नयाँ शक्तिका उम्मेदवार घोषणा र एजेन्डा



नेपाल समाचारपत्र
काठमाडौं
आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा नेवाः राष्ट्रिय परिषद्का नयाँ शक्ति पार्टीबाट ३ नम्बर प्रदेशमा उम्मेदवारी दिने नेवाः उम्मेदवारहरूको नाम घोषणा गरिएको छ।

शुक्रबार परिषद्ले काठमाडौंमा घोषणासभाको साथै पत्रकार सम्मेलनको आयोजना गरी उम्मेदवारहरूको नामावलीका साथै आफ्ना एजेन्डा घोषणा गरेको हो। कार्यक्रममा नयाँ शक्तिबाट प्रदेश नम्बर ३ का लागि प्रदेश सभाबाट समानुपातिक उम्मेदवार नेवाः राष्ट्रिय परिषद्का सुरेश शाहीले उम्मेदवारहरूको नाम घोषणा गर्दै सबैको परिचय प्रस्तुत गरेका थिए।

मन्तव्यका क्रममा प्रतिनिधिसभाबाट समानुपातिक उम्मेदवार अनुपसिंह सुवालले आफ्नो पार्टी र परिषद्को मुख्य एजेन्डा भनेकै प्रदेश नम्बर ३ लाई पहिचानसहितको नेवाः प्रदेशकारुपमा स्थापित गर्ने रहेको बताए। सुवालले हाल भइरहेको सडक विस्तार गैर न्यायिकरुपमा भइरहेको भन्दै यसलाई तत्काल रोकी पञ्चायतकालीन सडक ऐन पूरै खारेज गर्नुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमीले अब मतदाताले आफ्नो साथै आफ्ना सन्ततिको भविष्यलाई समेत ध्यानमा राखेर मतदान गर्न आह्वान गर्नुभयो। आसन्न निर्वाचनलाई सदुपयोग गर्दै आर्थिक क्रान्ति गरी देशलाई समृद्धितर्फ डोर्याउने अभियानमा सबैलाई अगाडि बढ्न नेतृ यमीले आह्वान गर्नुभयो।

नयाँ शक्ति पार्टीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आर्थिक विकास र समृद्धि, समावेशी समानुपातिक लोकतन्त्र, प्रत्यक्ष निर्वाचित सरकार, कालोबजारी र भ्रष्टाचार नियन्त्रणजस्ता नारा अगाडि ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्