अब्बल घोषणा



‘जूनको ज्योति ल्याएर दिन्छु, ‘आकाशको तारा झारिदिन्छु, ‘सागरको मोती टिपी दिन्छु ,‘तिम्रो लागि म ज्यानै दिन्छु, … यस्तै–यस्तै शब्द र वाक्यमा संगीत भरेर चर्चा कमाएका गीत–संगीत अनगिन्ती छन्। असम्भव लाग्ने गीतका वाक्यमा स्वर र संगीत भरेपछि त्यही कालजयी बनेका उदाहरण अनेक छन्। तर अहिले निर्वाचन लक्षित दलहरूका घोषणापत्र हेर्दा र सुन्दा निकै चल्तीका गीत–संगीत पनि निकै फिका लाग्छन्।

यस्तो मामिलामा तराई केन्द्रित राष्ट्रिय जनता पार्टीले बिहीबार सार्वजनिक गरेको घोषणापत्र अन्य दलको भन्दा निक्कै अब्बल सावित हुने धरहराको ठहर छ। प्लस टु अध्ययन गरेका र उमेर पुगेर विवाह गर्ने युवतीलाई आधा तोला सुनको मंगलसूत्र दिने, हरेक महिलालाई उच्च शिक्षा निःशुल्क गर्नेलगायतका योजना सार्वजनिक गरेको छ। त्यति मात्रै कहाँ हो र? बालिका जन्मिएलगत्तै आमाको संरक्षकत्वमा बालिकाको नाममा दीर्घकालिन मुद्दति खाता खोल्न सहयोग गर्ने र १० हजार रुपियाँ पनि उपलब्ध गराउने सो पार्टीले जनाएको छ। घोषणापत्र सार्वजनिक कार्यक्रममा सो दलका नेताले मधेस आन्दोलनमा ज्यान गुमाएका परिवारलाई ५०⁄५० लाख रुपियाँ उपलब्ध गराउने बताएका छन्। गत वर्षको आन्दोलनका क्रममा पनि यस्तै घोषणा गरिएको धरहराले प्रस्ट सुनेको हो। विगतमा के कति परिवारले तोकिएको रकम पाए, सो विवरण पनि सार्वजनिक गर्या भए चुनावी प्रचार थप ‘हिट’ हुन्थ्यो कि?

प्रतिक्रिया दिनुहोस्