गरिब देशमा चुनाव आशाको केन्द्र



पेशल आचार्य

नेपालमा चुनाव नै सबै समस्याको समाधान हो’ भन्ने दृढ मानसिकता अहिले नेता, कार्यकर्ता र जनतामा रहेको देखिन्छ। आसन्न चुनावले प्रदेश र केन्द्रीय संसद्का प्रत्यक्ष र समानुपातिकतर्फका सदस्यहरूको निर्वाचनका माध्यमबाट छनोट गर्ने भएकाले स्थानीय तहको निर्वाचनमा पार्टीहरूले पाएको मतलाई केन्द्रमा राखेर जोड, घटाउ, गुणन र भाग गरी दर्ता भएका सबै पार्टीहरू चुनावमा होमिए। तर परिणाम हात नपर्दासम्म कसले कति संख्यामा जित्ने हुन्, त्यो यसै भन्न सकिने स्थिति छैन।

‘गरिब देशको चुनाव र जूवाको खाल एकै हो।’ बौद्धिकहरू यसरी पनि विश्लेषण गर्दै छन्। जहाँ जित्ने भनिएको मानिस कहिले हार्छ र हार्ने भनिएको मानिसले कहिलेकाहीँ जित्छ। हिजोको जमानाका जनता अहिले छैनन्। सबैमा परिवर्तन आएको छ। बुद्धिको विकास भएको छ। अहिले जनता जनार्दन भएका छन्। तिनीहरू आफ्नो मताधिकारको भरपूर प्रयोग गर्न सक्षम छन्। गाउँ–ठाउँ र कुनाकाप्चामा समेत अहिले सूचना क्रान्तिले उभार ल्याएको जमाना छ। वैदेशिक रोगजार, रेडियो, टेलिभिजन र एफएमका माध्यमले मानिसमा चेतनाको घाम लागिसकेको छ। कुन पार्टी ठीक र कुन बेठीक भन्ने कुरा अहिले कसैले कसैलाई बुझाउनुपर्दैन। दिन दुगुना रात चौगुना नेपाली जनताको मानसिकतामा अकाशिँदो परिवर्तन भैसकेको छ।

एकातिर वाम गठबन्धन र अर्कातिर लोकतान्त्रिक गठबन्धनले मुलुकलाई सोझोरूपमा दुई ध्रुवमा विभाजित गरेको छ। समाजवादको हौवा दिएर वाम गठबन्धनमा लाग्नेहरूले देशैभरि चर्को कुरा गरिरहेका छन् भने सो तर्कका विपक्षमा लोकतान्त्रिक गठबन्धनमा समेटिएकाहरूले सत्ताकब्जाको वैधानिकरूपको विरोध पनि गरिरहेका छन्। आगे आगे देखो होता है क्या ? भन्ने हिन्दी उखानको सार्थकता तबसम्म हुँदैन जबसम्म चुनावी परिणाम जनताका सामु आउँदैन।

यसका पनि फाइदा र बेफाइदा दुवै चित्र रहेका छन्। फाइदा यस मानेमा छ कि अब नेपालमा साना र खुजुरे पार्टीहरूको राजनीति लगभग समाप्त हुन्छ। मुलुकमा एक चुनावमा एउटा गठबन्धनले बहुमत प्राप्त गरेर पाँच वर्षसम्म शासन गर्ने मौका पाउँछ भने अर्को गठबन्धन प्रतिपक्षमा बस्नुपर्ने हुन्छ। गुण र दोषका आधारमा मतदाताले आफूलाई मन पर्ने पार्टीमा मतदान गर्न पाउनेछन्। विदेशतिर पनि यस्तै प्रकारको राजनीति चलायमान हुन्छ। यहाँ धेरै पार्टी भएरै जनताले यति विधि दुःख पाएका हुन्। गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र सुरक्षाका लागि रातदिन चिन्तित जनतालाई चुनावमा हुने रौसे भाषण, विकासका हावा पुरिया, बलियाबाङ्गाको राइँदाइँ पटक्कै मन पर्दैन।

