जित नदेखेको एक वर्ष



कविरस शर्मा, काठमाडौं

नेपाली फुटबलको इतिहासलाई हेर्ने हो भने सफलतालाई अपवादका रुपमा मान्न सकिन्छ। दक्षिण एसियाली राष्ट्रमा १९⁄२० को स्तर भए पनि दक्षिण एसियाबाहिर नेपाली फुटबलले फितलो प्रदर्शन गरेको छ। यसमा कुनै दुईमत नहोला, नेपालमा अन्य खेलभन्दा फुटबल चर्चित छ। तुलनात्मक रूपमा अन्य खेलमा भन्दा नेपाली फुटबलमा लगानी पनि अधिक नै छ, तर नतिजा भने धेरैजसो निराशाजनक नै आउने गरेको छ।

लामो इतिहास बोकेको नेपाली फुटबलले धेरै उतारचढावको सामना गरिसकेको छ। एक वर्षअघिको मात्र कुरा गर्ने हो भने नेपाली फुटबलको प्रदर्शनलाई सन्तोषजनक नै मान्न सकिन्थ्यो। उत्कृष्ट प्रदर्शनका बाबजुद पनि सधैं हार बेहोर्ने नियतिलाई मेटाउँदै लामो अन्तरालपछि बंगबन्धु गोल्ड, १२औं दक्षिण एसियाली खेलकुद र एएफसी सोलिडारिटी कपमा पाएको सफलताले नेपाली फुटबलको स्तर बढेको महसुस गराएको थियो।

गत नोभेम्बरमा मलेसियामा आयोजना भएको एएफसी सोलिडारिटी कपको उपाधि जितेको पनि एक वर्ष भएको छ। फाइनलमा मकाउलाई पराजित गर्दै नेपालले उपाधि जितेको थियो। एसियाली फुटबल महासंघ (एएफसी)ले आयोजना गरेको कुनै पनि प्रतियोगितामा पहिलोपटक उपाधि जितेर नेपाली फुटबल जगत्ले नयाँ आयाम कोरेको थियो। उक्त नतिजापछि भविष्यमा नेपाली फुटबलले राम्रो लय समात्ने अनुमान गरिएको थियो। तर अहिले त्यसो भएको छैन। बितेको एक वर्षलाई मूल्यांकन गर्दा फेरि पनि निराशाजनक नतिजाले नै निरन्तरता पाउन थालेको छ।

सोलिडारिटी कप जितेपछि नेपालले एएफसी एसिया कप २०१९ अन्तर्गत छनोट खेल्ने मौका पाएको थियो। सोलिडारिटी कप प्रतियोगितासम्म ठिकठाक प्रदर्शन गरेको नेपाली राष्ट्रिय टोलीले त्यसपश्चात् कुल ६ वटा अन्तर्राष्ट्रिय म्याचसहित जापानमा मैत्रीपूर्ण अभ्यास खेलहरू खेलेको थियो। जसअन्तर्गत ६ खेल एसिया कप छनोटका लागि तथा एउटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सामेल छन्। तर ती म्याचमध्ये नेपालले चार खेलमा हार र दुईमा बराबरीको नतिजा आत्मसात गर्यो। यति मात्र होइन, नेपालले ६ खेलमा ११ गोल बेहोर्दा दुई गोल मात्र विपक्षीविरुद्ध फर्काएको छ।

सोलिडारिटी कपको उपाधि जितेपश्चात् नेपालले गत मार्चमा एसिया कप छनोट चरणअन्तर्गत समूह ‘एफ’को खेल खेलेको थियो। जसअन्तर्गत फिलिपिन्ससँग उसैको घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा नेपाली टोली ४–१ ले पराजित भएको थियो। त्यसको तीन महिनापछि नेपालले भारतसँग मैत्रीपूर्ण म्याच खेलेको थियो। जुनमा भएको उक्त खेल मुम्बईमा खेलिएको थियो। जहाँ नेपाल घरेलु टोली भारतसँग २–० ले पराजित भएको थियो।

सोही महिना नै एसिया कप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा यमनको सामना गरेको थियो। जहाँ घरेलु मैदानको फाइदा उठाउँदै वरीयतामा आफूभन्दा माथि रहेको यमनसँग गोलरहित बराबरी खेलेर नेपालले समूहमा एक अंक जोड्न सफल भएको थियो।

त्यसपछि नेपालले ताजिकिस्तानविरुद्ध दुई म्याच खेलेको थियो। ती दुवै खेलमा पराजयको सामना गर्नुपरेपछि नेपाल एसिया कप छनोटचरणबाटै बाहिरियो। ताजिकिस्तानसँग सेप्टेम्बरमा सातदोबाटोस्थित घरेलु मैदान एन्फा कम्प्लेक्समा भएको खेलमा नेपाल २–१ ले पराजित भएको थियो। त्यसको एक महिनापछि अवे म्याच खेल्न ताजकिस्तान पुगेको नेपालले झनै खराब प्रदर्शन गर्दै ३–० गोलअन्तरको हार बेहोरेको थियो।

उक्त नतिजापछि एसियाकप छनोट चरणबाट बाहिरिसकेको नेपालले केही साताअघि वरीयतामा आफूभन्दा माथिको फिलिपिन्सविरुद्ध आफ्नै घरेलु मैदानमा खेलेको थियो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उक्त खेलमा फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको थियो।

घरेलु मैदानमा निक्कै दबाबको सामना गरेको नेपाली टिमले बराबरीमा टुंग्याएर समूह एफमा दुई अंक जोडे पनि खेलमा गरेको प्रदर्शनलाई भने सन्तोषजनक मान्न सकिन्न। योसँगै सोलिडारिटी कपपछि नेपाली फुटबल टिमले एक वर्षयता जितको स्वाद चाख्न पाएको छैन। यसअवधिमा नेपालले ६ खेलमा ११ गोल बेहोरेको छ। विपक्षीविरुद्ध नेपालका लागि विशाल राई र विमल घर्तीमगरले समान एक–एक मात्र गोल फर्काएका छन्।

समग्रमा बितेको एक वर्षलाई नियाल्दा नेपाली फुटबलको स्तर खस्कनुमा घरेलु लिग प्रतियोगिता रोकिनुलाई नै प्रमुख कारण मान्न सकिन्छ। घरेलु लिगले निरन्तरता नपाउने हो भने हाल नेपाली फुटबलमा उदीयमान र प्रतिभाशाली खेलाडी पनि पलायन हुने सम्भावना अधिक नै छ। जसले दीर्घकालीन रुपमा नै नेपाली फुटबलको विकासमा नकारात्मक प्रभाव पार्नेछ।

प्रतिक्रिया दिनुहोस्