अनिल अन्तिम खेल खेल्दै



प्रिम्याच पत्रकार सम्मेलनमा बोल्दै नेपालका कप्तान अनिल गुरुङ (बाँया) साथमा नेपाली टोलीका प्रशिक्षक कोजी। तस्वीरः उजोल डंगोल

 

नेपाल समाचारपत्र
काठमाडौं
एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले आज फिलिपिन्सविरुद्ध दोस्रो लेगको खेल खेल्दै छ।

यो खेल नेपालको आफ्नो समूहको पाँचौं खेल हुनेछ। यसअगाडि नेपालले चार खेलमध्ये तीन खेलमा हार र एक खेल बराबरी खेलेको थियो। नेपाल समूह एफमा पुछारमा रहेको छ। नेपालसँग एक अंक मात्रै रहेकोले आगामी एसियन कप २०१८ मा छनोट हुन पनि मुस्किल भइसकेको छ। फिलिपिन्ससँग हुने खेल नेपालको प्रतिष्ठाका लागि जित्नै पर्ने दबाब छ।

यसअघि नेपालले आफनै घरेलु मैदानमा खेलिएका खेलहरूमा पनि फाइदा उठाउन सकेन। ताजकिस्तानविरुद्ध २–१ ले हारेको र यमनसँग बराबरी खेलेको नराम्रो नतिजा नेपालको साथ रहेको छ। यसैले पनि नेपालले यसपटक अनिल गुरुङको अन्तिम अन्तर्राष्ट्रिय खेलमा जितभन्दा कम नतिजा ल्याउन पनि हुँदैन। अनिलले ५०औं अन्तर्राष्ट्रिय खेल खेलेर संन्यास लिने पहिल्यै बताइसकेका छन्। उनले एन्फामा भएको प्रि म्याच पत्रकार सम्मेलनमा फिलिपिन्सलाई हराउन सकिने दाबी गरेका छन्। उनले भने– ‘फिलिपिन्सलाई हराउन सकिन्छ। फिलिपिन्स बलियो पक्कै हो तर मेहनत गरेमा जित्न सकिन्छ।’

अनिलले यसअघि चोटका कारण ताजकिस्तानसँगको दुवै खेल गुमाएका थिए। यमनसँग भने उनले अन्तिममा खेल्न पाएका थिए। तर उनले बल भने छुन पनि पाएका थिएनन्। टोलीमा भित्र बाहिरको लुकामारी भइरहेको अवस्थामा मंगलबारको खेलदेखि यो अवस्था कहिल्यै नदोहोरिने उनले बताए।

एएफसी एसियन कप छनोटअन्तर्गत फिलिपिन्स अन्तिम चरणमा छनोट हुने स्थितिमा छ। टोली ८ अंकसहित फिलिपिन्स शीर्ष स्थानमा छ। समूहमा रहेका अन्य टोलीमा यमन र ताजकिस्तान ६⁄६ अंकसहित अन्तिम चरणमा पुग्ने कोसिसमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्