निर्वाचनपछि पनि मुलुकले निकास पाउँदैन



प्रधानमन्त्री, मन्त्री, सांसद र राजनीतिक दलका नेताहरु सत्तालिप्साको स्वार्थ र सेवा–सुविधाहरु लिनमा मात्र केन्द्रित रहेका छन्। मुलुकको स्वाधीनता धरापमा परोस् वा मुलुकमा जेसुकै होस्, कुनै चासो छैन। आफ्नो फाइदा मात्र हेर्न जानेका र अवसरवादी चरित्र भएका कारण गत १० गते भएको र अब २१ गते हुने निर्वाचनपश्चात् पनि प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरुबाट मुलुकले निकास पाउँदैन। राजधानी काठमाडौंलाई आजसम्म व्यवस्थित र व्यवस्थापन गर्न नसक्नेहरुले प्रदेश–राजधानीको व्यवस्थापन कसरी गर्न सक्छन् ?

यता नेपाल बन्द, राजधानी बन्द भनेर अठ्याङ थाप्नेहरु पनि हुन्छन्। उनीहरुलाई शोक न सुर्ता भोक न भकारी, बन्द भन्दिए भइहाल्यो। नेपाल बन्दको मारमा नागरिकहरुले नै दुःख, कष्ट र सास्ती पाउने हो। प्रधानमन्त्री, मन्त्री, सांसद र राजनीतिक दलका नेताहरु गाडी लिएर मज्जाले हुइँकिन्छन्। यिनीहरुलाई नेपाल बन्दको मारले रत्तिभर पनि असर पर्दैन। दोषी र जिम्मेवार भनेका प्रधानमन्त्री, मन्त्री, सांसद र राजनीतिक दलका नेताहरु नै हुन्। तर यसको सजायँ भने आमनागरिकले हुनुपर्ने, किन ?

मुलुकको राष्ट्रिय अखण्डता र स्वाधीनता धरापमा परेको अवस्था छ। मुलुक दिन–प्रतिदिन धराशयी भइरहेको छ। त्यसैले हामी नेपाली नागरिकमा चेतना आउन जरुरी छ। दश बर्से जनयुद्धकालमा १७ हजार नागरिकको नरसंहार गरी आएका पुष्पकमल दाहाल, जनार्दन शर्मा, बाबुराम भट्टराईजस्ताहरुले आफ्नो महल मात्र खडा गरे। मुलुकको संरचनाहरुलाई ध्वस्त पारे। राष्ट्रहित र जनहितका पक्षमा के काम गरे ? हाम्रो देश डुब्न लाग्यो। निर्वाचनपछि पनि मुलुकले निकास पाउनेवाला छैन। त्यसैले हामी नागरिक सचेत र एकजुट हुनै पर्छ।
– राकेशकुमार शर्मा, हेटौंडा उमनपा–२, मकवानपुर

दुर्गम स्थानमा निर्वाचन कार्य कठिन
सडक सञ्जालले नछोएका गाउँका दुर्गम गाउँमा पुग्न निर्वाचन कर्मचारीलाई समस्या भएका समाचार त आइरहन्छन्, आवश्यक बन्दोबस्तीका सामग्रीसहित कर्मचारीलाई निश्चित समयभित्र तोकिएको ठाउँमा पुग्न हम्मेहम्मे भएको पनि साँचो हो। बढ्दै गरेको चिसोका कारण कर्मचारीलाई झन् समस्या भएको हुनसक्छ। कर्मचारीसँगै यहाँ भोट हाल्न जाने स्थानीयलाई समेत समस्या सिर्जना भएको छ।
मतदान केन्द्र घरबाट निकै टाढा भएकोले पनि घन्टौं हिँड्नुपर्ने समस्या छ। चुनावको दिन गाडी नचल्ने भएका कारण पनि ठूलै समस्या झेल्नुपर्ने बाध्यता रहेको छ। समान्य सञ्चारको सुविधासमेत नभएको ठाउँमा साह्रै समस्या सिर्जना हुने गरेको छ। त्यसैले अबका निर्वाचनहरुमा यस विषयमा ध्यान पुर्याउनु अपरिहार्य छ।
– सुरज तम्राकार, जाजरकोट

गरिबले कसरी चुनाव लड्लान् र ?
चुनाव यति महँगो भइसकेको छ कि सामान्य अवस्थाका मान्छेले चुनाव लड्ने कल्पनासमेत गर्न नसक्ने अवस्था सिर्जना भइसकेको छ। मुलुकका ३२ जिल्लाका विभिन्न स्थानहरुमा अहिले चुनाव सम्पन्न भएको छ। केही सामान्य घटनाबाहेक चुनाव शान्त भएको भन्दै निर्वाचन आयोगले जानकारी दिएको छ। खेती थन्क्याउने सिजनसँगै चिसो मौसमका बाबजुद पनि मतदाताहरुले निकै उत्साहका साथ मतदानमा भाग लिएका छन्। चुनाव सम्पन्न भएका जिल्लाका उम्मेदवार र प्रतिस्पर्धीहरु अहिले कानमा तेल हालेझैँ शीतल महसुस गरेका होलान्। एक ठाउँबाट अर्को ठाउँमा जाने खर्च, कार्यकर्ता पालनपोषण खर्च, मत खरिद खर्च, यो खर्च, त्यो खर्च यसपालिको चुनाव यस्तै भड्किलो र खर्चिलो भएको छ। यही पद्धति कायमै रहिरहे गरिबले चुनाव लड्न त के उम्मेदवारी दिनेसमेत हिम्मत नआउने दिनहरुको शुरुवात भैरहेको छ।

