटकीय नगरका रूपमा विकास गर्नेछु। २०५६ सालको प्रतिनिधिसभामा निर्वाचित हुँदा मैले गरेका कामका तस्वीर पनि आम मतदातासामु ताजा नै छन्। मैले सामाजिक, धार्मिक क्षेत्रमा योगदान पुर्याएको छु।

कृष्णलाल महर्जन
प्रतिनिधिसभा
नेकपा (एमाले)

‘संस्कृति संरक्षण गर्ने’
लोकतन्त्रका लागि नेपालीहरूले लामो संघर्ष गरिसकेका छन्। जनताको लामो संघर्ष र बलिदानीपछि संविधानसभाबाट संविधान बनेको छ। संविधान कार्यान्वयन गर्दै जनताका विकास र समृद्धिका आकांक्षा सम्बोधन गर्नुपर्ने जिम्मेवारीका लागि मेरो उम्मेदवारी हो। म २०३५ सालदेखि सामाजिक क्षेत्रमा लागिरहेको छु। नेपाल हार्ट फाउन्डेसन, नेपाल परम्परागत बौद्ध धर्म संघ, ललितपुर विकासका लागि समाजमा क्रियाशील छु। सामाजिक क्षेत्रमा लाग्दालाग्दै राजनीतिलाई बदल्न मैले उम्मेदवारी दिएको हुँ। ललितपुरको समग्र विकास, रोजगारीको सिर्जना, सामाजिक सशक्तीकरणका लागि काम गर्नेछु। यहाँका सांस्कृतिक, सम्पदाको संरक्षण, संर्वद्धनमा क्रियाशील भएर लाग्नेछु। भूकम्पपछि यहाँका सम्पदा लडिरहेका छन्। धैरै भूकम्पपीडितले अझै राहत पाएका छैनन्। सरकारबाट प्रदान गरिने राहत, अनुदान प्रदान गर्न मेरो क्रियाशीलता रहने छ। संविधानमा स्थानीय तहसँग जोडिएका धेरै विषय प्रदेशसँग जोडिएको छ। प्रदेश र स्थानीय तहलाई बलियो बनाएर संघीयता कार्यान्वयन र जनताको पीरमर्का समाधान गर्ने मेरो प्रतिबद्धता रहेको छ। यसका साथै यहाँका ऐतिहासिक सम्पदा, मठमन्दिर, संस्कृतिको संरक्षण, सामाजिक विकास, समावेशी विकास पनि राजनीतिलाई नैतिक र मर्यादित बनाउन पनि वैकल्पिक राजनीतिक शक्तिका रूपमा जन्मिएको यस पार्टीले गर्नेछ। शहरी क्षेत्रमा बसोबास गर्नेलाई राज्यले संरक्षण गर्दछ भनेर यहाँका जनताले महसुस गर्न सकिरहेका छैनन्। राज्यको उपस्थिति बोध हुने गरी यहाँको जनताको समग्र विकासमा ध्यान दिनेछु। महिला बालबालिका, ज्येष्ठ नागरिक अपांगता भएका व्यक्ति, विपन्न र पिछडिएका समूहलाई अवसर र सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउनेछु। युवाको समग्र व्यक्तित्व विकास, युवा उद्यमशीलता, युवा रोजगारीका कार्यलाई प्राथमिकतामा राखेको छु। मैले समाजसेवा, सामाजिक, धार्मिक क्षेत्रमा गर्दै आएको योगदानलाई सम्झिएर मेरो कार्यको मूल्यांकन गर्नेमा पनि म विश्वस्त छु।

ज्ञानबहादुर शाक्य
प्रदेशसभा २ ‘ख’
विवेकशील साझा पार्टी

‘समतामूलक विकासका लागि’
सानैदेखि नेपाल भाषाको साहित्य र सामाजिक क्षेत्रमा म क्रियाशील थिएँ। मेरो जीवनको लामो समय शिक्षण पेसामा बित्यो। २०३८ सालको शिक्षक आन्दोलनमा म पनि सक्रिय भएर लागेको थिएँ। यसै क्रममा मेरो राजनीतिक चेतना बढ्दै गयो।

राजा ज्ञानेन्द्रले शासन आफ्नो हातमा लिएको विरुद्धमा भएको नागरिक आन्दोलनमा मेरो सामाजिक, साहित्यिक, भाषा आन्दोलन र शैक्षिक पृष्ठभूमिले हुर्काएको चेतना निकै तिख्खर ढंगले अभिव्यक्त भएको थियो। राजाको शासन, लोकतन्त्र र राज्यको पुनःसंरचनाका पक्षमा ठाउँ–ठाउँमा भएका सभामा म कडा रूपमा प्रस्तुत भएको कुरा घरदैलोका क्रममा सबैले स्मरण गरे। त्यति बेला राजनीतिक दल र तिनका नेताप्रति आम मानिसमा एक प्रकारले निराशा छाएको थियो। त्यही भएर पनि नागरिक आन्दोलनलाई आम जनताले निकै आशाका साथ हेरेका थिए।

