बहिरो सरकार र महान् लोकतन्त्र



दामोदर पौडेल

नेपालमा लोकतन्त्र आएपछिका सबैजसो सरकारहरूका काम भनेको पाएसम्म विदेशीसमेतसँग ऋण लिने र विकास तथा समाज–हितको लागि काम गरेको भनेर देखाउने गरेको पाइन्छ। ती काममा आफ्ना मानिसहरू नियुक्त गर्ने र कमिसन आदि खाने उनीहरूको विशेषता हो। जनताको हित र सेवा गर्ने प्रवृत्ति सरकारको रहेन। जनताको भागमा पर्ने भनेको भाषण, आश्वासन र मैले तिमीहरूलाई यो दिन खोजेको थिएँ तर अरुले गर्दा सकिनँ भन्ने मात्रै रह्यो। भएको पैसा केही छरेजस्तो गर्ने काम भयो। राज्यले जनता र समाजको विकासमा केही नै गरेको छैन। एक इन्च सडक पनि बनाएको छैन। आफ्नै बजेट र खर्चले बनाउने भनेका आयोजनाहरू पनि वास्तवमा आफैंले बनाएका होइनन्। देशको राजस्वको रकमले साधारण खर्च नै पुग्दैन। कसरी विकासको कुरा हुन्छ ? तर विकास त भएको छ नि भन्ने सवाल पनि आउँछ।

केही भएको विकास विदेशीले बजेटमा नै गरेको सहयोग, दिएको ऋण आदिले हो। उनीहरूले दिएको ऋण पनि पछि मिनाहा गर्ने गरेकै छन्। कांग्रेस, एमाले, माओवादी, राप्रपा, मधेसवादी वा अन्य भए पनि उनीहरूको व्यक्तिगत र सामूहिक चरित्र सरकारमा जाँदा कहिल्यै पनि अर्कोको भन्दा फरक रहेको छैन। अझै कहिलेकाहीँ त नेताहरूको कुरा सुनेर उनीहरूलाई भन्न लाज हुनुपर्नेमा सुन्न पनि लाज हुन्छ। वर्ष–वर्षमा सरकार बदलिन्छ तर उनीहरू १० वर्ष लगाएर हरेक वर्ष बजेट पारेर गरेको योजना पनि मैले र मेरो सरकारले गरेको भन्छन्। यो देशमा कुनै पनि एउटा ठूलो योजना र दीर्घकालीन काम छैन, जुन एकमात्र सरकारले गरेको होस् तथा पूरा गरेको होस्। जब कि ती कामको लागि दिने रकम विदेशीको हो, नेपालको राजस्वको हुँदै होइन। राजस्वको पैसा त जथाभावी खर्च गरेको ऋण तिर्न र कर्मचारीको तलब भत्तासमेतका अन्य साधारण खर्चको लागि नै पुग्दैन। ती खर्चको लागि पनि विदेशीले नै सहयोग गरेका छन्।

मुद्रा स्फीति बढिरहेको छ। झोलामा पैसा लिएर बजार गई मुठीमा तरकारी लिएर आउनुपर्ने अवस्था छ। चोरी, डकैती, हत्या, लुटपाट बढेर गएको छ। नेताहरू मात्र धनी हुने प्रवृत्तिले कर्मचारीले तलब पाउँदैनन् र सरकारले दिएको काम पनि उनीहरूबाट हुँदैन। तलब नपाएपछि बन्दुक नभएकाहरूलाई बन्दुक भएकाले बन्दुक देखाएर लुट्न थाल्छन्। अझै भारतले नेपालीलाई रोजगारी नदिने र अरु देशले पनि रोजगारी बन्द गरिदिने हो भने त हामी अन्त्यमा भोकै मर्ने अवस्थामा हुन्छौं। धेरै नेताहरूले पैसा कमाएकाले उनीहरू विदेश भाग्लान्।

