बसमुनि लुकेर दुई बालकद्वारा ८० किमि यात्रा



बेइजिङ, (एजेन्सी)
एउटा अनलाइनमा २ जना चिनियाँ बालकले एउटा बसको मुनि बसेर ८० किमि दूरी यात्रा गरेको मार्मिक तस्वीर सार्वजनिक भएपछि राष्ट्रको असहाय बालबालिकाप्रतिको उत्तरदायीलाई लिएर व्यापक जनगुनासो बढ्न थालेको छ।

सरकारी सञ्चार माध्यमले ती बालकको परिचय गोप्य राखेको छ। चीनको दक्षिणी गुआङसी प्रान्तको एउटा गरिब गाउँका ती बालकले छिमेकी प्रान्त गुआङडोङमा काम गर्ने आमाबुबा भेट्नका लागि त्यस्तो जोखिमपूर्ण यात्रा गरेको बताइएको छ।
२३ नोभेम्बरमा तिनीहरू हराइरहेको सूचना तिनका शिक्षकहरूले प्रहरीलाई दिएका थिए। सोही दिन एउटा बस स्टेसनमा बसको मुनि लुकेर यात्रा गरिरहेको अवस्थामा तिनीहरूलाई भेटाइएको थियो।

तस्वीर र भिडियोमा तिनीहरू शरीरभरि माटो टाँसिएको र बसमुनि निकै अप्ठ्यारो किसिमले बसिरहेको देखिन्छ। करिब ८० किलोमिटर भिरालो बाटो तय गरिसकेका ती अन्दाजी ८–९ वर्ष उमेरका बालकलाई कुनै चोटपटक नलागेको देखेर सुरक्षाकर्मीहरू छक्क परेका छन्।

सरकारी यातायात सेवासँग आवद्ध १ जना कर्मचारीले निकै दुब्लो पातलो भएकाले पनि तिनीहरू बसमुनिको साँघुरो स्थानमा खुम्चिएर बस्न सकेको बताएका छन्। सोधपुछका क्रममा शुरूमा चुइँक्क नबालेका तिनीहरूले पछि आमाबुबा हेर्न साह्रै लालायित भएकाले त्यसरी यात्रा गरेको बताएको साउदर्न मर्निङ पोस्टले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्