वाम गठबन्धनको सिको गर्दै दुई खेलकुद महासंघ



फिरोज राजोपाध्याय, काठमाडौं

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिँदै जाँदा आफ्ना उम्मेदवारलाई जित दिलाउनका लागि लाग्नुपर्ने हुँदा राजनीतिक पार्टीका कार्यकर्तालाई फुर्सद नै हुँदैन। यसको लागि केही न केही योजना बनाउनु नै पर्यो। आगामी हुने चुनावको लागि वाम गठबन्धन भएको पनि छ। नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएर चुनावमा एकबद्ध हुँदै उत्रेका छन् यी पार्टीका उम्मेदवारहरू। यसै कडीमा नेकपा एमालेको निकट नेपाल खेलकुद महासंघ र माओवादी केन्द्र निकट अखिल नेपाल खेलकुद महासंघले गएको शनिबार एउटा कार्यक्रम आयोजना गर्यो। यो कार्यक्रम दुवै पार्टीका उम्मेदवारको चुनाव प्रचार गर्ने हेतुमा भएको थियो।

त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा ठूलै जमघटका साथै दुवै खेलकुद महासंघले ५ सय १ सदस्यीय चुनाव प्रचार तथा परिचालन समिति गठन गरेको थियो। नेपाल खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेल र अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोइराला हुनुहुन्छ। पौडेल एमालेको सरकारमा खेलकुद मन्त्रीसमेत हुनुभइसकेको थियो। पौडेल र कोइरालासहितको बैठकले १५ सदस्यीय संयोजन समिति बनाउने निर्णयसमेत गरेको थियो। कात्तिक १३ गते भएको बैठकमा प्रदेश ३ अन्तर्गत काठमाडौंमा भेला गर्ने निर्णयअनुसार नै यस किसिमको नौलो भेला गरिएको थियो।

१५ सदस्यीय संयोजन समितिमा पौडेल र कोइरालासँगै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, मोहम्मद समिउल्लाह, राखेपका उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेण्डी शेर्पा, राजेन्द्र श्रेष्ठ, धर्मकुमार श्रेष्ठ, राखेपका सदस्य उपेन्द्र पौडेल र अशोक नेपाल, जनक बर्ताैला, अञ्जन धमला, राष्ट्रिय तेक्वान्दो संघ नेपालका महासचिव राजकुमार कार्की, कालीबहादुर घर्तीमगर, गणेश कक्षपति र ईश्वर खपाडी मगर हुनुहुन्छ।

दुवै महासंघको संयुक्त बैठकले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको कार्यगत एकता, निर्वाचन तालमेल, पार्टी एकतासम्म जाने निर्णयलाई स्वागत पनि गरेको थियो। दुवै महासंघले खेलकुदमा पनि मिलेर जाने जानकारीमा ल्याएको छ। दुवै खेलकुद महासंघले वाम गठबन्धनबाट उम्मेदवारी दिएका उम्मेदवारहरूलाई जित दिलाउन विशेष भूमिका खेल्ने योजना रहेको छ। भेलामा निर्वाचन क्षेत्रस्तरको संयुक्त प्रचार समिति गठन गरी आवश्यकताअनुसार खेलकुद प्रतियोगिता आयोजना गर्ने र अन्य भेला आयोजना गर्नेमा पनि प्रकाश पारिएको थियो।

महासंघका अध्यक्ष एवं पूर्व युवा तथा खेलकुदमन्त्री पौडेलले भेलामा बताउनुभयो– ‘प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि प्रचारप्रसार र परिचालन समिति घोषणा गर्न यो भेला आयोजना गरिएको हो। नेपालमा खेलकुदको अवस्था कमजोर छ तर पनि आशा र सम्भावना धेरै छ।’

 

सो भेलामा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको पनि उपस्थिति रहेको थियो। नेपाल काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारमा हुनुहुन्छ। वहाँले भेलामा नेपालको खेलकुदमा नतिजा आउने खेललाई प्राथमिकता दिनुपर्ने पनि बताउनुभयो। वहाँले भन्नुभयो— ‘नेपालले राम्रो गर्न सक्ने खेललाई प्राथमिकता दिएर योजना अगाडि बढाउनु पर्छ। समग्रमा सबै खेललाई उत्तिकै प्राथमिकता दिए पनि राम्रो नतिजा आउने खेललाई पनि असर पर्न सक्छ। अरु खेललाई बेवास्ता गर्ने भन्न खोजेको होइन।’

नेपालले थप्नुभयो– ‘खेलकुदलाई विद्यालय तहदेखि नै प्राथमिकतामा राख्न पनि आवश्यक छ। त्यसो भएको खण्डमा राम्रा खेलाडी उत्पादन गर्नुका साथै प्रतिभाको पहिचान गर्न सकिन्छ। वहाँले कम्युनिस्टले जति अरु कुनै पार्टीले खेलकुदलाई माया नगरेको बताउँदै हेटौंडाको गौरीटारमा करिब १० वर्षअघि आफैंले शिलान्यास गरेको खेलकुद प्रतिष्ठानको निर्माण कार्य कछुवाको गतिमा अगाडि बढेकोमा गुनासोसमेत व्यक्त गर्नुभएको थियो।

वहाँले कम्युनिस्टकै पालामा खेलकुदको नीति बनेको पनि बताउनुभयो। वहाँले भननुभयो– ‘कति भयो खेलकुद नीति नबनेको। तर ६० वर्षको खेलकुद इतिहासमा कम्युनिस्ट पार्टीका खेलकुदमन्त्री हुँदा मात्रै बल्ल राष्ट्रिय खेलकुद नीति बन्यो। अरू पार्टीभन्दा त नेकपा एमाले र माओवादी केन्द्र दुवैले खेलकुदलाई उच्च प्राथमिकतामा राख्दै आएको पनि भन्न चाहन्छु।

अर्का महासंघका अध्यक्ष कोइरालाले पनि पार्टी एकीकरणले गर्दा नेपालमा खेलकुदको विकास हुनेमा टेवा मिल्ने पनि जोड दिनुभयो। यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले यो पार्टीको एकीकरणले नेपालको खेलकुदमा आमूल परिवर्तन हुनेमा विश्वास व्यक्त गर्नुभयो। विष्टले बताउनुभयो– ‘दुवै पार्टीको उद्देश्य एउटै रहेको छ। यसैले पनि एकीकरण हुन त्यति गाह्रो पनि भएन। पक्कै पनि यसले भविष्यमा नेपालको खेलकुदमा टेवा मिल्नेछ।

प्रतिक्रिया दिनुहोस्