अहिले निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका कतिपयसँग सोध्यो भने पनि उनीहरुको साझा चिन्ता छ– चुनाव अत्यन्त महँगो भयो। उनीहरुको यस्तो भनाइ सुन्दा कतिपयलाई लाग्न सक्छ कि उनीहरुले सहयोग मागेका छन्। यद्यपि, उम्मेदवारहरु सत्य बोलिरहेका छन्, साँच्चै चुनाव महँगो हुँदै गएको छ। चुनावमा गर्ने लाखौं खर्च पछि कुनै न कुनै बहानामा असुली गर्नुपर्ने भयो भने त्यसले नेताको आचरण त बिगार्छ नै, जनताको मनोभावनामा समेत कुठाराघात गर्ने भएकोले चुनावका बेलामा गरिने फजुल खर्च रोक्नु उम्मेदवार र मतदाता दुवैको बराबर दायित्व हुन आउँछ। मतदातामा निर्वाचनसम्बन्धी चेतना बढेको अवस्थामा पनि खर्च गरुन् भन्ने सोचले पछि भ्रष्टाचार बढाउने कुरामा हेक्का नराख्दा देशले निकै सास्ती खेप्ने र गरिबीको चपेटामा पर्ने अवस्था छ। यो विषयमा सचेत होऔं।
– सागर खनाल, गढवा–४, दाङ

जनता नतर्साऊ
एक चरणको चुनाव ३२ जिल्लामा सकिएको छ। विभिन्न स्थानमा बम पड्केका छन्। मतपत्र जलाउने काम पनि भएको छ। अर्को चुनावको मिति नजिकिँदै गर्दा स्थानीय तहसम्म दलका नेता र कार्यकर्ताहरुमा प्रचारप्रसार लगायतका अन्य विभिन्न चटारो झन् बढेको छ। अहिले मतदातालाई स्वतन्त्ररुपमा मतदानस्थलसम्म पुग्ने वातावरणको तयारीसँगै उम्मेदवारहरुको सुरक्षाका लागि सुरक्षाका विभिन्न अंगहरु पनि तैनाथ देखिएका छन्। मतदान गर्ने अधिकार व्यक्तिको नितान्त व्यक्तिगत र निकै महत्वपूर्ण अधिकार हो। आफ्नो मतको प्रयोग गर्ने अधिकारबाट कसैले पनि रोक्न नहुने कुरालाई राजनीतिक दलहरुले बुझ्नुपर्ने देखिएको छ।

आर्थिक अवस्थाको कमजोरीसँगै विभिन्न अभाव, दबाब र प्रभावमा हुर्केको हाम्रो समाजलाई चुनावको बेलामा दुईदिने विभिन्न प्रलोभनहरुलाई सम्बन्धित निकायहरुले ख्याल गर्नुपर्ने देखिएको छ। झुट्टा आश्वासन दिने र अन्य विभिन्न प्रलोभनमा पार्नेजस्ता कामहरु पनि चुनावका बेलामा हुने गर्दछन्। यस्ता कुरालाई मतदाताले समयमै सचेत भएर प्रतिवाद गर्नुपर्ने देखिएको छ। अघि–पछि सिन्को भाँच्न नसक्ने नेताहरुले चुनावको मुखमा वितरण गर्ने गुलिया नाराभन्दा जनताको वास्तविक समस्या के छ र सोको समाधानका लागि अब बन्ने सरकारले कस्तो नीति अवलम्बन गर्ने हो ? नेताहरुसँग कस्तो खालको योजना छ ? यसबारे जनताले प्रश्न गर्नुपर्ने बेला आएको छ। सधैँ झुटको खेती गर्ने अनि जनतालाई गलत प्रयोगका लागि चुनावमा रकम खर्च गर्ने र पछि असुली गर्ने काममा मात्र लागी जनताको आवश्यकता र विकासमा चासो नदिने नेता तथा नेतृत्वको बारेमा जनताले सचेत भएर मतदान गर्नुपर्ने देखिएको छ। अर्कोतर्फ चुनाव हुन नदिने पक्षले जनतालाई दुःख दिने काम बन्द गर्नुपर्छ। जनताले पनि यस्ता आपराधिक कामको खुलेर विरोध गर्नुपर्छ।
– राजेश हुमागाईं, नुवाकोट

प्रतिक्रिया दिनुहोस्