नवीन्द्रराज जोशीको विश्लेषण: जनता भगवान् हुन्



आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसले जित्ने आँकलन गरेको काठमाडौंको चार वटा क्षेत्रमध्ये क्षेत्र नम्बर ८ पनि पर्दछ। कांग्रेसले उम्मेदवारी दिएको १ सय ५४ मध्ये ७२ क्षेत्र जित्ने आँकलनमा काठमाडौंका ४ वटा क्षेत्र परेको हो। दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर ८ मा कांग्रेस उम्मेदवार नवीन्द्रराज जोशी चुनावी प्रतिस्पर्धामा छन्।

२०६४ र २०७० सालमा भएको पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा प्रतिपक्षलाई सहजै पराजित गरी निर्वाचित हुनुभएका जोशी यो क्षेत्रका चर्चित कांग्रेस नेता हुन्। कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका जोशीको प्रतिस्पर्धा अहिले पहिलेको निर्वाचनभन्दा फरक ढंगले हुने भएको छ। यसअघिका निर्वाचनमा कांग्रेस, एमाले र माओवादीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भए पनि योपटक एमाले–माओवादी मिलेर निर्वाचनमा होमिएकाले जोशीले यो निर्वाचनलाई चुनौती महसुस गरिरहेका छन्।

चुनाव प्रचार–प्रसारको सिलसिलामा मतदाताको घरदैलो अभियानमा बिहान सबेरैदेखि बेलुकी अबेरसम्म व्यस्त रहने कांग्रेस उम्मेदवार जोशी चुनौती भए पनि आफूले जित्नेमा ढुक्क देखिन्छन्। आफ्नो क्षेत्रको जनताको सुख–दुःखमा सधैं साथमै रहने भएकाले पनि उहाँलाई चुनाव जित्न सजिलो हुने अनुमान गरिँदै आएको छ। आफ्नो प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठ रहेको बताउने जोशीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘यो चुनावमा भोट माग्न बिहानदेखि बेलुकीसम्म मतदाताको घरदैलोमा पुगिरहेको छु, सबैले मलाई भोट दिन्छांै भनेका छन्।’

‘जनता भगवान् हुन्, मैले यो क्षेत्रमा गरेको विकास निर्माण, सामाजिक कार्य मात्र हैन संविधान निर्माणमा पुर्याएको योगदानको पनि कदर गर्दै मलाई भोट दिनेछन्’, जोशीले भन्नुभयो– ‘संविधानसभामा हुँदा संविधान निर्माणमा महत्वपूर्ण भूमिका निभाएको छु भने संसद्मा हँुदा नीति निर्माण र सरकारमा हुँदा नीति निर्माणका साथै कार्यान्वयन पनि गरेको छु भने स्थानीय क्षेत्रको विकासमा ठूलो योगदान पुर्याएको छु।

आफ्नो क्षेत्रमा खानेपानी समस्या समाधान गर्न आफूले गरेको योगदान मतदाताको मस्तिश्कमा रहेको भन्दै उहाँले एक वर्षभित्र खानेपानीको पूर्ण समाधान हुने दाबी गर्नुभएको छ। स्थानीय संस्कृतिको संरक्षण, सडक तथा ढल निकासको क्षेत्रमा मात्र हैन महानगरपालिकाले कर बढाउने निर्णय गरेको विरुद्ध पनि आफ्नो सक्रियता रहेको उहाँको भनाइ थियो।

यसअघि संविधान निर्माण प्रमुख मुद्दा र आफ्नो क्षेत्रको विकास दोस्रो मुद्दा हुने गरे पनि यो चुनावपछि एकमात्र मुद्दा विकास निर्माण हुने भन्दै जोशीले थप्नुभयो– ‘काष्ठमण्डपलगायत सम्पदाहरुको पुनर्निर्माण पनि अब तीव्रताका साथ अघि बढ्छ। खानेपानी, सडक, ढल निकास, सम्पदाहरुको पुनर्निर्माण, स्थानीय संस्कृतिको जगेर्नाजस्ता स्थानीयस्तरमा सम्बोधन गर्नुपर्ने विषय उहाँले पहिल्याउनुभएको छ।

यसअघि जोशी उद्योगमन्त्री भएको बेला महत्वपूर्ण ऐन नियम पारित गराएर तथा बन्द उद्योगहरु सञ्चालनमा ल्याएर र पूर्वाधार क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई प्रतिबद्धता गराएर चर्चित हुनुभएको थियो। उहाँ मन्त्री भएकै बेलामा विशेष आर्थिक क्षेत्र (सेज) ऐन पारित भएको थियो भने औद्योगिक व्यवसाय ऐन २०७३ समेत जारी भएको थियो। वर्षौंं लगाएर बनाइएका यी दुई ऐन हरेक मन्त्रीको पालमा जारी गर्ने प्रतिबद्धता जनाए पनि जारी गर्न सकेका थिएनन्।

उहाँ उद्योगमन्त्री भएका बेलामा कम्पनी ऐन, २०६३ को संशोधन विधेयक व्यवस्थापिका संसद्बाट पारित भएको थियो भने खानी तथा खनिज पदार्थ नियमावलीको चौथो संशोधन पनि भएको थियो। उहाँ मन्त्री भएकै बेलामा विभिन्न मुलुकबाट आएका २ सय ५० जना लगानीकर्ताले पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी प्रतिबद्धता जनाएको जोशीले जानकारी दिनुभएको छ।

स्थानीय क्षेत्रमा मात्र हैन पार्टीभित्र समेत चर्चित नेताको रूपमा गनिने जोशी लगातार केन्द्रीय सदस्यमा निर्वाचित हँदै आउनुभएको छ। प्रजातान्त्रिक आन्दोलनमा सधैं अगुवा नेताको रूपमा सक्रिय रहेका जोशी भन्छन्– ‘कांग्रेसको नेतृत्वमा संविधान जारी भएको छ, कांग्रेसकै नेतृत्वमा समृद्ध नेपाल निर्माण हुनेछ।’

नवीन्द्रराज जोशी
कांग्रेसका प्रतिनिधिसभा
प्रत्यक्षतर्फका उम्मेदवार
काठमाडौं क्षेत्र नम्बर–८

प्रतिक्रिया दिनुहोस्