दुवै गठबन्धन बलियो बन्न जरुरी



नेपाली राजनीतिका पछिल्ला दिनहरू निकै आश्चर्यजनक ढंगले परिवर्तन भएर अघि बढेका छन्। प्रमुख वाम दलहरूबीचको धुव्रीकरणले एकाएक तातिएको राजनीतिले नयाँ तरंग मात्र सिर्जना गरेन मानिसको सोच्ने तरिका र चेतनामा समेत परिवर्तन ल्याइदियो। संघ र प्रदेशसभा निर्वाचनपछि पूरा हुने संविधान कार्यान्वयनको पुरानो राजनीतिक कोर्स अघि भएको यो वाम धुव्रीकरणले नयाँ राजनीतिक कोर्सलाई त अघि बढाएको छ नै आर्थिक समृद्धिका लागि बलियो एकताको सन्देशसमेत जनतामा दिएको छ।

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीचको चुनावी तालमेलदेखि पार्टी एकतासम्म गर्ने सहमतिको घटनालाई राजनीतिक वृत्तमा सकारात्मक वा नकारात्मक ढंगले टीकाटिप्पणीहरू भइरहेका छन् भने वामपन्थी जनमतमा एउटै कम्युनिस्ट केन्द्र बन्न सक्ने वा नसक्ने विषयमा विचार विमर्श भई नै राखेका छन्। यता नेपाली कांग्रेसलाई केन्द्र बनाएर प्रजातान्त्रिक दलहरूको धुव्रीकरण बढ्नुलाई यही वाम धुव्रीकरणको सकारात्मक परिणामको रूपमा हेरिनु आवश्यक छ। जनता पनि यही चाहन्छन् कि नेपालको समृद्धि, विकास र स्थायित्वका लागि थोरै दलहरूले आपसमा प्रतिस्पर्धा गरुन् र फुट्नेभन्दा जुट्ने दिशामा प्रभावकारी बनून्। त्यही ढंगले जुट्ने दिशामा दलहरू जुन ढंगले मोडिएका छन् ती सम्भावनाहरू आशालाग्दा छन्, जसको सराहना जनताले गरिरहेका छन्।

हामी संविधानसभाबाट संविधान बनाएर त्यसलाई पूर्ण कार्यान्वयनमा लैजाने राजनीतिक कोर्सको अन्तिम चरणमा छौं। आगामी मंसिरमा सम्पन्न हुने चुनावपछि राजनीतिले स्वतः नयाँ आकारको अध्यायको शुरूवात गर्नेछ। जुन राजनीतिक कोर्स भनेको आर्थिक समृद्धि र विकासको हुनेछ। जनता र राष्ट्रको यही मिसनलाई बोकी कम्युनिस्ट घटक दलहरू एकताबद्ध भएर अघि बढ्दै समाजवादमा पुग्ने लक्ष्य तय गरेका छन्। यसलाई देश र जनताप्रति लिइएको ठूलो ऐतिहासिक पहलकदमी मान्नुपर्छ। नयाँ राजनीतिक कोर्ससँगै नयाँ ढंगले जुट्ने कार्यको थालनी गरेर वामपन्थी कम्युनिस्ट आन्दोलनलाई नै माथि उठाउने गरेर नयाँ पहल र परिभाषित गर्ने जमर्को जसरी नेताहरूले गरेका छन्, त्यो आफैंमा सुन्दर र गौरवपूर्ण छ। यसलाई जोड्न त्यत्तिकै असहज र चुनौतीपूर्ण त छ तर असम्भव भने छैन। किनकि धेरै असम्भव कामहरू यिनै नेताहरूले सम्भव तुल्याएर परिवर्तनको रथलाई यहाँसम्म ल्याइपुर्याएका छन्।

