इरानको बढ्दो प्रभाव विरुद्ध साउदी र इजरायले गठबन्धनतिर



रियाद, (एजेन्सी)
मध्यपूर्वमा इरानको बढ्दो प्रभाव विरुद्ध साउदी अरेबिया र इजरायल निकट सहयोगीका रूपमा देखिएका छन्।
हालैका दिनहरूमा दुई देशबीच सम्बन्ध विकसित भइरहेको छ। तर यो अत्यन्तै संवेदनशील मोड हो। गत हप्ता इजरायलका सेना प्रमुख जनरल गडी आइजेनकोटले बेलायतस्थित एक साउदी अखबार एलाफलाई दिएको एक अन्तरवार्तामा इजरायल इरान विरुद्ध साउदी अरेबियासँग गोप्य सूचना साझा गर्न तयार रहेको बताएका थिए।
इजरायली सेना प्रमुखले भने– ‘दुई देशको साझा हित छन्। मध्यपूर्वमा इरान हाम्रो लागि चिन्ताको विषय बनेको छ र हामी मिले लड्नका लागि तयार छौं। त्यसको केही दिनपछि नै फ्रान्सको राजधानी पेरिसमा एक सम्मेलनपछि साउदी अरेबियाका पूर्वन्याय मन्त्री मोहम्मद बिन अब्दल करिम इस्साले इजरायली अखबार मारिवसँगको अन्तरवार्तामा भने– ‘कुनै पनि हिंसा वा आतंककारी गतिविधि कसैले इस्लामको नाममा सही ठहर्याउन सक्दैन। त्यस्तो कहीँ पनि हुनुहुँदैन र यसमा इजरायल पनि पर्छ।

त्यसको अर्को दिन पूर्ववरिष्ठ इजरायली सैन्य अधिकारीले लन्डनमा बर्तमान साउदीका २ राजकुमारसँग भेटवार्ता गरेका थिए। दुबै राजकुमारले इजरायल उनको अब शत्रु नभएको बताएका थिए। साउदी इजरायलको बढ्दो सम्बन्ध कुनै संयोग मात्र नभएर दुवै देश सतर्कतापूर्वक इरानलाई चेतावनी दिइरहेका छन्। साउदी अरेबिया र इजरायलबीच जुन सम्बन्ध विकसित भइरहेको छ त्यो परिस्थितिजन्य सम्बन्ध हो। सन् २००३ मा अमेरिकाको नेतृत्वमा सहयोगी देशले इराकमा सद्दाम हुसैनको शासन अन्त्य गरेको थियो। सद्दाम हुसैन मारिएपछि सुन्नी अरबमा सिया इरानको प्रमुत्व बढेको हो।

यसको नतिजा इराकमा सिया प्रभुत्व रहेको नेतृत्वसँग इरानको नजिकको सम्बन्ध बनेको छ। इराकी सिया लडाकू सिरियामा बसल अल असदका समर्थनमा इस्लामिक स्टेट विरुद्ध लडिरहेका छन्। सिरियामा जारी गृहयुद्धमा इरानले राष्ट्रपति असदलाई समर्थन गरिरहेको छ। सिरियामा रुसले पनि असदको समर्थनमा इस्लामिक स्टेट र विद्रोहीहरू विरुद्ध हवाई हमला गरिरहेको छ र हतियार पनि उपलब्ध गराइरहेको छ।

लेबनानमा हेज्बुल्ला बलियो हुनु, सिरियाली गृहयुद्धमा असदको स्थिति मजबुत हुनु, इराकमा सिया प्रभुत्व नेतृत्वमा आउनुलाई इरानको जितका रूपमा लिइएको छ। यस परिस्थितिमा इजरायल र साउदी अरेबियाबीच सम्बन्धलाई जोडेर हेरिएको छ। दुवै देश इरानलाई कुनै पनि हालतमा परमाणु शक्ति सम्पन्न देश बन्न नदिने पक्षमा अडिग देखिन्छन्।

इरानसँग परमाणु मामिलामा अन्तर्राष्ट्रिय सम्झौतालाई लिएर दुवै देश असन्तुष्ट छन्। उक्त सम्झौताले इरानको परमाणु गतिविधिलाई सीमित गरेको छ। रुसले सिरियालाई संयुक्त राष्ट्र संघमा पनि बचाउँदै आइरहेको छ। इजरायलका लागि सिरिया एक प्रयोगशाला हो भन्ने लागेको छ। त्यहाँ जे हुन्छ त्यसले मध्यपूर्वमा भविष्यको वर्चस्वको मार्ग प्रशस्त हुनेछ।

प्रतिक्रिया दिनुहोस्