सुरक्षा सतर्कता बढाउन ढिलो नगर



जति–जति निर्वाचनको मिति नजिकिँदै छ त्यति नै बढी ‘सुरक्षा थ्रेट’ बढ्न थालेको छ । हरेक दिन उम्मेदवार लक्षित विस्फोट र आक्रमणका घटना दोहोरिन थालेका छन् । गत बिहीबार माओवादी केन्द्रका नेता एवं गोरखा क्षेत्र नं.–२ का उम्मेदवार नारायणकाजी श्रेष्ठलाई लक्षित गरेर विस्फोट भएको थियो । सोही दिन बाग्लुङको गल्कोटमा तय भएको वाम गठबन्धनको चुनावी सभा विथोल्ने गरी विस्फोट गरिएको थियो । विस्फोट र आक्रमणको शृंखला सुरक्षा निकायले संवेदनशील सूचीमा राखेका जिल्लाबाहेक अन्यत्रसमेत फैलिएको छ ।

शुक्रबार नेपाली कांग्रेसका नेता डा. रामशरण महतलाई लक्षित गरेर नुवाकोटमा, दाङमा माओवादी नेता कृष्णबहादुर महरा, रोल्पामा माओवादी नेतृ ओनसरी घर्ती मगरलाई लक्षित गर्दै त्यस्तै घटना दोहोरिए । शनिबार कांग्रेसका नेता रामचन्द्र पौडेल र उहाँ सवार गाडीलाई लक्षित गरेर तनहुँमा बम प्रहार भएको छ ।

गोरखाको पालुङटारमा भएको चुनावी सभालाई सम्बोधन गरेर लम्जुङको बेंसीशहर जाने क्रममा उहाँमाथि आक्रमण भएको थियो । त्यसै गरी शनिबार नै सिन्धुपाल्चोकमा विस्फोटक पदार्थ फेला परेको छ भने भोजपुर, ओखलढुंगा र रौतहटमा समेत विस्फोटका घटना भएका छन् । ओखलढुंगाको घटनामा सवारीसाधनमा सामान्य क्षति भए पनि रौतहट र भोजपुरमा दलका समर्थक र सर्वसाधारण घाइते भएका छन् ।

शनिबार दिउँसो रौतहटको चन्द्रपुरमा वाम गठबन्धनको चुनावी सभाबाहिर भएको बम विस्फोटमा ७ जना घाइते भएको र तीमध्ये दुईको अवस्था गम्भीर रहेको स्थानीय प्रशासनले जनाएको छ । दलहरूले सुरक्षा व्यवस्था मिलाउन, सुरक्षितरूपमा निर्वाचनका कार्यक्रममा सहभागी हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए पनि यस्ता घटना दोहोरिएका छन् ।

उम्मेदवारलाई लक्षित गरेर आक्रमण र हमलाका घटना दोहोरिनु लोकतान्त्रिक अभ्यासलाई विथोल्ने काम भएको दलहरूको भनाइ छ । स्वयं सरकारी अधिकारीहरूले निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरूमाथि भएका आक्रमणले सुरक्षा चुनौती थपिएको स्वीकारेका छन् । निर्वाचनलाई लक्षित गरेर शनिबारदेखि विराटनगरमा शुरू भएको एक नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृह सचिव मोहनकृष्ण सापकोटाले यस्तो बताउनुभएको हो ।

सरकारले अघि सारेको तीनघेरे सुरक्षा पूर्णरूपमा सफल हुने सापकोटाले दाबी गर्दै परिणाममुखी सुरक्षा प्रदान गरेर निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउने उहाँको भनाइ छ । शृंखलाबद्ध बम विस्फोट र हिंसात्मक घटनामा नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहको संलग्नता रहेको आशंका गर्दै प्रहरीले सो पार्टीको कार्यकर्तासमेत पक्राउ पर्ने गरेको छ ।

तर, यस्ता घटनामा अन्य दल र समूहको समेत संलग्नता नहोला भन्न सकिन्न । त्यसैले सुरक्षा निकायको निगरानी सुरक्षा थ्रेट मानिएका स्थान, कुनै दल विशेष र समूहमा मात्रै केन्द्रित हुनुहुँदैन, निगरानीको दायरा अन्यत्र पनि फराकिलो पारिनुपर्छ । सरकारले अन्यत्र पनि बेलैमा गम्भीरताका साथ सुरक्षा सतर्कता बढाउन ढिलो गर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्