यस अवस्थामा हामीलाई धेरै सहयोग गर्ने भारत, जापान, चीन, अमेरिका, बेलायत र रोजगारी दिने भारत र अन्य विदेशी राष्ट्रहरूलाई हामीले धन्यवाद दिनै पर्दछ। हामीलाई आत्मनिर्भर नबनाउने केवल गफमा धाक दिने नेताहरू भनेका देश र जनतालाई गुमराहमा पारेर हामीलाई दुःखको गर्तमा धकेल्ने मात्र हुन्। भारत हाम्रा नेताहरूले गफ दिएकाले डराउँदैन, बरु चीनसँगको शक्ति सन्तुलनको कारणले विचार गरेर चल्दछ। भारतलाई हामीले बोलेर दनक दियौं भन्नु आफ्नो माथि थुक्नुजस्तै हो।

भारतसँग समान हैसियत राख्न त विद्युत् उत्पादन बढाउनुपर्दछ। जडीबुटीको उचित व्यवस्थापन हुनुपर्दछ। पर्यटकीय सम्भावनालाई अझ राम्रो पार्नुपर्दछ। पानी व्यवस्थित गरेर भारत र बंगलादेशलाई सुख्खा याममा बेच्न सक्नुपर्दछ। देशका सबैभन्दा ठूला र कहिल्यै हावाहुरी नलाग्ने उद्योग भनेका यिनै हुन्। तर यसमा कसैको सोच छैन। भारतले नेपालीलाई रोजगारी नदिए हाम्रो अवस्था तुरुन्तै दयनीय हुन्छ। हामीले नेपाल पसेका भारतीयहरूलाई चाहेर पनि निकाल्न सक्दैनौं। उनीहरू सीपको काम गर्दछन्। हामी त्यो सीपको काम गर्न चाहँदैनौं वा कम चाहन्छौं। यही नै भारतले जहिले पनि हामीलाई हेप्न सक्ने आधार हो। त्यो भन्दा प्रमुख आधार भनेको हामी भारतलाई अनावश्यकरूपामा चिढ्याउन चाहन्छौं। नबोलेर नै आफ्नो फाइदा लिने हाम्रो सोच छैन। शायद हामी नेपाली मतदाताहरू पनि मूर्ख छौं कि ? नेताहरूले नहुने र आफूलाई नै घाटा हुने कुरा बोले पनि मीठो बोले भनेर मत दिने गरेका त छैनौं ?
हिटलर र लेनिन लोकतान्त्रिक व्यवस्थाबाटै एकदलीय शासनमा पुग्न सफल भएका थिए। लोकतन्त्र दुरूपयोग गर्न सजिलो पनि हुने व्यवस्था हो र जनताले सत्य पत्ता लगाउन सजिलैसँग सक्ने पनि व्यवस्था हो। दोस्रोलाई हामीले ध्यान दिन सकौं। लोकतन्त्रमा जनतालाई सरकारप्रति असन्तोष राख्ने अधिकार छ। सरकारको विरोध गर्न पाइन्छ। जनताले सरकारको विरुद्धमा शान्तिपूर्ण किसिमले विरोध गरैकै कारणल धरपकड गर्ने, मुद्दा चलाउने र थुन्ने अधिकार सरकारले राख्दैन। विशेष गरेर अझ प्रस्टरूपमा भन्नुपर्दा भइरहेको सरकार विपक्षमा हुँदा जे गर्न छुट हुन्छ अर्को विपक्षमा हुँदा पनि त्यो गर्न अर्कोलाई छुट हुन्छ। जनतालाई सरकारले गरेका गल्तीहरू सम्झाएर सचेत गर्न सकिन्छ। अर्कोपटक मत नदिन तयार गर्न सकिन्छ। यो लोकतन्त्रको अत्यन्त महान् पक्ष हो। एकदलीय व्यवस्थामा भने सरकारको विरोध नै राज्यको विरोध मानिन्छ। दलको विरोध पनि राज्यको विरोध नै मानिन्छ। त्यही आधारमा राज्यले विरोध गर्नेलाई मृत्युदण्ड, कैद आदि गर्न सक्छ। यस्ता कार्यहरूको विपक्षमा रहेको लोकतन्त्र महान् छ।

