मन्त्री बन्न मात्र उम्मेदवारी दिएको होइन – करिश्मा मानन्धर



लोकप्रिय अभिनेतृ तथा निर्मात्री करिश्मा मानन्धर ३ दशक जति फिल्म क्षेत्रमा बिताइसकेपछि राजनीतिमा सक्रिय भएकी छिन्। नयाँ शक्ति पार्टीमा आबद्ध अभिनेतृ मानन्धर सो पार्टीबाट आसन्न प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फको उम्मेदवार छिन्। पार्टीले आफ्नो नाम समानुपातिकतर्फ पहिलो नम्बरमै राखेपछि उत्साहित भएकी करिश्मा यतिखेर चुनाव प्रचारप्रसारका लागि देश दौडाहमा छिन्। यसैबारेमा उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छः

विदुर गिरी

नयाँ शक्ति पार्टीबाट समानुपातिकतर्फको उम्मेदवार हुनुभएको छ, माहोल कस्तो पाउनुभएको छ ?

खासमा शुरुदेखि नै कलाकार भएको नाताले पार्टीमा लागेपछि मैले विभिन्न माध्यमबाट धेरै थरी प्रतिक्रिया, गुनासो र आलोचना खेपेकी छु र आफ्ना कुराहरु पनि राख्दै आएकी छु। चुनाव प्रचारका लागि जहाँ गए पनि सकरात्मक प्रतिक्रिया पाइरहेकी छु। पार्टीमा कलाकारलाई जिम्मेवारी दिइँदैन, कलाकारलाई खाली प्रयोग मात्र गरिन्छ भन्ने सबैलाई परेको छ। तर, १⁄२ वर्ष पार्टीको काम गरेपछि मलाई यथेष्ट जिम्मेवारी दिइएको छ र त्यो जिम्मेवारी निर्वाह पनि गर्दै आएकी छु। अहिले पार्टीले समानुपातिकमा मेरो नाम १ नम्बरमा राखेको छ। समानुपातितर्फको उम्मेदवार भएकाले पार्टीभित्रका अरूका लागि पनि भोट माग्न गएको छु।

शुरुमा सबैलाई नयाँ पार्टी भएकाले के हो के हो भन्ने थियो। अहिले भने हामीले विश्वास जितिरहेका छौं। राजनीति भनेको सत्ता शक्तिको लागि हुँदोरहेछ। त्यसैले कतिपय पुरानो र पछि जोडिएको मानिस सत्ता शक्तिका लागि पार्टी छोडेर जाने पनि हुँदोरहेछ। तर, यसपाली बारा, पर्सा जाँदा डक्टर, इन्जिनियर तथा बौद्धिक क्षेत्रका अर्को एउटा नयाँ जमात पार्टीमा जोडिएको पाएँ। त्यसैले यो चुनाव र आफ्नो उम्मेदवारीलाई लिएर म आशावादी र सकरात्मक छु।

पार्टीबाट प्रत्यक्षतर्फ टिकट नपाउनुभएको हो या जोखिम मोल्न नचाहनुभएको ?

डाक्टर (डा. बाबुराम भट्टराई) साबले पहिले काठमाडौंबाट कुनै क्षेत्रबाट प्रत्यक्षमा उम्मेदवारी दिनुस् भन्नुभएको थियो। मैले पनि हुन्छ भन्दै प्रत्यक्षमै उठ्ने सोच बनाएको थिएँ। पछि उहाँले प्रत्यक्षमा उठ्दा त राम्रै हुन्थ्यो, तर तपाईं त सबैतिर जान सक्दा राम्रो हुन्छ। त्यसैले समानुपातिकमा बस्दा ठीक होला। जिल्ला–जिल्ला जाने वातावरण पनि बन्छ, फ्रि भएर बसेकै राम्रो भन्नुभएकाले समानुपातिकमा उम्मेदवारी दिएकी हुँ।

राजनीतिप्रति कसरी आकर्षित हुनुभयो ?

वास्तवमा मलाई पनि राजनीतिले अरू मानिसलाई जस्तै पहिले नै छोएको थियो। देश दुनियाँ पनि घुमियो। यो पार्टटाइम होइन, फुलटाइम जब हो, राग–अनुराग सबै यसैमा लाउनुपर्ने हुन्छ भन्ने ज्ञान भयो। शुरुमा म राजनीतिमा यसरी सक्रिय हुन्छु भनेर जोडिएको थिइनँ। डा. भट्टराईको विचार सुनेपछि उहाँलाई सघाउन मात्र पार्टी ज्वाइन गरेको थिएँ। पछि पार्टीमा अप्ठइेरा परिस्थिति सिर्जना हुँदै गएपछि म पनि कमिटेट हुँदै गएँ।

कलाकारले सांसदको उम्मेदवार बनेर भोट माग्दा कस्तो लाग्दो रहेछ ? जनताबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?

