‘शिक्षित र सक्षम युवापुस्ताले नै राजनीति गर्नुपर्दछ’



रत्न महर्जन
प्रतिनिधिसभा
क्षेत्र नं. २ ललितपुर
नयाँ शक्ति पार्टी नेपाल

मेरो मुख्य चुनावी एजेन्डा आर्थिक समृद्धि, स्थानीय समस्याको समाधान र युवा पुस्ताको नेतृत्व विकास गर्ने हो। हामीले राजनीतिक व्यवस्था परिर्वतनका लागि पटक–पटक लड्यौं, तर आर्थिक समृद्धि देख्न पाएन। हाम्रै जीवनमा आर्थिक समृद्धि हासिल गर्न सम्भव छ भन्ने कुरा जनतामाझ स्थापित गर्नका लागि मैले नयाँ शक्ति पार्टीमार्फत उम्मेदवारी दिएको हुँ।

समृद्धिका लागि यहाँ रहेका कला, संस्कृतिलाई पर्यटकीय उद्योग प्रवद्र्धनसँग जोड्न सकिन्छ। यहाँ रहेका हस्तकला, मूर्तिकलालगायत पेशालाई व्यवसायको आधुनिक मूल्य र मान्यताअनुरूप अघि बढाउनु आवश्यक रहेको छ। ललितपुरलाई हस्तकला तथा सांस्कृतिक एवं पर्यटकीय नगरी घोषणा गर्नुपर्दछ। डा. बाबुराम भट्टराई प्रधानमन्त्री र अर्थमन्त्री हुँदा अघि सारेको युवा स्वरोजगार कार्यक्रमलाई पनि निरन्तरता दिनु आवश्यक रहेको छ। राष्ट्रिय उद्योग प्रवद्र्धन गर्नका लागि, युवाको उद्यमशीलता विकास, आर्थिक सम्भावनालाई मूर्त रूप दिने मेरो एजेन्डा रहेको छ।

यस क्षेत्रको मुख्य समस्या भनेको पुर्खाले सिर्जना गरेको भाषा, संस्कृति, सम्पदाहरु अतिक्रमणमा पर्नु हो। दोस्रो समस्या भनेको हस्तकला, मूर्तिकला, प्रस्तर कला, तामा पित्तलको भाँडाकुँडा बनाउनेलगायत बाबुबाजेदेखि गर्दै आएको पेशा संकटमा पर्नु हो। युवा रोजगारीको अभावमा विदेश पलायन यहाँको मात्रै नभई सिंगो देशको समस्या बनेको छ। तेस्रो समस्या भनेको राजनीतिक पहुँच, चेतनाको अभाव हो। यसलाई बदल्ने अठोटका साथ चुनावी मैदानमा उत्रिएको हुँ।

सधैं उही पार्टी र उही उम्मेदवारलाई भोट दिएर फरक परिणामको अपेक्षा गर्नु मूर्खता हो। पुराना पार्टी र उही मान्छेलाई जिताउनु भनेको उही परिणाम दोहार्याउनु हो। पढे–लेखेका युवा पिँढी राजनीतिमा आउनुपर्दछ भनेर म राजनीतिमा आएको हुँ। घरदैलोका जनताले नयाँ नेतृत्व खोजेको प्रतिक्रिया दिएका छन्। राजनीतिमा युवाको सकारात्मक हस्तक्षेपका लागि मेरो उम्मेदवारी हो। पार्टीको बलमा कमजोर उम्मेदवारले मात्र जितिरहेको सन्र्दभमा जनताले भिजन भएको, शिक्षित र युवा पुस्ताको नेतृत्व खोजेका छन्।

नयाँ शक्ति नेपालले प्रदेशको सामथ्र्य र विशेषताअनुरूप विकास र समृद्धिका एजेन्डा अघि सारेको छ। स्थानीय विकास, राष्ट्रिय विकासबारे घोषणापत्रमार्फत स्पष्ट भिजन अघि सारेको छ। त्यसलाई मतदाताले मूल्यांकन गर्ने मलाई आशा र विश्वास छ।

प्रतिक्रिया दिनुहोस्