नागरिक आन्दोलनको तयारी र हरेक सभामा म डा. देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी, डा. सुन्दरमणि दीक्षित, श्याम श्रेष्ठ, डा. सरोज धिताल, डा. महेश मास्केसँगै हुन्थें। उहाँहरूसँगै नागरिक आन्दोलनमा लागेर मुलुकमा दिगो शान्ति, सारभूत संघीयता, धर्मनिरपेक्षताका लागि आवाज उठाएँ।

लोकतन्त्र, गणतन्त्र स्थापनापछि मुलुकका प्रमुख राजनीतिक दलले राज्य पुनःसंरचनाको मुद्दा छोड्दै गएपछि म संघीय समाजवादी फोरममा प्रवेश गरेको हुँ। अहिलेको संविधान स्वीकार्यताको दायरा बढाउन यसको संशोधन हुनु आवश्यक छ भन्ने म र मेरो पार्टीको मुख्य एजेन्डा रहेको छ। संविधानले आदिवासी जनजाति, मधेसी र दलितको राज्यसत्तामा पहुँच, पहिचान र प्रतिनिधित्वलाई उदार ढंगले सम्बोधन गरेको छैन। राज्यसत्तामा सबैको समानुपातिक हिस्सेदारी नभएसम्म विकास र संमृद्धिका नारा फगत गफमा मात्र सीमित हुनेमा म प्रस्ट छु ।

पर्यटकीय दृष्टिले महत्त्वपूर्ण रहेको लाकुरी भन्ज्याङमा धार्मिक, रोमाञ्चकारी पर्यटन उद्योगको विकास गर्नेछु । ललितपुरको लुभू र सिद्धिपुरमा रहेका टेक्सटायललगायत कपडा उद्योग प्रवद्र्धन गर्न उचित वातावरण मिलाउनेछु। त्यसलाई हल गर्न प्रतिबद्ध भएर लाग्नेछु।

अहिले यहाँका बस्ती कंक्रिटको जंगलमा परिणत भइसकेका छन्। अनियन्त्रित निर्माण कार्य र अन्धाधुन्ध र अव्यवस्थित शहरीकरण कृषियोग्य र उर्वराभूमि जमिन नष्ट हुँदै गएको छ। कृषिजन्य उद्योग प्रवद्र्धनका लागि परम्परागत ज्यापू खेती प्रणालीका माध्यमबाट तरकारी खेतीलाई बढावा दिनेछु।त्यसै गरी महानगरपालिकाको हकमा यसलाई सांस्कृतिक र पर्यटकीय र हस्तकलाको नगरीका रूपमा विकास गर्नेछु।

ललितपुरका पोखरी, ढुंगेधारामा बग्ने पानीका स्रोतका रूपमा रहेको र सिँचाईका लागिसमेत प्रयोग हुँदै आएको राजकुलोको पुनर्निर्माण गर्ने, यी एजेन्डाको प्रमाणिकता र सम्भाव्यताका बारेमा मतदातालाई सोच्न र विचार गर्न म आग्रह गर्दछु।

मेरो पृष्ठभूमि, मैले आजसम्म विविध क्षेत्रमा पुर्याएका योगदान, मेरा विचार र एजेन्डाको आम मतदाताले सहीरूपमा मूल्यांकन गर्नेमा म निकै आशावादी छु।

शाक्य सुरेन
प्रतिनिधिसभा
संघीय समाजवादी फोरम नेपाल

‘सांस्कृतिक नगरी बनाउने’
वाम गठबन्धले मुलुकलाई अधिनायकवादी व्यवस्थामा पुर्याउने छ। जनताका आधारभूत अधिकार, लोकतान्त्रिक शासन व्यवस्थाका लागि नेपाली कांग्रेसले चुनाव जित्नु आवश्यक रहेको छ। त्यसैले लोकतन्त्रको रक्षाको लागि मेरो उम्मेदवारी हो।

मेरो क्षेत्रमा पाटनको भित्री शहरको मध्य भाग रहेको छ। यस क्षेत्रको मुख्य चाहना नेपाल भाषा, संस्कृति, सभ्यताको संरक्षण, हस्तकला, काष्ठकला, हस्तकलाको विकास र त्यसको निर्यातका लागि नयाँ–नयाँ बजार खोज्ने हो। अर्को समावेशी विकास हो। यसलाई नै मेरो मुख्य एजन्डाका रूपमा अघि सारेको छु।

यस क्षेत्रमा खानेपानीको हाहाकार, सडकमा सधै धुलो र फोहोर व्यवस्थापनको समस्या रहेको छ। त्यसको समाधानका लागि उचित पहल गर्नेछु। सरसफाई र वातावरणलाई स्वच्छ बनाउने मेरो मुख्य एजेन्डा रहेको छ।

