मुलुक बनाउने कि पैसा कमाउने ?



रमेशकेशरी वैद्य

राजनीतिमा आउने पैसा कमाउने चाहना मात्र राख्ने यो अलि घिन लाग्दो रोग भएन र भने ? अब चुनाव जितेर आउने नेताहरुले कडा भएर मुलुकका लागि केही चमत्कार गर्ला कि भन्ने अपेक्षा सर्व साधारणले गरेका छन्। अहिले यो मुलुकमा चुनावको माहोल छ, त्यो पनि फरक तरिकाको चुनाव, अब हेर्न मात्र बाँकी छ यस्को प्रतिफलले विकाशको मोडलाई कतातिर लग्ने हो। आशा गरौं मुलुकको विकास द्रुतगतिमा जाओस्। सधैं नेताहरुलाई गाली गरिराख्न नपरोस्। तर, भनेर के गर्ने गुटबन्दी, कार्यकर्ता, चिल्ला गाडी, विदेश भ्रमण, राजनैतिक अल्झन तथा कलहले यहाँका देश चलाउनेहरुलाई डोरीले बाँधिराखेको सरह भइरहेको छ। यदि यस्तो नभई दिएको भए मूल्य नियन्त्रण, गुणस्तरहीन बाटोको अवस्था, कडा कानुनको कमी, औद्योगिक विकास सुस्त हुँदैन थियो होला।

चुनाव सकिन्छ आफ्नो मान्छे, पैसा, मासुभात रक्सीको आडमा उही जल्दाबल्दा नेताहरुको मुहार सामुन्ने आउँछ। अब के भयो त ? हात्ती आयो हात्ती आयो फुस्सा। यसपछि झुटा आश्वासनहरु शुरु हुन्छ तर सोच उही हुन्छ। सानो सोच सर्व साधारणलाई धुलो, धूँवा, उकुसमुकुस वातावरणको कोसेली, तर विचरा सर्वसाधारण पनि के गरुन् ?

बिर्सिहाल्छन्, फेरि दालभात, तरकारीको व्यस्ततामा डुबिहाल्छन्। तर, देश हाँक्नेहरु भने एकपल्ट जितिसकेपछि जिउ तन्काउँछन्, बधाई आदान–प्रदान हुन्छ, पार्टी हुन्छ, महँगा रक्सीको बिर्को खोलिन्छ। तर, यो कुनै ठूलो कुरा भएन। कारण यस्ता रमाइलो पार्टीहरु त सर्वसाधारणको पनि महिनामा ८⁄१० पल्ट भइरहेको हुन्छ। जुन हामीले प्रत्यक्ष देखिराखेकै छौं। अर्को कुरा नेताहरुको हार जितले सर्वसाधारणहरुलाई ‘बेल पाक्यो हर्ष न विस्मात्’ जस्ता कुरा हुन आउँछ। केही स्वार्थीहरुलाई यसका खास कारण मुलुकको बढ्दो जनसंख्याको वातावरण, सरकारी प्रशासनिक झमेला, बढी शुल्क तथा कर, बेरोजगार आदिलाई मान्न सकिन्छ।

जुनसुकै नेताहरु विजय भएर आए पनि सर्वसाधारणको चाहना भनेको आफूहरुले सहज किसिमले जीवन जिउन पाउनुपर्यो। यति मात्र हो कि उनीहरुको जीवन सुविधा, सहुलियत शान्ति तथा आनन्दमय हुनुपर्यो। साथै मुलुकको विकास द्रुत गतिमा जानुपर्दछ। सानो सोच, दुःख दिने, आफ्नो मान्छे तथा स्वार्थी सोचलाई त्यागेर परिवर्तन भई अघि बढ्नु नै सबैको चाहना हो। यदि यी कुराहरु देश चलाउनेहरुबाट हुन सक्दैन र मुलुकका लागि कडा हुन सकिँदैन भने यिनीहरु आफ्नो कुर्सी छोड्न पनि तयार हुन सक्नुपर्दछ। अन्यथा यसलाई भडुँवा प्रजातन्त्र भनेर नामाकरण गरे पनि हुन्छ।

