अस्ट्रेलिया विश्वकपमा



 

सिड्नी, (एजेन्सी)
आगामी रुसमा हुने विश्वकपका लागि अस्ट्रेलिया ३१औं राष्ट्रका रूपमा छनोट भएको छ। अन्तरमहादेशीय छनोट खेलअन्तर्गत अस्ट्रेलियाले होन्डुरसलाई ३–१ ले हराउँदै विश्वकपमास्थान सुरक्षित गरेको हो। चौथो पटक विश्वकपमा छनोट भएको अस्ट्रेलियाका लागि मिल जेडिनाकले २ गोल गरे।

अर्जेन्टिना पराजित
मंगलबार राति भएको मैत्रीपूर्ण खेलमा नाइजेरियाले अर्जेन्टिनालाई ४–२ ले पराजित गरेको छ। अर्जेन्टिनासँग २–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै नाइजेरियाले खेलमा जितको नतिजा निकालेको हो। नाइजेरियाको जितमा आर्सेनलका २१ वर्षीय युवा फरवार्ड एलेक्स इवोबीले २ गोलको योगदान गरेका थिए।

लियोनल मेसी बिना नै मैदानमा उत्रेको अर्जेन्टिनाले खेलको २८औं मिनेटमा एभर बानेगा र ३६औं मिनेटमा सर्जियो अगुएरोको गोलमार्फत अग्रता दोब्बर गरेका थिए। तर लेस्टरका स्ट्राइकर केलेची इनाचोले पहिलो हाफको अन्त्य अघि नाइजेरियातर्फबाट पहिलो गोल फर्काए।
यसैगरी इवोबीले ५२औं मिनेटमा बराबरी गोल गरे भने २ मिनेटपछि ब्राइन इबोवुले नाइजेरियाको गोल संख्या ३ पुर्याए। इवोबुले नै ७३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै नाइजेरियाको जित सुनिश्चित गरे।

अगुएरोलाई अस्पताल लगियो खेलको ३६औं मिनेटमा अर्जेन्टिनाका लागि गोल गरेका अगुएरो दोस्रो हाफमा मैदान बाहिर नै रहे। उनलाई रिंगटा लागेका कारण निकालिएको अर्जेन्टिनी प्रशिक्षक जोर्ज साम्पोलीले खेलपछि बताए। अगुएरोलाई खेलपछि सावधानी अपनाउँदै अस्पताल लगिएको थियो। गत सेप्टेम्बरमा कार दुर्घटनामा परेका अगुएरोलाई सावधानी अपनाउँदै सामान्य जाँचका लागि अस्पताल लगिएको म्यानचेस्टर सिटीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्