राजकुमार ह्यारी र मार्कलबीच विवाह हुने पक्का



लन्डन, (एजेन्सी)
बेलायती शाही परिवारका राजकुमार ह्यारीले आफ्नी अमेरिकी प्रेमीका मेगन मार्कलसँग विवाह गर्ने निर्णय गरेको छ। युवराज चाल्र्सले सोमबार उक्त विवाह योजनाको घोषणा गरेको हो।

सन् २०१६देखि सँगसँगै समय बिताइरहेका राजकुमार ह्यारी र मार्कलले गत महिना इङ्गेजमेन्ट गरेका थिए। बेलायती शाही परिवारका लागि यो एक सामान्य घटना थिएन। शाही परिवारको भावी बुहारी अमेरिकी हुन्, सम्बन्ध विच्छेद गरी बसेकी एकल महिला हुन्, अभिनेत्री हुन् र मिश्रित नस्लका हुन्। ३३ वर्षीय राजकुमार ह्यारीले विवाह योजनाको घोषणाले आफू अत्यन्त खुसी भएको र दुवैले मार्कलका मातापिताको आशीर्वाद लिएका थिए। राजकुमार ह्यारी र मार्कलको इङ्गेजमेन्टका विषयमा शुरूमा महारानी एलिजाबेथ र परिवारका निकट सदस्यहरूलाई मात्र थाहा थियो।

अमेरिकी टेलिभिजन ड्रामा सो सुट्समा आफ्नो कामका लागि चर्चित मार्कल अमेरिकाको लस एन्जलसमा हुर्केकी हुन्। तर अहिले छोटो समयका लागि उनी टोरन्टोमा बसेकी छिन्। अभिनयबाहेक उनी मोडलिङ पनि गर्छिन्। उनले सन् २०११ मा ७ वर्षदेखि डेटिङ गर्दै आएका अभिनेता तथा निर्मातासँग विवाह गरेकी थिइन्। तर २ वर्षमै उनीहरूबीच सम्बन्ध विच्छेद भएको थियो।

मार्कलले नर्थवेस्टर्न युनिभर्सिटी स्कुलबाट कम्युनिकेसनको पढाइ गरेकी थिइन्। अभिनयका लागि अडिसन दिँदै गर्दा मार्कल क्यालिग्राफी अर्थात सुन्दर लेखनबाट विवाहको निमन्त्रणा पत्र लेख्ने काम गर्थिन्। ह्यारी र मार्कलको पहिलो भेट सन् २०१६ जुलाइमा भएको थियो। उनीहरूको सम्बन्धलाई लिएर सञ्चार माध्यमहरूले धेरै चर्चा गरेका थिए। त्यसको महिनौपछि मात्र राजकुमार ह्यारीले आफ्नो सम्बन्धको पुष्टि गरेका थिए। उनले यस मामिलामा सञ्चार माध्यमको भूमिकालाई लिएर असन्तुष्टि व्यक्त गरेका थिए।

मार्कलको पिता पनि सिनेमेटोग्राफर थिए। उनले ८० को दशकमा लोकप्रिय कार्यक्रम मेरिडमा काम गरेका थिए। मार्कलले अमेरिकी टेलिभिजन कार्यक्रम सुट्सदेखि द ग्रिक, रिमेम्बर मी, हरिबल बोसेस र फ्रिन्जमा काम गरिसकेकी छिन्।

ओबामाको शुभकामना
सिकागो, (एजेन्सी)
अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले राजकुमार ह्यारी र मेगन मार्कललाई उनीहरूको इन्गेजमेन्टका लागि शुभकामना दिएका छन्।‘मिसेल र म तपाईंहरूको जीवनभरि खुसी तथा आनन्दका लागि कामना गर्दछौं’ –उनले ट्विट गरेका छन्।

राजकुमार ह्यारीका पिताले सोमबार ३३ वर्षीय बेलायती शाही सदस्य र ३६ वर्षीय अमेरिकी अभिनेत्रीबीच विवाह हुने घोषणा गरेका थिए।
ओबामाको मिठो ट्विटलाई लिएर ट्विटर युजरहरूले उनलाई फर्कन आग्रह गरेका छन् र उनलाई सम्झिरहेको बताएका छन्।

ओबामाले ह्वाइट हाउस छोडेपछि राजकुमार ह्यारी र पूर्वराष्ट्रपति सँगसँगै देखिएका थिए। उनीहरू निक्कै नजिकिएका र सौहार्द सम्बन्धमा रहेको देखिएको टिप्पणी ट्विटमा गरिएका छन्।

केही ट्विटरहरूले मिसेल ओबामा नै राजकुमारलाई मार्कलसँग भेट गराउने व्यक्ति हुन सक्ने अनुमान लगाएका छन्।

नयाँ इङ्गेजमेन्टमा रहेका जोडीले बीबीसीसँगको अन्तरवार्तामा उनीहरूको भेट एकजना साझा मित्रबाट भएको खुलासा गरेको तर ती रहस्यमय साथीको परिचय खुलाउन भने अस्विकार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्