त्यो कुरा उनीहरूले चुनावी मतपत्रहरूमा देखाएका प्रतिक्रियाले पनि स्पष्ट पार्दछन्। नेतालाई करेक्सन गर्ने माध्यम भनेकै चुनाव हो र त्यो आवधिक हुनुपर्छ। नेतालाई फाल्ने र स्थापित गर्ने काम पनि चुनावले गर्छ। अहिले नेपालमा चुनावी माहौल एकप्रकारले पर्वजस्तै भएको छ। स्थानीय तहको चुनाव पहिलोचोटि भयो। जसले स्थानीय तहमा जनताले आफ्ना प्रतिनिधि पाए। कामकाज सहज हुन्छ भन्ने मानसिकता बलियो भयो। तर सोचे जति परिणति अझै प्राप्त भएको छैन। स्थानीय तहमा कर्मचारी व्यवस्थापन अहिले ठूलो चुनौती भएर गएको छ।

बलशाली, वैभवशाली र कार्यकर्ता पङ्क्ति दह्रो भएको एमालेसँग माओवादीको चुनावी गठबन्धनको कुरा मिलेपछि भने कांग्रेस एकप्रकारले देशव्यापीरूपमा हतास भएको अवस्था देखिन्छ। उसले एमाले र माओवादीको चुनावी गठबन्धनबाट आफ्नो पक्षमा नतिजा फुत्काउनका लागि अहोरात्र कसरत र अनेक राजनीतिक तिकडमबाजी गर्नुपर्ने देखिएको छ। कांग्रेसमै पनि देखिएको उम्मेदवारी मनोनयनको खिचलो र दुई ठूला वाम दलहरूको चुनावी गठजोडले गर्दा साना र वामपन्थमा झुकाव राख्ने दलहरूको पनि चुनावी समीकरण वामतर्फ घनिभूतरूपमा देखिएकाले अहिलेको चुनाव २०५४ सालको वामदेव गृहमन्त्री भएका बेला भएको स्थानीय चुनावजस्तो नहोला भन्न सकिने स्थिति छैन। कांग्रेस लोकतन्त्रमा विश्वास राख्ने पार्टी हो। उसले पनि विगतमा लामो समयसम्म चुनाव र सत्ता साझेदारीमा देश सञ्चालनको अख्तियारी पाएको हो।

उसले आफ्ना शासनावस्था क्रियाशील भएका अवस्थामा देश र जनताका लागि गरेका सुकार्यहरू प्रभावकारी र देखाउन सक्ने गरी भएका छन्। तिनीहरूलाई अबको चुनावमा क्यास गर्न सक्नुपर्नेछ। कांग्रेसी नेताहरूमा चुनावी एजेन्डा तय गर्ने मामलामा केही कमी कमजोरी भएका छन्। राजनीतिकरूपमा उसले भने जति एजेन्डाको तय गर्न नसक्नुका पछि उसका कार्यकर्तामा छाएको निराशा नै हो।

भूकम्प पुनर्निर्माण आयोजनामा कांग्रेसका सीइँओ डा. गोविन्द पोखरेल छँदाखाँदाको सीईओ छाडेर अहिले प्युठानबाट कांग्रेसका तर्फबाट प्रत्यासी बन्दै छन्। उनले ऐनकानुनले दिएको अख्तियारी प्रयोग गरेर भूकम्पपीडितहरूलाई दोस्रो र तेस्रो किस्ता अनुदान सहयोगमा फास्ट ट्रयाकमा गएर काम गरेका भए उनी लगायत कांग्रेस पार्टी नै हाइहाइ हुने स्थिति विद्यमान थियो तर त्यो हुन सकेन। कांग्रेसले त्यसमा बुद्धि नपुर्याएकै हो।

वाम गठबन्धनबाट उम्मेदवारी दिएका उम्मेदवारहरूका विरुद्धमा देशैभरि उठेका विद्रोही र बागी उम्मेदवारको कडा र निर्वाचनमा वाम उम्मेदवारलाई भोट नहाल्ने स्थिति देखियो भने केही प्रभाव कांग्रेसका पक्षमा पर्ला। त्यो चुनावी रस्साकस्सी बढ्दै जाँदा देखिने कुरा हो। अहिले भने प्रजातान्त्रिक गठबन्धन केही कमजोर भएको पाइँदै छ। शहरी क्षेत्रका मतदाताहरूलाई विवेकशील साझा पार्टीका उम्मेदवारहरूले नलोभ्याऊलान् भन्न सकिँदैन। जसरी दिल्ली विधानसभाको चुनावमा एकताका अरबिन्द केजरीवालको आम आदमी पार्टीले सत्तारुढ बीजेपी र प्रतिपक्षी कांग्रेस पार्टीलाई सर्मनाक हार हराउँदै आफूले दुई तिहाइ बहुमत जितेर दिल्लीमा राज गरिरहेको स्थिति छ, त्यो अवस्थालाई नेपाली राजनीतिमा पनि विवेकशील साझा पार्टीले आक्रामकरूपका चुनावी सभा र आगामी कार्यक्रमहरूको तेरिज प्रस्तुत गरेर लैजान सक्नुपर्ने अवस्था आएको छ।

