वाम र लोकतान्त्रिक गठबन्धनबीच कडा टक्कर, कांग्रेसलाई विरासत जोगाउन कठिन



शालिकराम चालिसे, नुवाकोट ।
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नुवाकोटमा २ गठबन्धनबीच कडा टक्कर हुने देखिएको छ। विगतमा जित्दै आएको कांग्रेसलाई नुवाकोटमा विरासत जोगाउन निकै कठिन पर्ने अवस्था देखिएको छ।

प्रतिनिधिसभा सदस्य क्षेत्र नंं १ का लागि कांग्रेसका तर्फबाट डा. रामशरण महत र वाम गठबन्धनबाट माओवादी केन्द्रका हितबहादुर तामाङबीच प्रतिष्पर्धा हुने भएको छ। पटक–पटक अर्थमन्त्री भइसकेका महत र दुई पटकसम्म महतबाट पराजित तामाङबीचको चुनावी भिडन्त यसपटक निकै रोमाञ्चक हुने अनुमान मतदाताहरुले गरेका छन् ।

२०६४ सालको संविधानसभा निर्वाचनमा डा. महतले १ सय ४ मत अन्तरले तामाङलाई पराजित गरेका थिए। दोस्रो पटकको संविधानसभा निर्वाचनमा यो मतान्तरलाई डा. महतले बढाएर विजयी भएका थिए।

यसअघि ३ वटा निर्वाचन क्षेत्र रहेको नुवाकोटलाई यसपटक २ वटा निर्वाचन क्षेत्र बनाइएको छ। प्रतिनिधि सभाको निर्वाचन क्षेत्र नम्बर १ मा हालका शिवपुरी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, पञ्चकन्या गाउँपालिका, तादी गाउँपालिका, सूर्यगढी गाउँपालिका, लिखु गाउँपालिका र ककनी गाउँपालिका पर्छन्। क्षेत्र नं १ मा १ लाख ५ हजार २ सय ८७ जना मतदाता रहेका छन्। यो क्षेत्रबाट तामाङ र महतसहित १३ जनाको उम्मेदवारी परेको छ।

एमाले माओवादीबीच चुनावी तालमेल भएकाले यो क्षेत्रमा एमाले र परिवारदलसहितले माओवादी उम्मेदवार तामाङलाई सघाउनेछन्। ‘दुवै पार्टीबीच आन्तरिक रूपमा कुनै समस्या छैन, पार्टी उपाध्यक्षसमेत रहेका क्षेत्र नं. १ प्रदेश ‘ख’ का उम्मेदवार बद्री मैनाली भने ‘वाम गठबन्धनले आफ्नो मत संरक्षण गर्दा चुनाव हाम्रो पक्षमा आउनेछ।’ यता लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डा. महतका भतिज एवं क्षेत्र नं. २ प्रदेश ‘ख’ का उम्मेदवार रमेश महत पनि नतिजा आफ्नो पक्षमा आउने दाबी गर्छन्। ‘यो क्षेत्रको विकासमा डा.सापले गरेको योगदानका कारण नागरिकको विश्वास हामीमाथि छ,’ महत भन्छन्– ‘गठबन्धनसँग डराउनुपर्ने अवस्था छैन।’

स्थानीय निर्वाचनमा गाउँपालिकाका अध्यक्षहरुले प्राप्त गरेको मतको आधारमा यो क्षेत्रमा रामशरण महतको भन्दा हितबहादुर तामाङको मत १४ हजार ३ सय १० बढी देखिन्छ। डा. महतले लोकतन्त्रको रक्षाको र अधिनायकवादको अन्त्यका लागि आफूले उम्मेदवारी दिएको बताउँछन्। डा. महतले विकास निर्माण, शिक्षा, स्वास्थ्य र रोजगारीलाई मुख्य एजेन्डा बनाएका छन् भने तामाङ परिवर्तनलाई संस्थागत गर्दै दीगो, विकास, आर्थिक समृद्धि, समानता र स्थिर सरकारका लागि आफ्नो उम्मेदवारी भएको बताउँछन्।

