फेरियो चुनाव प्रचार शैली



हिक्मत नेपाली, दैलेख ।

दैलेख प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा (क) मा नेकपा एमाले र नेकपा माओवादीको संयुक्त वाम गठबन्धनबाट प्रत्यक्षतर्फको उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका धर्मराज रेग्मीले सामाजिक सञ्जाल फेसबुकमा लेखे– ‘चुनावी व्यस्तताले सबै साथीका शुभकामना र प्रश्नहरूको जवाफ दिन पाएको छैन, कृपया यहाँहरूको निरन्तर सहयोगको अपेक्षा गरेको छु।’ ‘दैलेख प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ (क) प्रदेशसभामा गोलाकार घेराभित्रको हसिया हथौडामा मतदान गर्न अपिल गर्दछु,’ उनले लेखेका छन्– ‘आउनुहोस् यो परिवर्तनको लहर दैलेख निर्वाचन क्षेत्र १ (क) बाटै शुरू गरौं।’

राष्ट्रिय जनमोर्चाबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा (क) मा प्रत्यक्षतर्फका उम्मेदवार बनेका झवीराज खत्रीले सामाजिक सञ्जालमै आफ्नो प्रतिबद्धतासहित पोस्ट गरे। उनले लेखेका छन्– ‘यदि मलाई मेरा क्षेत्रका मतदाताले अमूल्य मत दिएर विजयी गराउनुभयो भने मैले मेरो कार्यकालमा ३ वटा कार्यलाई उच्च प्रथामिकतामा राखेर काम गर्ने प्रतिवद्धता जाहेर गर्दछु, जनगुनासोको व्यवस्थापन र कार्यान्वयन, स्थानीय स्रोतसाधनको प्रयोग र प्रवद्र्धन र अन्तर्राष्ट्रिय बजारमा बजारीकरण, खानी, पानी, जमिन र युवा जनशक्तिको आफ्नै क्षेत्रमा व्यवस्थापन गर्नेछु।’

प्रदेश नं. ६ बाटै समग्र दलित महिलाको प्रतिनिधित्व गर्दै प्रतिनिधिसभाका लागि नेकपा एमाले पार्टीको समानुपातिक बन्द सूचीमा परेकी पार्वती विसुन्के सामाजिक सञ्जाल फेसबुकमै लेख्छिन्– ‘लोक कल्याणकारी काम गर्न संयुक्त वाम गठबन्धनलाई मतदान गर्नुहोस्।’

यस्तै नेकपा एमालेबाट दैलेख क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार बनेका रविन्द्रराज शर्माको फेसबुकवाल पनि प्रचारले नै भरिएको छ।‘शालिन व्यक्तित्व, जुझारू नेतृत्व, दैलेखले खोजेको, जनताले रोजेको’ भन्ने नारा उल्लेख गर्दै शर्माले पनि आफ्नो प्रचार गरेका छन्। उनका समर्थक तथा कार्यकर्ताले पनि फेसबुकमै उनका फोटा प्रचार सामग्री राखेर भोट मागेका छन्।

यस्तै नेकपा नेपाली कांग्रेस र राप्रपाको सयुक्त लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार बनेका राप्रपाका दीपककुमार शाहीको समर्थनमा कार्यकर्ताहरूको फेसबुकवाल पनि प्रचारले नै भरिएको छ। लोकतान्त्रिक गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएका कांग्रेसका प्रभावशाली नेता गणेशबहादुर खड्काको समेत फेसबुकवालमा प्रचार गरिएको छ।
आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अहिले दैलेख जिल्लाबाट प्रत्यक्ष र समानुपातिकको बन्द सूचीमा परेका उम्मेदवारहरूले पनि यसै गरी चुनावको प्रचारप्रसार गरिरहेका छन्।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिंदै गर्दा राजनीतिक दल र तिनका उम्मेदवारहरू मतदाता रिझाउन प्रचारमा होमिएका छन्। शहरमा मात्र होइन, गाउँ र टोलहरूमा समेत चुनावी माहोल तातेको छ।