नेपालमा अहिले भएको स्थिति के हो भने, वाम गठबन्धनका नाममा जब कम्युनिस्टहरू सत्ता हत्याउने रणनीतिमा लागे, त्यसपछि कांग्रेसी वृत्तमा एकाएक खैलाबैला मच्चिएको हो। कांग्रेसले पनि विजय गच्छदार र केही खुजुरे पार्टीलाई आफ्ना साथमा चुनावमा लैजाने रणनीति बनाएको छ। गोरखाबाट नारायणकाजी श्रेष्ठ र डा. बाबुराम भट्टराईजस्ता हेभिवेटको टकराव र देशैभरि देखिएको कांग्रेस र वाम गठबन्धनमा हुने रस्साकस्सीलाई जनताले बडो रुचिका साथ हेरिरहेका छन्।

तराईमा राजपा, उपेन्द्र यादव र अन्य केही साना दलले पनि कांग्रेसका पक्षमा अभिमत राख्ने जमर्को नदेखाउने स्थिति देखिएपछि अब भने वाम गठबन्धन क्रमशः बलियो हुँदै जाने स्थिति देखियो। यो स्थितिले अब हुने चुनावमा वाम गठबन्धनले आफ्ना पक्षमा नतिजाको सोलोढोलो संख्या र प्रतिशत ल्यायो र उसले विकास निर्माणका पक्षमा लहर ल्यायो भने त्यसको राप र तापले कांग्रेसमा अझ केही वर्ष जीतको खडेरी पर्न सक्छ। हुन त देशले संघीयता कत्तिको थेग्न सक्छ या सक्दैन भन्ने स्थिति पनि विद्यमान छ।

संविधान कार्यान्वयनका सवालमा अहिले यतिखेर चुनावबाट संघीयता क्रियाशीलताका लागि वामहरू सक्रिय भएर लागेको देखियो। यो अवस्थालाई कांग्रेसले पनि आफ्नो रणनीतिलाई अझ समय सान्दर्भिक बनाएर चुनावको फेस गर्नुमा नै उसको भलाइ छ, न कि चुनावबाट भाग्ने परिस्थिति बनाउनु। सिस्टम रहिरह्यो भने चुनाव घुमिफिरि फेरि–फेरि पनि आइरहन्छ। नेताले गर्ने भनेको कुशल नेतृत्व हो। बाटो देखाउने हो। अहिलेको राजनीति आफैँमा बाटो बिराएको पथिकजस्तो भएको छ। दर्शन र विचारको राजनीतिमा खाटा बसेको छ। कहिले त्यो खाटा फुटेर फेरि घाउ बल्झिन्छ, पत्तोफाँट छैन।
जनताले अब विचार गर्नुपर्ने दिन आयो। विचारको राजनीतिलाई अझ सपाट बनाउन मतदानका बेला मतपत्र लिएर सोच्ने र आफूलाई मन परेको पार्टीलाई भन्दा व्यक्तिलाई चुन्नुपर्छ। किनकि सबै पार्टीहरू असल मानिसलाई टिकट दिनबाट चुकेकै छन्। धनवादी र डनवादीहरू चुनावमा मसिहा बनेर निस्किएकाले जनताको मन केही डराएको छ। सिस्टमलाई बचाइराख्न सकियो भने भोलि–भोलिका चुनावमा फेरि असल मानिसलाई मत हाल्न पाउने दिन पनि आउनेछन्। अहिलेको मुख्य चिन्ता भनेको सिस्टम बचाउने हो, नकि भ्रष्ट नेतालाई फेरि अकूत अधिकारसहित पाँच वर्ष शासन गर्न दिने अख्तियार दिनु हो।

प्रतिक्रिया दिनुहोस्