संविधान कार्यान्वयन तर्फ



प्रदेश र प्रतिनिधिसभाको निर्वाचन आज आइतबार र २१ गते दुई चरणमा हुँदै छ । प्रतिनिधि र प्रदेशसभाको पहिलो चरणअन्तर्गत आज ३२ जिल्लामा मतदान हुँदै छ । २१ गते ४५ जिल्लाको चुनाव गर्ने निर्वाचन आयोगको कार्यतालिका यसअघि नै सार्वजनिक भएका छन् । निर्वाचन अवधिमा राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, मतदाता तथा सञ्चारमाध्यमसमेत सबैले यो संविधान कार्यान्वयनको महत्त्वपूर्ण घडीमा पूर्णरूपमा निर्वाचन सफल बनाउनतिर लाग्न जरुरी छ । निर्वाचन आचार संहिताको पूर्ण पालना गर्नु सबै पक्षको दायित्व हुन आउँछ । आचार संहिता नैतिकको कुरा हो, नैतिकता कसैले बिर्सनुहँुदैन ।

अहिलेको निर्वाचन नेपालको संविधान कार्यान्वयनको महत्त्वपूर्ण कदम हो । संविधान कार्यान्वयनका सवालमा सबै गम्भीर हुन जरुरी छ । अहिलेसम्मको उपलब्धि रक्षा गर्न पनि यो निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा हुनुपर्दछ । आज मतदान हुनगइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न गराउन जिल्लामा कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवक गरी १ लाख ४० हजार ५ सय २५ जना खटिएका छन् । उनीहरुलाई शान्ति सुरक्षा कायम गराउन सहयोग गर्नु आम नागरिकको कर्तव्य हुन आउँछ । प्रशासनले संवेदनशील केन्द्रको सूचीमा राखेका मतदानस्थलमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने काम सरकारको हो । यसमा सरकारले कुनै कसुर बाँकी राख्नुहुँदैन । जनताको मत कदर नगर्ने र मतदान गर्न नदिने पक्ष अपराधिक शैलीमा प्रस्तुत भइरहेको परिपेक्ष्यमा यसलाई सरकारले गम्भीरतापूर्वक लिनु जरुरी देखिन्छ । चुनावको विरोध गर्ने पक्षले जनताको मतदानको अधिकार कुण्ठित गर्न बम विस्फोटन गराई समाजमा आतंक मच्चाउने कामले आम जनतालाई निराश बनाएको छ । यसले त्यस्ता क्रियाकलाप गर्ने पक्षले बेलैमा सोच्नुपर्दछ ।

नेपाल लामो समयको युद्धपछि शान्ति प्रक्रियामा आएको छ । जनताले आभाष गर्ने किसिमले लोकतन्त्रको महसुस गर्न खासै नपाए पनि नेपाली जनताले केही उपलब्धि भने हासिल गरेका छन् । अब फेरि नेपाली जनता द्वन्द्व र हिंसाको राजनीति पटक्कै रुचाउँदैनन् । त्यस्ता पक्षले हेक्का राख्नुपर्ने बेला आएको छ । जनताको मतको कदर गर्दै जनतामाझ जानु र जनताको मन जित्नु नै लोकतन्त्रमा सबैको विजय हो ।

प्रतिक्रिया दिनुहोस्