कलाकारलाई हेर्ने र राजनीतिज्ञलाई हेर्ने नजर विलकुलै फरक हुन्छ। कलाकारलाई स्वच्छ नजरले हेर्छन्, भोट माग्न जाँदा पनि सजिलै चिन्छन्। तर, तुरुन्तै किन त, केका लागि भन्ने प्रश्नहरु उठ्ने गर्छन्। म भन्ने गर्छु पहिले म मनोरञ्जन क्षेत्रको मात्र जिम्मेवारीमा थिएँ।

दर्शकलाई हलसम्म आउन रिक्वेस्ट गर्थें। अहिले भोट मागिरहेको छु, सांसद बन्नका लागि होइन। राष्ट्रिय पार्टी बनाउन र जनताको जीवन परिवर्तन गर्न ? यति छोटो राजनैतिक अभ्यासबाट जनताको जीवन परिवर्तन गर्न सम्भव होला र ?

छ, जुन विचार पार्टीको छ, त्यसले जनताको जीवन परिवर्तन गर्न सम्भव छ। मलाई पार्टीले पार्टीलाई ढाल्न गर्ने राजनीति, पार्टीभित्रकै आन्तरिक लुछाचँुडीको राजनीति, भागवण्डाको राजनीति गर्न आउँदैन। स्वच्छ राजनीति मात्र आउँछ। हाम्रो पार्टीको विचार भनेको स्थिर सरकार, त्यसका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति पद्धति हो। त्यो भयो भने देश र जनताको जीवन सुधार्न सम्भव छ।

कलाकारिता सजिलो कि राजनीति ?

काम त सबै गाह्रो नै हुन्छ। कलाकारिता क्रियटिभ काम हो, जसमा दुःख छ। तर, यसभित्रको आनन्द पनि आफ्नै प्रकारको छ। राजनीतिमा चाहिँ राम्रा–नराम्रा, नतरात्मक–सकरात्मक सबै पक्षसँग जुध्नुपर्छ। राजनीति शक्ति आर्जनका लागि हो। विभिन्न राजनीतिक क्रान्तिले परिवर्तन ल्यायो। अहिले आफ्नो शक्ति बढाउनका लागि राजनीति भइरहेको छ। यो पार्टी पनि शक्ति आर्जन गर्न चाहन्छ तर राष्ट्र परिवर्तनका लागि।

नयाँ शक्ति पार्टीलाई करिश्मा मानन्धर चाहिएजस्तो लाग्छ या करिश्मा मानन्धरलाई पार्टी ?

कसैलाई पनि चाहिएको जस्तो लाग्दैन। डा. भट्टराई आफैंमा ठूलो चिन्तक र विचारक हुनुहुन्छ, उहाँलाई करिश्मा मानन्धर चाहिँदैन। म स्टार हुँ, अलग कुरा हो, तर म पनि आम नागरिक हुँ। पार्टीभित्रबाट पनि राष्ट्रको एउटा कलाकार भएर चिनिन चाहन्छु। मैले यो केवल मेरो क्षेत्रको प्रतिनिधित्व गरेको हो। मैले भोलि गएर प्रतिनिधिसभामा बोल्ने भनेको पनि कलाकारिता र सिनेमा क्षेत्रकै लागि हो नि। एक्लो करिश्मा मानन्धरलाई पार्टी चाहिएर गएको होइन।

कहिलेकाहीं पार्टीले एउटा लोकप्रिय अभिनेतृलाई प्रयोग गरिरहेजस्तो महसुस पनि हुन्छ कि ?

म पार्टीको क्रियाकलापमा सरिक भएपछि आफूलाई लोकप्रिय कलाकार मान्दिनँ। कतिपय शुभचिन्तकले सोसल मिडियामा पार्टीले प्रयोग गरेको भनिरहँदा कहिलेकाहीं हो कि जस्तो लाग्छ। तर, पार्टीले मलाई बाँधेर राखेको त होइन नि। जिम्मेवारी लिएर अगाडि बढिरहेको छु। फेरि म पार्टीको केवल साधारण सदस्य होइन, संस्थापकमध्येकै हुँ। पार्टीमा म शुरुदेखिकै एक हिस्साको रूपमा छु।

शुरूमा त तपाईं नयाँ शक्ति पार्टीमा जान चाहिरहनुभएको थिएन, पछि कसरी यस पार्टीमा आबद्ध हुनुभयो ?

