नाइजेरियामा आत्मघाती बम विस्फोट, ५० को मृत्यु



उत्तरपूर्वी नाइजेरियाली शहर मुवीमा रहेको एक मस्जीदमा गरिएको आत्मघाती आक्रमणमा ५० जनाको मृत्यु भएको छ। मंगलबार एक किशोरले उत्तरी राज्य आदामावामा विस्फोट गराएको प्रहरी प्रवक्ता ओथमान अबुवाकरले बताए।

अबुवाकरले भने, “मङ्गलबार साँझसम्मको रिपोर्ट अनुसार आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ भने घटनामा घाइतेहरूको सङ्ख्याको पनि एकीन विवरण लिने प्रयास भइरहेको छ।”

बिहानको प्रार्थनाको समयमा मानिसहरु मस्जिदमा भेला भएका बेला आक्रमणकारीले बम पड्काएका थिए। फ्रान्सको राज्य सञ्चालित समाचार संस्था (एएफपी) लाई एक जना प्रत्यक्षदर्शीले आक्रमणकारी पनि प्रार्थना गर्नेहरुकै समूहमा रहेको बताएका छन्। आक्रमणको जिम्मा समाचार तयार पार्दासम्म कसैले पनि लिएको छैन।

नाइजेरियामा बोको हरामले आठ वर्षयता चलाएको सशस्त्र द्वन्द्वमा २० हजार जति मानिसको ज्यान गइसकेको छ भने करिब २३ लाख मानिस विस्थापित बनेका छन्।

भीडभाड बढी हुने क्षेत्रलाई इस्लामवादी लडाकू समूह बोको हरामले लक्षित गर्दै आएको छ। बोको हरामको कब्जामा रहेका केही क्षेत्र सेनाले पुनः नियन्त्रणमा लिएपछि उक्त समूहले आत्मघाती हमला बढाएको हुनसक्ने बताएको छ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्