विगतमा पनि दलहरूले आफ्नो पक्षमा मतदातालाई आकर्षण गर्न तामझामसहित प्रचारप्रसार गर्थे। तर यसअघिका निर्वाचनमा भन्दा यसपालिको निर्वाचनमा प्रचारशैली फरक देखिएको छ। राजनीतिक दल र उम्मेदवारहरूले यसपालि प्रचारशैलीमा नयाँपन दिएका छन्।

प्रविधिको विकास र पहुँचसँगै उम्मेदवार र दलहरूले सामाजिक सञ्जालको प्रयोग गर्दै मत मागिरहेका छन्। उम्मेदवार र तिनका समर्थकका लागि सामाजिक सञ्जाल नै प्रचार गर्ने सबैभन्दा गतिला माध्यम बनेका छन्। कम खर्चिलो, भरपर्दो, सहज र अधिकांशको पहुँच भएका कारण पनि उम्मेदवारहरूले यसको प्रयोग बढाएका हुन्। उम्मेदवारले मात्र होइन, राजनीतिक दल, तिनका कार्यकर्ता र समर्थकले समेत प्रचारका लागि प्रविधिलाई रोजेका छन्।

यसअघि सामाजिक सञ्जालसँग परिचित नभएका र यसबारे चासो नै नदिनेहरू उम्मेदवार बनेपछि सामाजिक सञ्जालमा जोडिएका छन्। उनीहरूले आफ्ना निकटका मान्छेलाई सहयोगी बनाएर सञ्जालमा आफ्नो प्रचार गरेर मत मागिरहेका छन्। यतिबेला सामाजिक सञ्जाल फेसबुक होस् या ट्वीटर, चुनावी प्रचारले निकै रंगिएका छन्। राजनीतिक दलका नेताकार्यकर्ताले सामाजिक सञ्जालमार्फत् चुनावी अभियान तीव्रता दिइरहेका छन्।

एमाले दैलेखका अध्यक्षसमेत रहेका रविन्द्र शर्मा भन्छन्– ‘प्रविधिले फड्को मारेको छ, अधिकांश मतदाता फेसबुकमा जोडिएका छन्। हामीले त्यसको सकारात्मक उपयोग गरेका छौं, सामाजिक सञ्जाल पनि प्रचारका लागि उपयोगी माध्यम बनेका छन्।’
उम्मेदवारका समर्थकहरूले पनि सामाजिक सञ्जालमा जिताऔं अभियानमार्फत् प्रचार गरेका छन्। उम्मेदवारहरूको प्रोफाइल चुनावी नाराले रंगीचंगी बनेका छन् भने उनीहरूले इतिहासदेखि भावी योजनासम्म सामाजिक सञ्जालमार्फत् सार्वजनिक भइरहेका छन्। युवा पुस्ताले सामाजिक सञ्जाल बढी चलाउने भएकाले पनि भोट माग्न नयाँ प्रविधि रोज्नेको संख्या बढी देखिएको हो। प्रविधिको विकाससँगै अधिकांशका हातमा मोबाइल छन्। इन्टरनेटको सुविधाका कारण भोट माग्ने शैली पनि परिवर्तन भएको छ।

उम्मेदवारहरूले दिनभर चुनावी प्रचारका क्रममा गरेका क्रियाकलाप सामाजिक सञ्जालमार्फत् प्रचार गरेका छन्। पछिल्लो समय जुलुस, आमसभा र कोणसभाभन्दा पनि सामाजिक सञ्जालमा उम्मेदवारका फोटा र विकास योजना राखेर भोट माग्ने क्रम बढेको हो।

उम्मेदवार र दलहरूले सामाजिक सञ्जालमा गरेको प्रचार र आश्वासनलाई पनि मत तान्न सक्ने आधारका रूपमा नेताहरूले लिएका छन्। आफ्ना धारणा, विचार र विकास योजनाको प्रचार गर्न र जनतासम्म लैजान सामाजिक सञ्जाल गतिलो माध्यम बनेको दलहरूले बताएका छन्।

दैलेखमा मंसिर २१ गते हुने निर्वाचनमा २ जना प्रतिनिधिसभा र ४ जना प्रदेशसभा सदस्यका लागि विभिन्न दलबाट ३६ जना र १ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ। विशेषतः वाम गठबन्धन (नेकपा एमाले र माओवादी केन्द्र) र लोकतान्त्रिक गठबन्धन (नेपाली कांग्रेस र राप्रपा) बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्