‘नलेखिएको इतिहास’ भित्रका कुरा



होहोरेम कुलुङ

वि.सं. २०२८ मा शुरु भएको झापा आन्दोलनका हस्तीमध्ये एक राधाकृष्ण (आरके) मैनालीको ‘नलेखिएको इतिहास’ नामक किताब केवल किताबहरुको चाङमा चाङ थप्नका लागि मात्रै नभएर वास्तवमै पठनयोग्य किताबको रुपमा आएको छ। १७ अध्याय रहेको यस पुस्तकमा लेखकले आप्mना बाजे तेह्रथुमको चुहानडाँडाबाट ताप्लेजुङको साबिक फूलबारी गाविसमा पर्ने चोकपुर बसाइँ सरेको, आफ्ना बुबा धनपति भारतको आसाम गएको, त्यहाँ बुबाले धेरथोर धन कमाएपछि तराई (मधेस) को झापामा बसाइँ सरेको, बुबाको साथ लागेर झापा झरेपछि त्यहाँ वीरेन राजवंशी र मदन खपा·ीहरुसँग भेट भएको, सामन्तहरुका विरुद्ध जाने निर्णय, त्यसका लागि किसानहरुलाई तालिम दिएका आफ्ना वंशजका ऐतिहासिक पक्ष समेटेका छन्।

साथै वीरेनको नेतृत्वमा पहिलो स्क्वाड गठन गरेको, ज्यामिरगढीका सामन्त कर्णबहादुर गौतममाथिको पहिलो कारबाही, २०२८ जेठदेखि २०३० कात्तिकसम्म भएको ‘वर्ग शत्रु खत्तम’ अर्थात् ‘झापा विद्रोह’को क्रममा सातजना जमिनदारमाथि कारबाही, शासकहरुले ११ जना क्रान्तिकारीहरुको हत्या गरेको, २०४६ सालको जनआन्दोलनमा भारतले तत्कालीन मालेका नेताहरुमध्ये एक माधवकुमार नेपालमार्फत हातहतियारसमेत सहयोग गर्ने प्रस्ताव पठाएको प्रसंगलगायत इतिहासको गर्भमा लुकेका केही प्रसंगहरुसमेत यस पुस्तकमा पढ्न पाइन्छ।

मैनालीले ‘नलेखिएको इतिहास’ नामक आफ्नो किताबको भाग छ (पृष्ठ–१२३) मा उल्लेख गरेअनुसार ‘ललितपुर (पाटन) को च्यासलमा २०४६ फागुन २०÷२१ गते तत्कालीन मालेको केन्द्रीय कमिटीको बैठक बसेको थियो। मैनालीले उक्त बैठकको प्रसंग उल्लेख गर्दै लेखेअनुसार, सो बैठकमा महासचिव मदन भण्डारीले एजेन्डा पेस गरेपछि केन्द्रीय सदस्यहरुले थप एजेन्डाहरु राख्ने क्रममा शुरुमै माधवले प्रस्ताव राखे, ‘यो आन्दोलनलाई उचाइमा पुर्याउन छिमेकी मित्रराष्ट्र भारतले यथेष्ट सहयोग गर्ने भनेको छ।’

‘के सहयोग ?’ मदनले सोधे। ‘हतियारको सहयोग’, माधवले सगर्व भने। ‘हतियार चलाउन तालिम लिनुपर्यो। हामीसंँग अनुभवी कार्यकर्ता छन् र ?’ मदनले फेरि सोधे। ‘हतियार चलाउने मानिस पनि आउँछन्’, माधवले फरर्र जवाफ दिए। आन्दोलनलाई गणतन्त्रमा पुर्याउन सहयोग स्वीकार्नुपर्ने व्याख्यासमेत सुनाए, माधवले। मदनले चुप लाग्न इशारा गरे र भने, ‘विवेक (माधवको भूमिगत कालको नाम) कमरेड, यो कस्तो प्रस्ताव हो ? पार्टीको केन्द्रीय कमिटी बैठकमा विदेशी सेना भित्र्याउने प्रस्ताव ल्याउन मिल्छ ? भारतीय सेना त के चिनियाँ लालसेना आए पनि हामी स्वीकार्दैनौं। तपाईंको यस्तो प्रस्ताव कम्युनिस्ट पार्टीप्रतिको ठूलो अपमान हो। राष्ट्रको स्वाभिमान लुट्ने चाल हो। त्यसैले यसलाई फिर्ता लिइहाल्नोस्।’ माधवको प्रस्ताव माइन्युट त हुन पाएन नै, बोली नै फिर्ता गर्न लगाए, मदनले।
त्यसपछि चैत २ गते च्यासलमै मालेको केन्द्रीय कमिटीको अर्को बैठक बस्यो। अघिल्लो बैठकमा अस्वीकृत प्रस्ताव फेरि माधवले दोहोर्याए, ‘एकदम जिम्मेवार तहबाट भारतीय सहयोग आउने भएको छ। हतियार नेपालीहरुले नै प्रयोग गर्ने गरी।’ ‘कसरी ?’ मदनले सोधे। ‘भारतीय सेनामा कार्यरत नेपाली जवानहरुलाई छुट्टीमा नेपाल पठाइन्छ र उनीहरुले ती हतियार चलाउनेछन्। अब जसरी पनि नेपालमा गणतन्त्र ल्याउनुपर्छ’, माधवले निर्धक्कसँग भने।

