स्वर्ण जितेका यानकुमारी फर्किइन्



काठमाडौं, (नेस)
क्यानडामा भएको टोरन्टो ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक विजेता यानकुमारी चौलागाईंसहितको तेक्वान्दो टोली स्वदेश फर्किएको छ।

यानसहित ज्ञानी चुनरा र रेजिना कार्की बुधबार स्वदेश फर्किका हुन्। उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य हेमन्त डाँगी, पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुँवर र नेपाल आर्मीका तेक्वान्दो खेलाडीलगायतले स्वागत गरे। क्यानडाको टोरन्टोमा भएको प्रतियोगिताको महिला ५७ केजीमुनि तौलसमूहको फाइनलमा यानले क्यानडाकी खेलाडी लौजन लौरिनलाई हराउँदै स्वर्ण जितेकी थिइन्। अन्य २ राष्ट्रिय खेलाडी ज्ञानी चुनरा र रेजिना कार्की भने पदकविहीन बने। महिला ४९ केजीमुनि रेजिना र ६२ केजीमुनि ज्ञानीले प्रतिस्पार्धा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्