मतदाता जोड–घटाउ गर्दै ‘घरखेत’ मा उम्मेदवार, गठबन्धनलाई मत जोगाउन हम्मे–हम्मे



मोतीराम तिमल्सिना, काभ्रे

दुई वटा प्रतिनिधिसभा र चार वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काभ्रेपलाञ्चोक जिल्लामा उम्मेदवारी दर्तासँगै चुनावी माहोल ह्वात्तै बढेको छ। उम्मेदवारहरु मतदाताको घरदैलोमा तालिका बनाएरै पुग्न थालेका छन्।

२०४८ र २०५१ सालको आम निर्वाचनमा वामपन्थी किल्लाका रूपमा चिनिएको काभ्रेपलाञ्चोक जिल्लामा २०५६ सालमा पहिलोपटक नेपाली कांग्रेसले दुई सिट विजय हासिल गरेको थियो। कांग्रेसका राजेन्द्र खरेल र शिव हुमागार्इं सांसद भए भने तीनवटै निर्वाचन क्षेत्रमा विजय हासिल गरेको नेकपा एमालेले एक सिटमा चित्त बुझायो। २०४८ सालमा वाम मोर्चासँग तालमेल गरेको नेकपा एमाले २०६४ सालमा दोस्रो पार्टी बन्न पुग्यो। ४ वटा निर्वाचन क्षेत्र रहेको काभ्रेपलाञ्चोक जिल्लामा तत्कालीन नेकपा माओवादीले ३ वटा निर्वाचन क्षेत्रमा विजय हासिल गर्यो। नेपाली कांग्रेस शून्य भयो। नेकपा एमालेले बाग्मती अञ्चलभित्र काभ्रेको निर्वाचन क्षेत्र नम्बर ३ मा विजय हासिल गरेर चर्चा कमायो। तर, समानुपातिक मतमा माओवादी पहिलो, एमाले दोस्रो र नेपाली कांग्रेस तेस्रो भए।

२०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक निर्वाचनमा एमाले पहिलो भयो। ४ वटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले २ वटा र एमालेले २ वटा निर्वाचन क्षेत्रमा विजय हासिल गरे। नेपाली कांग्रेस मतका आधारमा दोस्रो भयो। २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले १३ मध्ये ४ वटा स्थानीय तहमा विजय हासिल गर्यो भने नेकपा एमालेले ५ नगरपालिकासहित ७ वटा स्थानीय तहमा विजय हासिल गरेको थियो। नेकपा माओवादी केन्द्रले २ वटा स्थानीय तहमा विजय हासिल गर्यो। यो मत परिणामअनुसार एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो बन्यो। न्यून मतले एमालेले पाँचखाल र तेमाल नगरपालिकामा पराजय ब्यहोर्नुपर्यो भने बेथाञ्चोक गाउँपालिकाम एमाले निल बन्यो। माओवादी केन्द्रले दलित महिला सदस्य एक जना विजयी गराएर निल हुनबाट बच्यो। एमाले एक्लैले ६८ हजार ६ सय ४७ मत प्राप्त गरेको थियो भने नेपाली कांग्रेसले ६३ हजार १ सय ३९ मत प्राप्त गरेको थियो। माओवादी केन्द्रले ३० हजार ४ सय ४८ मत प्राप्त गरेको थियो। वाम गठबन्धनका बारेमा दुवैको मत जोड्दा वाम गठबन्धन झण्डै ३६ हजार मतले अगाडि छ। नयाँ मतदाता ३० हजारभन्दा धेरै थपिएका छन्। उनीहरुको मतको विश्लेषण दलहरुले गर्न सकेका छैनन्।