स्मरणीय छ, यो प्रसंगले गर्दा नेकपा एमालेले ‘नलेखिएको इतिहास’ नामक किताबमा आप्mना नेताहरुको बारेमा लेखिएको प्रसंगहरु भ्रामक रहेको भनी विज्ञप्ति नै निकाल्नुपरेको परेको थियो भने माधवकुमार नेपालले आरकेलाई कारबाही गर्नुपर्ने माग राखेका थिए।

त्यस्तै २०४६ सालमा भएको जनआन्दोलनको कमान्डर स्वर्गीय गणेशमान सिंहले जनआन्दोलनपछि जनआन्दोलनको सफल नेतृत्वकर्ताको हैसियतले स्वतः आफू प्रधानमन्त्री हुनुपर्नेमा किन कृष्णप्रसाद भट्टराईलाई अघि सारे ? भन्ने प्रसंग रोचक मात्रै होइन, तीतो यथार्थको रुपमा गणेशमानले बताएका छन्। उक्त प्रसंगबारे मैनाली लेख्छन्, ‘लोकेन्द्रबहादुर चन्दले वैशाख ४ गते राति पदबाट राजीनामा दिएपछि रिक्त पदमा दरबारबाट गणेशमान सिंहलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आयो। गणेशमानले राजदरबारको प्रस्ताव स्वीकारेनन्।

त्यो खबर संयुक्त वाममोर्चाको अध्यक्ष सहाना प्रधान हुँदै वाममोर्चाको बैठकमा प्रवेश गर्यो। यसपछि सहाना र म गणेशमानलाई प्रधानमन्त्रीको जिम्मेवारीमा मनाउन उनको निवास चाक्सीबारी गयौं। गणेशमानलाई मनाउन गएका हामी उनको तर्कका सामु आफैं नतमस्तक बन्यौं। गणेशमानले भन्दै गए, ‘म काठमाडांैको नेवार। यहाँ अरु दुईजना वरिष्ठ बाहुन छन्, कृष्णप्रसाद र गिरिजाप्रसाद। यदि म प्रधानमन्त्री बनेँ भने यी दुईजना बाहुन मिल्छन् र प्रधानमन्त्री भएको दुई–चार दिनमै मलाई घिक्लिक्क लडाउँछन्। यसपछि कांग्रेसभित्र विवाद शुरु हुन्छ। राजदरबारले त्यही चाहिरहेको छ। संविधान पनि बन्दैन। संविधान बनाउनकै लागि म प्रधानमन्त्री बन्दिनँ।’ हालसम्म यो प्रसंग जत्तिको यथार्थ गणेशमानका बारेमा कसैले पनि लेखेका छैनन्।

त्यस्तै मैनालीले २०५१ कात्तिकमा भएको मध्यावधि निर्वाचनमा झापा–५ मा सिद्धान्त र राजनीतिक नाराले मात्रै जितिने सम्भावना नभएपछि लगाएको बाहुन बुद्धि!अर्थात् पहाडिया र भेगियारको नाराका साथै पहाडिया बस्तीमा घर–घरमा गएर आपूmले गरेको खुसामदको प्रसंग र त्यही आधारमा जितेको प्रसंग (पाना–१६७÷१६८), आदिवासी जनजातिको सोझोपनबारे, तुर्सा हेमरामका प्रसंग (२०१५ को निर्वाचनमा कांग्रेसले तुर्सा हेमरामलाई प्रोक्सी निर्वाचनमा उठाएर जिताएको पछि वास्तविक निर्वाचनमा भने पहिले नै जितेको भनी टिकट नै नदिएको), (पाना–४१÷४२) र, मैनाली आफैंले शुरुमा नामको पछाडि शर्मा लेख्ने गरेको तर पछि गुरुले मैनाली लेख्न सुझाएको कुरोलगायत प्रायः सबै प्रसंगहरु पठनयोग्य छन्।

प्रतिक्रिया दिनुहोस्