नेपाली कांग्रेसभित्र लामो समय योगदान दिएका कार्यकर्ताको संरक्षण हुन नसकेको आरोप कांग्रेसका नेताहरुलाई लाग्दै आएको छ। नुवाकोट क्षेत्र नं. १ मा डा. महत प्रतिनिधिसभाको उम्मेदवार रहेका छन् भने सोही क्षेत्रको प्रदेश ‘ख’ मा उनका भतिज रमेश महत उम्मेदवार बनेका छन्।

उता, क्षेत्र नं. २ का उम्मेदवार कांग्रेस नेता अर्जुननरसिंह केसी प्रतिनिधिसभा र र उनका भाइ जगदिश्वर नरसिंह केसी सोही क्षेत्रको प्रदेश ‘क’ मा उम्मेदवार बनेपछि कांग्रेसभित्र पनि असन्तुष्टी बढेको छ।

यो क्षेत्रमा वाम गठबन्धनको तर्फबाट एमालेका जिल्ला अध्यक्ष नारायण खतिवडा चुनावी मैदानमा छन्। उनी पनि जनतामाझ लोकप्रिय छन्। सो क्षेत्रमा अहिले एमाले र माओवादीको मत जोड्दा कांग्रेसभन्दा १० हजार मतले अगाडि देखिएका छन्।

यो क्षेत्रमा अन्य १३ जनाले उम्मेदवारी दिएका छन्। यस पटक दुवै उम्मेदवारलाई निर्वाचन जित्न ‘फलामको चिउरा’ सरह हुने नेपाल पत्रकार महासंघका अध्यक्ष कपिलदेव खनाल बताउँछन्। ‘डा. महतको प्रभाव आफ्नै छ। उनीप्रति असन्तुष्टी पनि छ, खनाल भन्छन्– ‘विगतको तुलनामा यस पटक वाम गठबन्धनको सम्भावना बलियो भए पनि निर्वाचनलाई सहज रूपमा आँकलन गर्न सकिँदैन।’
पार्टीगत मतसहित नुवाकोटमा नयाँ शक्तिका केही नेताहरुले पनि वाम गठबन्धनलाई सघाउने बुझिएको छ। नयाँ शक्तिले क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार सन्तबहादुर तामाङ वाम गठबन्धनलाई सघाउन माओवादी केन्द्रमा प्रवेशसमेत गरिसकेका छन्।

राप्रपा राष्ट्रवादीबाट बिमल थापा, राप्रपा प्रजातान्त्रिकबाट राजेन्द्रप्रसाद फुयाँल, नेकपा मालेबाट जयागार तामाङ, नयाँ शक्ति पार्टी नेपालबाट शन्तबहादुर तामाङ, नेपाल जनलोकतान्त्रिक पार्टीबाट कृष्णप्रसाद लामिछाने, संघीय समाजवादी फोरमबाट उत्तम अधिकारी, राष्ट्रिय जनमोर्चाबाट कर्णबहादुर तामाङ, मंगोल नेसनल अर्गनाइजेसनबाट प्रदिप तामाङ रहेका छन्। स्वतन्त्र उम्मेदवारहरुमा एलिसा थापा, कृष्णबहादुर तामाङ र रबिन गुरुङे पनि प्रतिनिधिसभाको उम्मेदवार रहेका छन्।