घरखेतमा उम्मेदवार
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा ६७हजार ८ सय ९९ पुरुष, ६५ हजार ८ सय ७५ महिला गरी १ लाख ३३ हजार ७ सय ५५ रहेका छन्। गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका गंगाबहादुर दोङ बमध्वज र नेपाली कांग्रेसका तीर्थ लामाबीच प्रतिस्पर्धा हुनेछ। उनीहरुलगायत १५ जनाको उम्मेदवारी क्षेत्र नम्बर १ मा दर्ता भएको छ। एजेन्डा बोकेर सबै उम्मेदवार घर–घर पुगेका छन्।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा ६८ हजार ९ सय ९० पुरुष र ६९ हजार ५ सय २२ महिला गरी १ लाख ३८ हजार ५ सय १२ मतदाता रहेका छन्। गठबन्धनबाट एमालेका गोकुल बास्कोटा र नेपाली कांग्रेसका मधु आचार्य प्रतिस्पर्धामा छन्। अघिल्लोपटक कांग्रेसका कञ्चनचन्द्र वादेबाट पराजित वादे योपटक गठबन्धन बलियो भएसँगै बास्कोटालाई वाकओभर दिएर प्रदेशतिर झरेका छन्। उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट एमालेका वसुन्धरा हुमागार्इं उम्मेदवार छन्। हुमागाईं पूर्वगाविस अध्यक्ष हुन् भने वादे पूर्वराज्यमन्त्री। बास्कोटा र आचार्यको प्रतिस्पर्धामा बास्कोटा मत र प्रभावका हिसावले अघि देखिएका छन्। सोही क्षेत्रमा नेपाली कांग्रेसका सुन्दरमणि आचार्य र एमालेका लक्ष्मण लम्सालबीच प्रतिस्पर्धा हुनेछ। नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ प्रति आशा गरेको छ। सोही क्षेत्रमा तीर्थ लामा र प्रदेशमा चर्चित डन गुन्डा नाइके गणेश लामा र कान्तिपुर सहकारीका अध्यक्ष सीबी लामा उम्मेदवार छन्। गठबन्धनका तर्फबाट रत्न ढकाल र निर्माण व्यवसायी संघका अध्यक्ष तथा युवा संघका केन्द्रीय उपाध्यक्ष चन्द्र लामा प्रतिस्पर्धी छन्।
मतको जोड–घटाउ
वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट पहिलो शक्ति बनेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँगै थपिएको राष्ट्रिय जनमोर्चाले काभ्रेपलाञ्चोक जिल्लालाई वामशक्तिको किल्ला बनाउने उद्घोष गरेको छ। नेपाली कांग्रेसलगायतका दलहरु किल्ला भत्काउने अभियानमा छन्। एमालेले स्थानीय तहको निर्वाचनमा ३ सय ३१ सिट प्राप्त गरेको छ भने तेस्रो शक्तिका रूपमा रहेको नेकपा माओवादीले १३ वटा स्थानी तहमा १ सय २७ सिट प्राप्त गरेको छ। एमाले र माओवादी केन्द्रको जम्मा सिट ४ सय ५८ पुग्यो। दोस्रो भएको नेपाली कांग्रेसले २ सय २२ सिट प्राप्त गरेको छ। स्थानीय तहमा प्राप्त मतमध्ये सबैभन्दा धेरै नेकपा एमालेले प्राप्त गरेको थियो।

एमालेले जिल्लामा ६८ हजार ६ सय ४७ मत प्राप्त गर्यो भने नेकपा माओवादी केन्द्रले ३० हजार ४ सय ४८ मत प्राप्त गरेको थियो। त्यस्तै नेपाली कांग्रेसले ६३ हजार १ सय ३९ मत प्राप्त गरेको थियो। वामपन्थी तालेमलमा दुई दलको मत जोड्दा ९९ हजार ९५ मत हुन जान्छ। जनमोर्चा नेपालको मत अझै जोडिएको छैन। नयाँ मतदातासमेतको मत जोड्दा वाम गठबन्धनमा झन्डै सवा लाख मत खस्ने अनुमान गरिन्छ।

नेपाली कांग्रेसको ६३ हजार १ सय ३९ मत प्राप्त गरेको छ। केही मत नयाँ थपिँदा र फोरम, राप्रपालगायतका दलहरुले मत दिँदा नेपाली कांग्रेसले पनि झन्डै ७५ हजार मत पुर्याउने अनुमान गरिएको छ। वाम गठबन्धनभित्र खटपट भएन र अन्तरघात नहुँदा ४० हजार मत फरक पर्ने अनुमान गरिएको छ।

मतदाता थपिए
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जिल्लामा २ लाख ७२ हजार २ सय ८७ मतदाताले मतदान गर्न पाउने भएका छन्। यो संख्या स्थानीय तहको निर्वाचनभन्दा ४१ हजार ४ सय ३८ धेरै हो। जिल्लामा रहेका कुल मतदातामध्ये महिला १ लाख ३५ हजार ३ सय ९७, पुरुष मतदाता १ लाख ३६ हजार ८ सय ८९ र तेस्रो लिंगी १ जना रहेका छन्। महिला मतदाताभन्दा पुरुष मतदाताको संख्या १ हजार ४ सय ९२ ले मात्रै धेरै छ। जिल्ला निर्वाचन कार्यालय काभ्रेका निर्वाचन अधिकारी मधुकर पोखरेलका अनुसार जिल्लामा फोटोसहितको मतदाता नामावलीमा फोटो खिचाउनेहरुको संख्या जिल्लाभित्रको २ लाख ७१ हजार ८ सय ४१, जिल्लाबाहिरको ८ सय ४० रहेको थियो। स्थानीय तहको निर्वाचनमा २ लाख ३० हजार ८ सय ४९ मतदाताको नामावली प्रकाशन भएको थियो। प्रतिनिधिसभाका लागि दुई वटा मात्रै निर्वाचन क्षेत्र रहेको काभ्रेपलाञ्चोक जिल्लामा सबैभन्दा धेरै मतदाता दुई नम्बर क्षेत्रमा रहेको छ। जसमा ६८ हजार ९ सय ९० पुरुष, ६९ हजार ५ सय २२ महिला मतदाता रहेका छन्। जम्मा मतदाताको संख्या १ लाख ३८ हजार ५ सय १२ रहेको छ।

