निर्लज्ज पर्यटक हिरासतमा



बैंकक, (एजेन्सी)
थाइल्यान्डको एक मन्दिरमा आफ्नो नितम्ब देखाएर खिचेको तस्वीर अनलाइनमा पोस्ट गर्ने दुई अमेरिकी नागरिकलाई थाई प्रहरीले हिरासतमा लिएको छ।

ती पर्यटकले बैंककको चर्चित वाट अरुण मन्दिरमा खिचेको उक्त तस्वीर ट्विर र इन्स्टाग्राममा पोस्ट गरेका थिए। दुवै ३८ वर्षका जोसेफ र ट्राविस डासिल्वालाई जरिवाना तिराई निष्कासन गरिने अध्यागमन विभागका अधिकारीहरूले जानकारी दिए।

बौद्ध धर्मलाई असम्मान व्यक्त गर्नु तथा त्यसविरुद्ध आक्रामक व्यवहारका लागि थाइल्यान्डमा कडा कानुन रहेको छ। ती दुई पर्यटकलाई बैंककको डन म्यआंग विमानस्थलमा देश छोड्न लाग्दा मंगलबार राति हिरासतमा लिइएको थियो।

सामाजिक सञ्जालमा उक्त विवादास्पद पोस्ट गरेको भेटिएपछि अधिकारीहरूले सूचीमा उनीहरूको नाम निगरानी गरेको थाई अध्यागमन प्रहरी कर्नेल चोयन्ग्रोन रिमपडीले बताए।

प्रतिक्रिया दिनुहोस्