अनीलको अन्तर्राष्ट्रिय करिअरमा पूर्णविराम



नेपाल समाचारपत्र
काठमाडौं
फिलिपिन्सविरुद्ध ८१औं मिनेटमा मैदानमा उत्रेका अनील गुरुङले अन्तर्राष्ट्रिय करिअर समाप्त गरेका छन्। एएफसी एसियन कप छनोटअन्तर्गत मंगलबार नेपालले फिलिपिन्ससँग गोलरहित बराबरी खेलेको थियो। पहिलो रोजाइमा नपरेको अनीललाई अन्तिममा मात्रै खेल्न मौका दियो। सुजल श्रेष्ठलाई प्रतिस्थापन गरेका अनीलको ५०औं अन्तर्राष्ट्रिय खेल पनि थियो। योसँगै उनको ५० खेल खेलेर अन्तर्राष्ट्रिय करिअरबाट सन्यास लिने धोको पनि पूरा भएको छ।

नेपाली टोलीका कप्तान अनीलले सन् २००७ मा विश्वकप छनोटअन्तर्गत ओमानविरुद्ध अन्तर्राष्ट्रिय खेलबाट करिअर शुरू गरेका थिए। करिब एक दशक अन्तर्राष्ट्रिय फुटबलमा बिताएका अनीलको अन्तिम खेल त्यति स्वादिलो भएन।

आफनो अन्तिम खेलमा जित पाउने आशा गरे पनि त्यो पूरा भएन। अनील नेपाली राष्ट्रिय टोलीका १५औं कप्तान बनेका थिए। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा अनीललाई आफ्ना साथी खेलाडीले उचालेर सम्मान गरेका थिए। त्यस्तै एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले कोट लगाइदिएर अनीललाई सम्मानपत्रका साथ औपचारिक रूपमा सम्मान गरेका थिए। त्यस्तै एन्फाका अन्य पदाधिकारी तथा सदस्यले उनलाई माला, खादा लगाइदिएका थिए।

प्रतिक्रिया दिनुहोस्