म सत्य बोल्ने मान्छे। अरू पार्टीबाट कुरा नभएको पनि होइन, तर अरू पार्टीसँग विचार मिलेन। मलाई यसरी पार्टीमा प्रत्यक्षरूपमा आउँछु भन्ने पनि थिएन। तर, जनयुद्धकालददेखि डा. भट्टराईप्रति आस्था थियो। उहाँ प्रधानमन्त्री हुँदा पनि केही गर्नुस् है भनेर फुलगुच्छा लिएर शुभकामना दिन गएको थिएँ। उहाँले पार्टी छोड्नुअगाडिका अन्तरक्रियाहरुमा पनि सरिक भएँ। स्थिर सरकार र प्रत्यक्ष कार्यकारी राष्ट्रपतिलगायतका परिवर्तनकारी उहाँका केही नयाँ सोचले मलाई आकृष्ट गर्यो। नयाँ पार्टी खोलेपछि जसरी उहाँप्रति विभिन्न टीका टिप्पणी भए, जसरी उहाँजस्तो सिंगो जीवन नै राजनीतिमा बिताएको मानिसलाई पागल भनियो। त्यसबाट उहाँलाई साथ दिँदा बल पुग्छ भने किन नगर्ने भनेर म पार्टीमा लागें। शुरुमा स्टार कलाकार भएको नाताले केही सपोर्टमात्र गर्छु भन्ने थियो। तर, कलाकार भएकै कारणले ममाथि जसरी तीखो प्रहार हुन थाल्यो, त्यसले मलाई सक्रिय भएर लाग्न बल मिल्यो। त्यस्ता आलोचना र प्रहारले नै मलाई झनै ड्राइभ गर्दै लगेको छ।

राजनीति गरेर कहाँसम्म पुगिएला भन्ने लाग्छ ?

यो डायनामिक प्रोसेस हो, निरन्तर चलिरहन्छ। यसको इन्ड नै हुँदैन। माओवादी पार्टी १७ जनाबाट शुरु भएको थियो रे, गणतन्त्रसम्म पुग्यो। नयाँ शक्ति पनि यो विचार जन्मेकै हो। यस्तै कुराले पार्टीमा आबद्ध हुन पुगें।

राजनीतिबाट मन्त्री, प्रधानमन्त्री बन्नेसम्म पनि सोच्नुभएको छ कि ?

सांसद, मन्त्री प्रधानमन्त्री मात्र मेरो चाहना होइन। त्यसका लागि उम्मेदवारी दिएको होइन। त्योभन्दा पनि म खाली राष्ट्र परिर्वतनका लागि राजनीतिमा लागेको हुँ। देशको समृद्धि होस्, गरिबी हटोस् भन्ने मेरो चाहना हो।

प्रतिनिधिसभामा पुगिहाल्नुभयो भने चलचित्र क्षेत्रका लागि चाहिँ के गर्नुहुन्छ ?

त्यहाँ पुगेपछि मेरो स्थान के हुन्छ, त्यसमा पनि भर पर्छ। कलासँग जोडिएका सबै विधाको विकास मेरो पहिलो प्राथमिकातामा हुनेछ। कला संस्कृति र खेलले नै देशमो पहिचान गराउँछ, अर्को कुरा म पनि यही क्षेत्रको भएकाले मेरो पहिलो प्राथमिकता नै कलाकाको विविधि विधा पर्न जान्छ। त्यसका लागि केही न केही गरिन्छ नै, अहिलेचाहिँ समग्र राष्ट्रको हित सोचेर अगाडि बढिरहेको छु।

राजनीतिमा लाग्ने विषयमा विनोदजी (निर्माता तथा अभिनेता पति विनोद मानन्धर) ले कत्तिको सघाइरहनुभएको छ ?

विनोदलाई शुरुमा नौलो लागेको रहेछ, त्यसैलै बुझेर त गरेको हो भनेर सोध्नुभयो। उहाँलाई त जहिले म बच्चाजस्तो लाग्छ नि। अहिले सिरियसली लागेको रहेछ भन्ने भएपछि फाइनान्सियल्ली र भावनात्मक सबै हिसाबले सपोर्ट गरिरहनुभएको छ। कविता (छोरी) लाई पनि अचम्म लागेको रहेछ। पछि बुझेपछि सबै कुरामा हेल्प गर्छिन्।

प्रतिक्रिया दिनुहोस्