लोकतन्त्रले कमसेकम जनतालाई आफ्ना भावना राख्न अधिकार दिन्छ। विकल्प खोज्न सकिन्छ। एकले नगरे अर्कोको आशा हुन्छ। त्यसैले लोकतन्त्रको आवरणमा जसले जति गल्ती गरे पनि लोकतन्त्रले मात्रै उनीहरूको विकल्प छान्ने सजिलो अधिकार जनतालाई दिन्छ। एकदलीय व्यवस्थामा अर्को दल र विकल्प नै नहुँदा सरकारमा रहेको दल देशको तानाशाह हुन्छ। त्यसैले जनताले सोच्नै पर्छ– ‘लोकतन्त्र भनेको मेरो तन्त्र हो। लोकतन्त्र नमान्ने र एकदलीयता मान्नेहरू मेरा होइनन्, केवल मलाई केही समयको लागि झुक्याएर आफ्नो पक्षमा ल्याउन खोज्दै छन्। जब उनीहरूको सत्ता आउँछ, उनीहरूको अगाडि मेरो हैसियत उनीहरूको दास, नोकर र गोठालोको जस्तो हुन्छ।’ समयमा नै ध्यान नदिएमा देशमा हिटलरजस्ता उदाए भने समस्या त समाधान हुनेछ तर नयाँ र अझै जटिल समस्या आउनेछ। त्यति बेलासम्म खर्बौंको सम्पत्ति तहसनहस हुनेछ। लाखौं मनिस मारिन सक्छन् र त्यो भन्दा बढी पीडित हुन सक्छन्। साथै अर्को पीडा पनि छ। लोकतन्त्र त छ। सरकारको विरोध पनि गर्न पाइएको छ। जनताको मुख खुला छ। विरोध गर्दागर्दै मुख दुखेको छ तर सरकारले जनताको पीडा र आवाज सुन्दैन। त्यति बेला जनताको बोल्ने अधिकारको पनि के औचित्य रह्यो र ? अझै जनताले जायज कामको माग गरेर गल्तीको विरोध गर्दा अस्थायी दमन पनि हुने गर्दछ। यस्तो अवस्थामा जनतालाई लाग्नु स्वाभाविक हो कि विरोध गर्ने अधिकारको के औचित्य भयो र ? यस्तो राम्रो काम नगर्ने र उचित माग सम्बोधन नगर्ने सरकारले लोकतन्त्रको रक्षा गर्दैन। यो सरकार त लोकतन्त्रको नाममा लोकतन्त्रको लागि अभिशाप हुन्छ। तर त्यो सरकारको विकल्प गैरलोकतान्त्रिक विचार हुन सक्दैन भन्नेमा सचेत हुन आवश्यक छ।

लोकतन्त्रको महान् पक्ष यो हो कि सरकार बहिरो छ भने पनि कमसे कम पाँच वर्षमा त्यसलाई बदल्न सकिन्छ। हुन त अर्को सरकार पनि उस्तै भएमा के गर्ने ? कमसे कम त्यो सरकारले पनि जनतालाई अमानवीय दमन त गर्न सक्दैन नि। सरकारमा जाने पनि हामीबाटै जाने हुँदा चुनावमा जनताले अझै असलको लागि मतबाट विद्रोह गर्न सक्छन्। विश्वका अविकसित देशहरूमा जनताले गलत चैन गरेकाले र सरकारले गल्ती गर्ने गरेको वा जनताको कुरा नसुन्ने भएकाले लोकतन्त्र बदनाम भएको छ। तर लोकतन्त्रभन्दा अर्को अझ राम्रो विकल्प छैन। कसैले सरकारले गरेको कामको आधारमा लोकतन्त्रको विरोध गर्दछ भने ऊप्रति भने सचेत हुनै पर्दछ। किनभने लोकतन्त्र र सरकार
उस्तै होइनन्।

प्रतिक्रिया दिनुहोस्