चुनावी तालमेलबाट अघि बढेको वामपन्थी गठबन्धनका बीच पार्टी एकीकरण हुन नसक्ने धारणा बलिया छन्। फरक–फरक राजनीतिक पृष्ठभूमि, फरक विचार, सिद्धान्त र फरक–फरक क्लासबाट आएका पार्टीबीच एकता सम्भव छ ? हामीलाई लाग्छ– समाजवादी क्रान्तिमा इमानदारीपूर्वक लाग्ने हो भने यो सम्भव छ, त्यसमा नेताहरूको दृढ इच्छाशक्ति भने चाहिन्छ। अब फरक–फरक भाँडोमा खिचडी पकाएर कम्युनिस्ट आन्दोलन माथि उठ्न सक्दैन र जनताको चाहना पनि पूरा गर्न सकिँदैन। विकसित राजनीतिक घटनाक्रमसँगै पहिलो चरणको चुनाव भयो भने दोस्रो चरणको चुनावको तयारी पनि अघि बढिरहेको छ। चुनाव सार्ने षड्यन्त्रहरू नभएका होइनन्। यो बेला नेताहरू बडो बुद्धिमताका साथ विवेकसंगत ढंगले चल्न आवश्यक छ। अहिलेको सरकारलाई जोगाई चुनाव सम्पन्न गर्ने उसको दायित्वलाई पूरा गर्नमा सबैले सहयोग पुर्याउन आवश्यक त छ नै, चुनावको वातावरण तयार पार्ने दायित्वलाई पनि सबै मिलेर पूरा गर्न जरुरी छ। अहिले चुनाव लोकतान्त्रिक र वामपन्थी धार गरी दुई पार्टीमा केन्द्रित हुने देखिन्छ। किनकि साना दलहरू पनि ठूला पार्टीमा भित्रिने क्रम चलिरहेको छ। देशको आवश्यकता र भावी समृद्धिका लागि यो धुव्रीकरण अभियान अपरिहार्य छ। बरु कहिलेकाहीँ नेताहरूमा इमान र नैतिकताको खडेरी पर्ने गरेको छ, त्यसो गरेर जनतालाई निराश पार्ने काम नहोस्, शुभकामना।
– सन्तोष शाक्य, पुल्चोक, ललितपुर

आफू पनि बाँच्न सिकौं र अरूलाई पनि बाँच्न सिकाऔं
हिजोआज धेरै मानिस ‘हर्ट एट्याक’ वा हृदयघात भएर मरेको खबर सुनिन्छ। उमेर पुगेका मात्र नभएर युवाहरूसमेत हृदयघात भएर संसारबाट बिदा हुनेको संख्या बढ्नु दुःखद कुरा भएको छ। हुन त खासमा युवाहरूलाई हुने गरेको हृदयघातको कारण गलत खानपान र गलत जीवनशैली नै हो भन्ने कुराको पनि टुंगो लागिसकेको छ। त्यसैले पृथ्वीमा बाँचेर केही कर्म गर्न चाहने व्यक्तिले आफ्नो जीवनशैली व्यवस्थित पार्नु अनिवार्य छ, अन्यथा अकाल मृत्युवरण गर्नुपर्ने सम्भावना प्रबल देखिन्छ।
यो त समस्या भयो तर समाधान के त ? खास गरेर एक्लै भएका बेला वा डाक्टर वा अस्पतालसम्म तुरुन्त पुग्न नसकिने अवस्थामा नै हृदयघात हुने गर्छ। अर्को कुरा, हृदयघात हुँदै छ भन्ने कुराको पूर्वसूचना पनि पाइँदैन। तर मरेको समाचार सुन्नु वा सुनाउनु राम्रो कुरा होइन। त्यस्तो अवस्थामा अस्पतालसम्म पुग्ने गरी बाँच्ने एउटा उपाय मुटुरोग विशेषज्ञहरूले सिकाएका छन्।