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएका घरको पुनर्निर्माणका लागि राज्यले दिने गरेको अनुदान सबैले पाएका छैनन्। क्षतिग्रस्त सार्वजनिक तथा ऐतिहासिक सम्पदाको यथासक्य चाँडो पुनर्निर्माणका लागि पहल गर्नेछु। यस क्षेत्रमा भएका अमूर्त संस्कृतिको संरक्षण गर्नुपर्ने आवश्यक रहेको छ। ललितपुर नगरीलाई सांस्कृतिक र पर्यटकीय नगरी बनाउन प्रदेशसभाबाट भूमिका निर्वाह गर्नेछु। अहिले धेरै सांस्कृतिक सम्पदा र संस्कृति अतिक्रमणमा परेका छन्। कतिपय लोप भइसकेका छन्, त्यसको संरक्षणका लागि विशेष पहल गर्नेछु। कांग्रेसकै नेतृत्वमा संविधान बनेको छ। कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियानका लागि र ललितपुरको सम्भावनालाई मूर्तरूप दिन मैले पहल गर्नेछु। मेैले सामाजिक क्षेत्रमा पुर्याएका योगदानलाई स्मरण गरी यथोचित मूल्यांकन गर्नेमा म निकै विश्वस्त छु।

प्रेमकृष्ण महर्जन
प्रदेशसभा २ ‘ख’
नेपाली कांग्रेस

‘वैकल्पिक शक्ति आवश्यक’
मेरो उम्मेदवारी समाजको सकारात्मक परिर्वतनका लागि हो। राजनीतिलाई समयसापेक्षरूपमा आर्थिक र सामाजिक विकासका लागि डोहोर्याउन मैले उम्मेदवारी दिएको हुँ। अहिले राजनीतिमा सक्रिय नभए यस क्षेत्रको भविष्य र समग्र विकास पाँच वर्षपछाडि धकेलिनेछ। पुराना राजनीतिक दलले देश र जनताका लागि केही काम नगरेकोमा जनतामा व्यापक निराशा छाएको छ। हरेक पाँच वर्षमा चुनाव आउने चुनावपछि नेतालाई जनताको मतलब नै नहुने परिपाटीलाई बदल्न म राजनीतिमा आएको हुँ। युवापुस्ता र जनताले खोजेका परिर्वतन विवेकशील साझा पार्टीले पूरा गर्न सक्छ।

मेरो मुख्य एजन्डा भनेको राजनीतिलाई देश र जनताका हितको माध्यम बनाउने हो। यहाँ रोजगारी सृजना गर्ने कार्यलाई प्राथमिकता दिनेछु। यहाँका ऐतिहासिक सम्पदा, संस्कृतिको संरक्षण र त्यसलाई आर्थिक विकाससँग जोडेर अघि बढाउनेछु। शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउनु आवश्यक छ। हरेक सामान किन्दा उपभोक्ता ठगिने अवस्था छ। रोजगारीका अवसर नभए युवापुस्ता धमाधम पलायन भइरहेका छन्। यहाँको राजनीति जनजीवनले भोग्नुपरिरहेका समस्याप्रति पूर्णतः उदासीन छ। जनताको जीवन दिनहुँ कष्टकर र अस्तव्यस्त बन्दै गएको छ। यसको समाधान गर्न सक्दो कोसिस गर्नेछु।

यहाँका मुख्य समस्या भनेको खानेपानी, बाटो स्तरोन्नति नहुनु हो। महँगी र भ्रष्टाचारले जनता आक्रान्त छन्। यसले राजनीतिमा युवापुस्तालाई आकर्षित गरेको छ। विभिन्न पेसा व्यवसायमा संलग्नलाई देश बनाउन एकत्रित गरेको छ। आ–आफ्नो पेसा व्यवसायमा संलग्न मानिसले मात्र देश बनाउन सक्छ भन्ने यस पार्टीको मूल मान्यता रहेको छ। यस पार्टीले पारदर्शीता, उत्कृष्टता, पद्धति, समभावजस्ता मानवीय मूल्यलाई पार्टीको अभिन्न अंग बनाएको छ। आजको समयमा यस पार्टीले मात्र मुलुकको हितलाई अघि बढाउन सक्छ। अहिले भइरहेका अन्धाधुन्ध निर्माण र शहरको कुरुप हुने गरी गरिएको विकासलाई नियन्त्रण गरेर वातावरण अनुकूल र मानवीय बनाउनुपर्छ। महालक्ष्मी नगरपालिकाको काठ क्षेत्रमा यसरी विकास गर्ने सम्भावना रहेको छ। यसले नागरिकमा एउटा नयाँ आशा, जोस र जाँगर प्रदान गरेको छ। समृद्धि, विकास अब पुराना पार्टीबाट सम्भव छैन भन्ने चेत सबैमा आएको छ। यही नै हाम्रो विजयको संकेत हो।

अमीरराज महर्जन
प्रतिनिधिसभा
विवेकशील साझा पार्टी

प्रतिक्रिया दिनुहोस्