ट्रम्पकै पनि अवैध आदेश मान्दिनँः जनरल हाइटन



ह्यालिफ्याक्स, नोभा स्कोसिया, (एजेन्सी)
संयुक्त राज्य अमेरिकाका सामरिक कमान्डका एक वरिष्ठ अधिकारीले शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वा उनका कुनै पनि सहायकले आणविक हतियार परिचालन गर्नका लागि दिइएको आदेश अवैध लागेको खण्डमा आफूले त्यो आदेश अस्वीकार गर्ने बताएका छन्।

सामरिक कमान्डका कमान्डर एयर फोर्स जनरल जोह्न हाइटन ह्यालिफ्याक्स इन्टरनेसनल सेक्युरिटी फोरमको प्यानलमा ट्रम्पसँग आफ्नो यस्तो सम्भावित परिस्थितिबारे छलफल भइसकेको र आफूले अवैध आणविक आक्रमण गर्न नसक्ने जवाफ दिइसकेको बताएका छन्।

उनले यदि त्यस्तै परिस्थिति आइपरेको खण्डमा पनि आफूले ट्रम्पलाई आणविक हतियार प्रयोग गर्ने वैधानिक उपाय सुझाउने बताएका छन्। यस कमान्डले युद्धको दौरान आणविक फौजलाई नियन्त्रण गर्ने गर्दछ। उत्तर कोरियाबाट संयुक्त राज्य अमेरिकामा आणविक आक्रमण हुनसक्ने खतरा बढिरहेको वर्तमान परिवेशमा ट्रम्पका विपक्षीले उनको यसबारेको सोचाइ बुझ्न चाहिरहेकाले यो टिप्पणी सार्वजनिक गरिएको हो।

ट्रम्पको प्योंगयांग लक्षित विचारोत्तेजक ट्विटकै कारण उत्तर कोरियासँग अमेरिकाको युद्ध शुरू हुने चिन्ताले अमेरिकी कांग्रेसका डेमोक्रेटलाई सताइरहेको छ। सन् २०११ को जनवरीदेखि २०१३ को नोभेम्बरसम्म सामरिक कमान्डको अध्यक्ष रहेका अवकाश प्राप्त जनरल रोवर्ट केहलरले यसै महिनाको शुरूमा परराष्ट्र सम्बन्ध समितिमा बयान दिने क्रममा अमेरिकी सशस्त्र फौजले वैधानिक आदेशहरू मात्र पालना गर्नुपर्ने बताएका थिए।

हाइटनले भनेका छन्– ‘मेरो विचारमा केही मानिसले मूर्ख ठान्लान्। हामी मूर्ख भने होइनौं। हामी यस्ता चिजबारे धेरै सोच्छौं। तपाईंलाई यो जिम्मेवारी दिइयो भने यसबारे कसरी सोच्नुहुन्छ? म कुनै अवैध आदेश मान्ने पक्षमा छैन। त्यसले बाँकी जीवन जेलमा बिताउनुपर्ने हुन्छ।’

प्रतिक्रिया दिनुहोस्