कमीकमजोरी दोस्रो चरणमा नदोर्याऔं



केही जिल्लाका छिटफुट हिसांत्मक घटनाबाहेक आइतबार भएको प्रदेशसभा तथा प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । हिमाली र उच्च पहाडी ३२ जिल्लाका प्रदेश नं १ का ७, प्रदेश नं ३ का ६, प्रदेश नं ४ का ६, प्रदेश नं ५ का २, प्रदेश नं ६ का ७ र प्रदेश नं ७ का ४ जिल्लामा निर्वाचन सम्पन्न भएको हो । आइतबारको निर्वाचनमा ३१ लाख ९१ हजार ९ सय ४५ हजार मतदाता रहेका थिए । यो निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ७ सय २ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । यस निर्वाचनमा २ हजार ९ सय १९ मतदानस्थल र ४ हजार ४ सय ६५ मतदान केन्द्र कायम गरिएको थियो ।

सरकारले निर्वाचन लक्षित सुरक्षा व्यवस्था चुस्त बनाएको दाबी गरे पनि केही जिल्लाहरूको अवस्था असामान्य बन्यो । रुकुम, सिन्धुपाल्चोक, दोलखा, ओखलढुंगा, दार्चुलालगायतका जिल्लामा सामान्य झडप भएपछि सुरक्षाकर्मीले हवाइफायरसमेत गर्नुपरेको थियो । दार्चुला, दोलखा, बाग्लुङलगायतका जिल्लामा मतदान प्रक्रियामा अवरोध पुर्याउने उद्देश्यले अज्ञात समूहले राखेको बम सुरक्षा निकायले निस्क्रिय बनाएको थियो । आइतबार भएको २ मतदान केन्द्रको मतदान सरेको छ । रूकुमको बाफीकोटको काडास्थित रत्न माविको ‘क’ केन्द्र र सोही जिल्लाको आठबीसकोट ११ गत्तसैनास्थित नेपाल राष्ट्रिय माविको ‘ख’ केन्द्रको मतदान पुनः हुनेछ ।
रत्न मावि केन्द्रमा प्रतिनिधिसभा प्रत्यक्षतर्फको र नेपाल राष्ट्रिय माविको केन्द्रमा समानुपातिकतर्फको मतदान पुनः हुने भएको हो । हुम्लाको मेख्खाल मतदान केन्द्रमा एकभोट पनि खसेन । जिल्लाको चम्खेली गाउँपालिकाको रारा प्राविमा १ सय १९ मतदाता रहे पनि मतदाता भोट हाल्न नआउँदा उक्त मतदानस्थल शून्य बन्न पुग्यो । त्यस्तै, सोलुखुम्बुका तिङलाबासीले मतदान बहिस्कार गरे । राज्य पुनसंरचनाका क्रममा तिङलालाई नेचासल्यान गाउँपालिकामा राखेको विरोधमा तिङलाबासीले ‘नो भोट, नो क्यान्डिेट’ अभियानअन्तर्गत मतदान बहिस्कार गरेका हुन् ।

आइतबारको निर्वाचनमा सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत मतदान भएको छ भने मुलुकभर औसतमा ६५ प्रतिशत मतदान भएको निर्वाचन आयोगको अनुमान छ । गत स्थानीय तहको निर्वाचनमा ७१ प्रतिशत मतदान भएको आयोगको तथ्यांक छ । हिमाली र उच्च पहाडी क्षेत्रको जटिल भौगोलिक अवस्था र बढ्दो चिसो मौसमका कारण मत केही कम खसेको अनुमान गरिएको छ । अहिले देखिएका केही प्राविधिक कमीकमजोरी १० दिनपछि हुने दोस्रो चरणको निर्वाचनमा नदोहोर्याउन सरकार र निर्वाचन आयोग अहिलेदेखि नै सचेत रहनुपर्छ । वर्षौ लामो राजनीतिक गतिरोध अन्त्य गर्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लम्काउन यो निर्वाचन महत्त्वर्पूण हुने अपेक्षा गरिएकाले सबै पक्षको साथ र सहयोग पनि उत्तिकै महत्त्वर्पूण रहन्छ । सबैले मताधिकारको प्रयोग गरौं ।

प्रतिक्रिया दिनुहोस्