यू–१९ एसिया कप क्रिकेटः मलेसियाबिरूद्ध नेपालको शानदार जित



काठमाडौँ । १९ वर्षमुनीको एसिसी एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले शानदार जित हात पारेको छ । नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ५ दशमलब ३ ओभरमा २ विकेटको क्षतिमा पुरा गरेको हो । नेपालको जितमा ओपनिङमा आएका अनिलकुमार साहले नटआउट २६ रन जोडे । उनले १५ बलमा १ चौका र ३ छक्का हाने । भीम सार्कीले नटआउट ३ रन जोडे । कप्तान दीपेन्द्रसिंह ऐरी ३ बलमा १२ रन जोडेर आउट भए । मलेसियाको इनिङ ध्वस्त पार्न नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । साहब अलाम र कप्तान दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए भने अनिलकुमार साहले १ विकेट लिए । नेपालले टस जितेर मलेसियालाई पहिले ब्याटिङको निम्तो दिएको थियो। खेल वर्षाले प्रभावित भएपछि २४ ओभरमा घटाइएको थियो । समूह ‘ए’ कै अर्को खेलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ । खेलको नजितापछि नेपालको सेमिफाइनल यात्रा तय हुनेछ । बंगलादेश विजयी भए नेपाल सिधै सेमिफाइनल पुग्नेछ । भारत विजयी भएमा रनरेटको आधरमा सेमिफाइनल पुग्ने टिमको टुंगो लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्