अहिले आएर नयाँ–नयाँ मुहारका व्यक्तिहरु पनि राजनीतिमा प्रवेश गरेका छन्। चुनाव प्रणाली फरक छन्। त्यस कारण आशा गरौं यो मुलुकको भविष्य राम्रो होस्। देश चलाउनेहरु निःस्वार्थी भावना भएका हुने हो भने वास्तवमा हाम्रो मुलुक हरेक दृष्टिकोणले राम्रो छ। जस्तै दक्ष भएका व्यक्ति, रकम, भौगोलिक वातावरण आदि जस्ता कारणले पनि यहाँ दु्रत गतिमा विकास हुनु कुनै ठूलो कुरा होइन। यी सबै कुराका लागि हामीलाई दास मानसिकता लिएर बस्नुपर्ने पनि कुनै जरुरत छैन। खाली मुलुक हाँक्नेहरु कडा भएर इमान्दार हुनुपर्दछ हाम्रो देश स्वतः राम्रो हुनेछ।
एउटा कुरा भन्नमा अलि खल्लो लाग्छ। त्यो के भने, सर्वप्रथम देशमा विकास हुनुपर्ने भनेको आधारभूत आवश्यक कुराहरु हुन्। जस्तै रोजगार हुनुपर्यो, मूल्य नियन्त्रण हनुपर्यो। धुलो, धूँवा, फोहोर हटाउनुपर्यो।

गुणस्तरीय सरसामान, बाटोघाटो, सवारीसाधन आदि व्यवस्थित हुनुपर्यो। तर, यहाँ विकास भनेको बढी महँगा सवारीसाधन, व्यापारिक किसिमका हाइफाइ भएका स्कुल–कलेज, सुविधा सम्पन्न हस्पिटल आदिलाई मात्र मानिराखेका छौं हामी, जुन गलत कुरा हो। यी सब कुराहरु त जब नेपालीको आयस्रोत एकदम वृद्धि हुन्छ, तब चाहिने कुरा हो। आधारभूत कुराहरु पूरा भएपछि मात्र यी कुराहरु क्रमैसँग पूरा हुँदै जान्छ। त्यसैले घाँटी हेरेर हाड निल्ने कोशिस गर्नुपर्छ।

विकासका लागि मुलुकमा चुनाव भइराख्नु राम्रो कुरा हो। तर, यो मुलुकमा चुनावको मात्र लोभ, नशा, नखरा नभई सम्पूर्ण नेपाली जनता एवं नेताहरुको नयाँ सोचको सिर्जना हुनु आवश्यक छ। अर्को हामीले सोच्नुपर्ने कुरा भनेको भोट दिँदा हाम्रो मान्छे होइन राम्रो मान्छेलाई दिने हो। यसो गर्नाले नै मुलुकको विकाश दु्रत गतिमा जानेछ। साथै नयाँ पुस्ताले पनि अवसर पाउनेछन्। हाम्रा मान्छे नभएर राम्रा मान्छे चुनिँदा सबैको भलो हुन्छ। नत्र आफ्नो दुनो सोझ्याउने काम मात्र हुन्छ। मुलुक बनाउनेभन्दा पनि पैसा कमाउने कार्य भयो भने यहाँको विकास कहिल्यै हुँदैन। त्यसैले व्यक्तिगत स्वार्थमा नलागी मुलुकको हितमा काम गर्ने व्यक्तिको आवश्यकता छ यहाँ। व्यक्ति राम्रो भयो भने मात्र मुलुकको विकास हुनेछ। यस विषयमा हामी सबैको ध्यान जानु आवश्यक छ।

प्रतिक्रिया दिनुहोस्