क्षेत्र नम्बर १ मा ६७ हजार ८ सय ९९ पुरुष, ६५ हजार ८ सय ७५ महिला गरी १ लाख ३३ हजार ७ सय ५५ जना मतदाता रहेका छन्।
प्रदेशसभामा सबैभन्दा धेरै पुरुष ३५ हजार १ सय ४४, महिला ३६ हजार १ सय ६८ गरी जम्मा मतदाता ७१ हजार ३ सय १२ रहेका छन्। सबैभन्दा कम क्षेत्र नम्बर १ मा पुरुष ३४ हजार २४, महिला ३२ हजार २ सय ५९ गरी जम्मा मतदाता ६६ हजार २ सय ८३ रहेका छन्। क्षेत्र नम्बर २ मा पुरुष ३३ हजार ८ सय ७५, महिला ३३ हजार ६ सय १६, तेस्रोलिंगी १ गरी जम्मा मतदाता ६७ हजार ४ सय ९२ जना रहेका छन्। क्षेत्र नम्बर ३ मा पुरुष ३३ हजार ८ सय ४६, महिला ३३ हजार ३ सय ५४ गरी जम्मा मतदाता ६७ हजार २ सय रहेका छन्।

इसाई धर्मावलम्बीको मत सुरक्षित गर्दै राजपाका उम्मेदवार
तराई केन्द्रित राष्ट्रिय जनता पार्टी (राजपा) का प्रतिनिधिसभातर्फ काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार प्रदीपकुमार प्रजापति इसाई धर्मालम्बीको मत सुरक्षित गर्न लागिपरेका छन्।

बनेपा जागृति मण्डलीका पास्टर तथा काभ्रे इसाई समाजका सदस्य प्रजापति आफ्नो क्षेत्रमा मात्र संगठितरूपमा ८८ वटा चर्च रहेको र यी चर्चहरुमा १० हजारभन्दा बढी विश्वासी रहेको भन्दै आफू इसाई धर्मावलम्बीको मत सुरक्षित गर्न लागेको बताउनुभएको छ। काभ्रे जिल्लाभरि कुल १ सय २२ वटा चर्च रहे पनि आफ्नो क्षेत्रमा ८८ वटा संगठित र संगठित हुन बाँकी ७ वटा गरी ९५ वटा चर्च रहेको उहाँको भनाइ थियो।
काभ्रे क्षेत्र नम्बर २ अन्तर्गत बनेपा नगरपालिका, धुलिखेल नगरपालिका वडा नम्बर १ देखि ७ सम्म, पाँचखाल नगरपालिका, पनौती नगरपालिकाको वडा नं. १, २, ३, ११ र १२, मण्डन देउपुर नगरपालिका, बेथानचोक गाउँपालिकाको वडा नं. १ देख ५ र ७ देखि ११ तथा भुम्लु गाउँपालिका परेको छ। जसमध्ये बनेपामा २४ वटा चर्च छन् भने धुलिखेलमा ८ वटा, पाँचखालमा १५ वटा, पनौतीमा ६ वटा, मण्डनदेउपुरमा १५ वटा, बेथानचोकमा १० वटा र भुम्लुमा १० वटा चर्च रहेको छ।

प्रजापति सदस्य रहेको काभ्रे इसाई समाजअन्तर्गत पनि छुट्टै १९ वटा चर्च रहेको राजपाका उम्मेदवार प्रजापति बताउँछन्। काभ्रे क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस र वाम गठबन्धनबीच नै चुनावी प्रतिस्पर्धा हुने देखिएको बेला तपाईंले चुनाव जित्ने आधार के हो भनी नेपाल समाचारपत्रले सोधेको प्रश्नमा प्रजापतिले भन्नुभयो– ‘मलाई सबैभन्दा धेरै मत इसाई धर्मावलम्बीबाट नै आउँछ।’ आफू बनेपाको स्थानीयबासी भएको नाताले पनि बनेपा नगरबाट पनि आफूलाई प्रयाप्त मत आउने उहाँको भनाइ थियो।

इसाई धर्मावलम्बीका लागि प्रमुख आवश्यक्ता पूरा गर्न दफन गर्ने ठाउँ (दाह संस्कार) उपलब्ध गराउनु रहेको भन्दै आफू यही एजेन्डा लिएर इसाई धर्मावलम्बीसँग मत माग्न गएको राजपा नेता प्रजापति बताउनुहुन्छ। विगत १५ वर्षदेखि आफू इसाई धर्ममा लागेको भन्दै उहाँले प्रदेश नम्बर ३ को राजधानी काभ्रेमा बनाउने र संविधानमा धर्म निरपेक्षताको शब्द हटाएर धार्मिक स्वतन्त्रता शब्द राख्ने आफ्नो लक्ष्य रहेको प्रजापतिले बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्