माउन्ट आगुँगको ज्वालामुखी विस्फोटको खतरा, एक लाख मानिस विस्थापित



जाकार्ता, (एजेन्सी)
इन्डोनेसियाको बालीनजिकको माउन्ट आगुँगबाट भयानक ज्वालामुखी विस्फोट हुने भयका कारण सोमबार त्यस वरपरका करिब १ लाख व्यक्तिलाई सुरक्षित गन्तव्यमा जान सरकारले आह्वान गरेको छ।

इन्डोनेसियाली सरकारले अत्यन्तै उच्चस्तरको सतर्कता घोषणा गर्दै जनतालाई सुरक्षा प्रदान गर्न खोजेको हो। ज्वालामुखी विस्फोटको खतरालाई ध्यानमा राख्दै पर्यटकीय गन्तव्य बाली टापुको विमानस्थल बन्द गरिएकाले हजारौं पर्यटक अलपत्र परेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ।

सरकारी निकायले उक्त पहाडको टुप्पोबाट निस्केको कालो ग्यास र खरानी ३ हजार ४ सय मिटर उचाइसम्म फैलिएको जनाएको छ। सरकारी अधिकारीहरुले स्थानीय बासिन्दालाई पहाडबाट बग्न थालेको बताइएको बल्दै गरेको लाहार्स नामक चट्टानको अवशेषबाट जोगिन सचेत गराएका छन्।

माउन्ट आगुँगमा सेप्टेम्बरमा पहिलो पटक ज्वालामुखीको विचलन महसुस गरिएको थियो। यस दैवी प्रकोपको अत्यन्तै भयावह खतरा महसुस गरी दैवी प्रकोप व्यवस्थापनका लागि राष्ट्रिय बोर्डले चौथो श्रेणीको सतर्कता घोषणा गरेको छ।

युनिभर्सिटी अफ एडेलेडेका भूगर्भशास्त्री मार्क टिन्गेले म्याग्मा विस्फोट भएपछि माउन्ट आगुँग अर्को चरणमा प्रवेश गर्न खोजेको र यसको मुखमा लाभाको तेज देखिइसकेको बीबीसीलाई बताएका छन्। उक्त पहाडको कमजोर सतहमा भइरहेको विस्फोटको आवाज १२ किमि टाढासम्म सुनिएको बताइएको छ।

महिनौं अघिदेखि इन्डोनेसियाली सरकारले यसबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि विभिन्न उपायबारे सेचिरहेको थियो। वैज्ञानिकहरुले यस ज्वालामुखी पहाडको गतिविधिमाथि निरन्तर निगरानी राखिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्