पाकिस्तानको परमाणु हतियार एसियाका लागि खतरा



वासिङ्टन, (एजेन्सी)
पाकिस्तानका परमाणु हतियार दक्षिण एसियाली क्षेत्रको सुरक्षाका लागि मात्र खतरा नभएर यसले युद्धलाई परमाणु युद्धको स्तरमा समेत पुर्याउन सक्ने अमेरिकी थिंक टइंकले आफ्नो एक प्रतिवेदनमा उल्लेख गरेका छन्।

अटलान्टिक काउन्सिलले दिएको प्रतिवेदन ‘एसिया इन सेकेन्ड न्युक्लियर एज’मा पाकिस्तानले अहिलेसम्म आफ्नो परमाणु हतियार योजनाको सञ्चालन शुरू नै नगरेको जस्तो देखिएको उल्लेख गरिएको छ। यसै महिना जारी गरिएको प्रतिवेदनमा उक्त संस्थाले भनेको छ– ‘पाकिस्तानको परमाणु हतियार कार्यक्रम रक्षा र सुरक्षाका कारण खतरनाक त छ नै, अर्को यो एक सामान्य युद्धलाई पनि परमाणु युद्धमा परिणत गर्न सक्ने गम्भीर खतराका रूपमा रहेको छ।’

यस क्षेत्रको सबैभन्दा ठूलो खतरा भनेको अत्याधुनिक ठूला तथा विभिन्न परमाणु हतियार नभएर त्यसको सुरक्षा गरिरहेका संस्थाको स्थिरतालाई लिएर भएको र भविष्यमा पाकिस्तानको स्थिरताको अनुमान लगाउन सहज नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

विगत ४ दशकमा आतंकवादको माध्यमबाट अफगानिस्तान र भारतमा अशान्ति फैलाउने पाकिस्तानको प्रयासमा आफैलाई नराम्रो असर पारेको छ। ती हमला पाकिस्तानका राज्य र सिभिल सोसाइटीलाई लक्ष्य बनाएर पनि भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। केही आक्रमण संवेदनशील सैन्य अड्डाहरुमा पनि भएका छन्, जहाँ सम्भवतः पाकिस्तानका परमाणु हतियार राखिएका छन्। यी हमलाहरु पाकिस्तानका नागरिकहरुको मद्दतमा भएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा कास्मिर मुद्दामा भारतसँगको तनावलाई लिएर हुन सक्ने युद्ध परमाणु युद्धमा परिणत हुन सक्ने बलियो सम्भावनालाई पनि जोड दिइएको छ। पाकिस्तानको राजनीतिक अस्थिरतालाई पनि परमाणु युद्धका लागि खतरनाक मानिएको छ। पाकिस्तानको परमाणु सुरक्षा राजनीतिक रूपमा भन्दा सैनिक परिपक्वतामा निर्भर हुने र भविष्यमा उक्त संस्थामा आउने विचलनले यस क्षेत्रको सुरक्षालाई ठूलो जोखिममा पुर्याउन सक्ने आशंका व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्