प्रदेश सभाका लागि ‘क’ क्षेत्रमा दुप्चेश्वर, शिवपुरी, तादी गाँउपालिका पूरै र पञ्चकन्या गाउँपालिका ३, ४ अर्थात् पहिलाको थप्रेक र पञ्चकन्या गाउँपालिका रहेको छ। यो प्रदेशसभामा ७ जनाको उम्मेदवारी परेको छ। ७ जनाको उम्मेदवारी परे पनि नेपाली कांग्रेसबाट महेन्द्र थिङ, वाम गठबन्धनबाट माओवादी केन्द्रका राधिका तामाङवीच प्रतिष्पर्धा हुने देखिएको छ। पूर्वकृषि राज्यमन्त्रीसमेत भएकी तामाङ यो क्षेत्रका लागि परिचित नाम हो। उनी समानुपातिकबाट माओवादी केन्द्रको सभासद्समेत थिइन्। शालिन, भद्र युवामाझ लोकप्रिय भएका कारण उनको सम्भावना बलियो रहेको छ।

 

यता, थिङ २०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसका अर्जुननरसिंह केसी विरुद्ध क्षेत्र नं. ३ बाट बागी उम्मेदवार भएका थिए। उनले त्यतिबेला ६ हजार मत ल्याएपछि अर्जुननरसिंह केसी पराजित भएका थिए। नेपाल समता पार्टीमा पनि केही वर्ष बिताएका थिङ खरो स्वभावका छन्। तामाङ समुदायको बाहुल्यता रहेको यो प्रदेश क्षेत्रमा उनी पनि बलिया उम्मेदवारका रूपमा खडा भएका छन्।

यो प्रदेशसभाबाट राप्रपा राष्ट्रवादीबाट रामु पण्डित, राप्रपा प्रजातान्त्रिकका दामोदर थापा, नयाँ शक्ति पार्टीबाट ज्यायुमी शेर्पा, विवेकशील साझा पार्टीबाट विमल तामाङ र स्वतन्त्र उम्मेदवारमा सुनिता थोकर रहेका छन्। प्रदेशसभा निर्वाचन क्षेत्रमा ५२ हजार एक जना मतदाता छन्।

निर्वाचन क्षेत्र नं. १ कै दोस्रो प्रदेशसभामा ककनी गाउँपालिका, लिखु गाउँपालिका, सूर्यगढी गाँउपालिका पूरै र पञ्चकन्या गाउँपालिकाको वडा नं १, २, ५ अर्थात् पहिलाको चौंघडा, कविलास र भद्रुटार गाविसलाई मिलाएर बनाइएको छ। यस क्षेत्रमा ५३ हजार २ सय ८६ मतदाता रहेका छन्।

नेपाली कांग्रेसबाट रमेशकुमार महत, वाम गठबन्धनको तर्फबाट एमालेका बद्री मैनालीबीच यो क्षेत्रमा प्रष्तिपर्धा हुनेछ। महत र मैनालीसहित ११ जनाले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेसका नेता डा. रामशरण महतका भतिज रमेश महत काका डा. महत जतिकै चर्चित छन्।

उनले यो क्षेत्रको विकास र सामाजिक काममा गरेको लगानीका आधारमा आफूलाई बलियो उम्मेदवारको रूपमा अघि सारेका छन्। वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका बद्री मैनाली एमाले नुवाकोटका उपाध्यक्षसमेत हुन्। छोटो समयमै एमाले राजनीतिमा उदाएका मैनाली युवाहरुमाझ निकै लोकप्रिय छन्। वाम गठबन्धनका साझा उम्मेदवार मैनालीले यस क्षेत्रको शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा गरेको योगदानका कारण उनी पनि निर्वाचन आफूले जित्ने दाबी गर्छन्।

यो प्रदेश क्षेत्रबाट राप्रपा राष्ट्रवादीबाट पुरेन्द्रप्रसाद ढकाल, राप्रपा प्रजातान्त्रिकबाट दीपककुमार राई, नयाँ शक्ति पार्टीबाट ईश्वरकुमार राउत, विवेकशील साझा पार्टीबाट कृष्णप्रसाद अधिकारी, मंगोल नेसनल अर्गनाइजेसनबाट कृष्ण तामाङ, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट राजन लामिछाने र स्वतन्त्र उम्मेदवार ज्ञानबहादुर तामाङको उम्मेदवारी
परेको छ।

प्रतिक्रिया दिनुहोस्