अचानक बायाँ छाती दुख्यो र त्यो दुखाइ बायाँ पाखुरा हुँदै बंगारासम्म आइपुग्यो भने तपाईंलाई हृदयघात हुँदै छ भन्ने जानकारी हो। यो जानकारी पाएपछि तपाईं आत्तिनु मात्र भयो भने तपाईंले आफूलाई बचाउन सक्नुहुन्न। किनभने त्यस बेला तपाईंसँग १० सेकेन्ड मात्र समय हुन्छ। त्यसैले तपाईं नआत्तिईकन तल दिइएका बुँदाहरू अनुशरण गर्नुहोस्।
आफूलाई हृदयघात हुँदै छ भन्ने जानकारी पाउनासाथ तपाईं नआत्तिईकन जहाँ हुनुहुन्छ त्यहीँ थुचुक्क बसिहाल्नुहोस् र बिस्तारै दुवै नाकका प्वाल (नासिका)बाट लामो र गहिरो सास फेर्नुहोस्।
अब तपाईं जोड–जोडले आवाज निकालेर र भुँडी हल्लिने गरी खोक्नुहोस्। कफ आए पनि थुक्दै नरोकिई खोकिरहनुहोस्।
त्यस बेला तपाईंले अरू केही सोच्ने होइन, ‘मैले आफूलाई बचाउनुपर्छ’ भन्ने मात्र सोच्नुहोस्।

एकपटक लामो र गहिरो सास लिनुहोस् र सास भित्रै हुँदाहुँदै त्यो सास खोकेर बाहिर
फाल्ने काम गर्नुहोस्। यो काम अस्पताल नपुगुन्जेलसम्म गरिरहनुहोस्।
सहयोगी भएमा उसलाई ‘मलाई तुरुन्त अस्पताल पुर्याऊ’ भन्नुहोस्। आफूले ड्राइभ नगर्नुहोस्। तपाईंले नबिराई गहिरो सास लिने र खोक्ने काम मात्र गर्नुपर्छ। त्यसबाहेक सहयोगीसँग गफ नगर्ने अनि लामो सास र खोक्ने प्रक्रियालाई अस्पतालमा डाक्टरले हृदयघातबाट बचाउने प्रक्रिया शुरू नगरुन्जेल गरिरहनुपर्छ।

मित्रहरू ⁄ चाहिने, नचाहिने जोक्स र उट्पट्याङ भिडियो पठाएर साथीहरूलाई दिक्क पार्नुको साटो यो मेसेज सकेसम्म धेरै साथीहरूमाझ बाँड्नुहोस्। आफू पनि बाँच्ने र अरूलाई पनि बचाउने मानवधर्मको पालना गर्नुहोस्। प्राप्तकर्ताले पनि धेरैवटा यही मेसेज पाउँदा झर्को नमान्नुहोस्, बरू खुशी हुनुहोस्। किनभने यो मेसेज जति धेरै साथीहरूबाट तपाईंलाई आइरह्यो त्यति नै तपाईंलाई तपाईंका साथीहरूले माया गर्दा रहेछन् भन्ने अर्थ लगाउनुहोस्। जस्तो कि, मेरा लागि तपाईं महत्वपूर्ण हुनुहुन्छ। तपाईं अकालमा मर्नुहुँदैन। तपाईंले आफू पनि यस धरामा बाँच्ने र अरूलाई पनि बचाउने काम गर्नुपर्छ भनेर मैले यो मेसेज तपाईंलाई गरेको छु। धन्यवाद ⁄
– भगवती शर्मा, रामेछाप

बम हान्नेलाई तह लगाऊ
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भाँड्न विभिन्न समूहले बम आतंक मच्चाइरहेका छन्। विशेष गरी विप्लव नेतृत्वको नेकपाले यसरी आतंक मच्चाउँदासमेत सरकार मुकदर्शक बनेर बसेको देखिएको छ। नेपाली कांग्रेस नेतृत्वको सरकार र विप्लवको चुनाव हुन नदिने खेल भनेर यसलाई टिप्पणी गर्न शुरू गरेका छन्।
यस्तो अवस्थामा पनि सरकारले केही उचित कदम चालेन भने यो इतिहासकै असफल सरकार हुनेछ। जनताको मतको सम्मान गर्न नजान्ने र जनतामाथि बम हान्ने कुनै राजनीतिक चरित्र हुँदैन, यो त आपराधिक गतिविधि हो। यस्तो घृणित काम गर्नेलाई तह लगाउन मेरो अनुरोध छ।
– मनिषा खड्का, लाजिम्पाट, काठमाडौं

प्रतिक्रिया दिनुहोस्