अप्रत्याशितरूपमा बिजुक्छे बाहिरिए, ढुंगाना भित्रिए, सबैका आँखा नेमकिपा, कांग्रेस र वाम गठबन्धनमा



पुष्कर बुढाथोकी, भक्तपुर
आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा भक्तपुरमा तीन दलको त्रिपक्षीय चुनावी भिडन्त हुने भएको छ। भक्तपुरमा ११ वटा दल चुनावी मैदानमा उत्रिए पनि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीको उम्मेदवारबीच जिल्लाको २ वटा निर्वाचन क्षेत्र र ४ वटा प्रदेशसभामा कडा प्रतिस्पर्धा हुने भएको हो। यसअघिको स्थानीय तह निर्वाचनलाई आँकलन गर्दा जिल्लाका ४ वटा नगरपालिकामध्ये ३ नगरपालिकामा नेकपा एमालेले वर्चश्व कायम गर्दै प्रमुख तथा उपप्रमुखमासमेत जित हासिल गरी जिल्ला समन्वय समितिमा पकड जमाएको छ। भक्तपुर नगरमा त नेमकिपाले एकलौटी पकट जमाएकै छ। तर, कांग्रेसले भने स्थानीय निर्वाचनमा मध्यपुर थिमि नगरपालिकामा समेत उपमेयरमै चित्त बुझाउनुपर्यो। जब कि मध्यपुर थिमी कांग्रेसको गढ मानिन्थ्यो। कांग्रेस आन्तरिकरूपमा विभाजित हुँदा यस्तो परिणाम आएको स्वयं कांग्रेसकै नेता कार्यकर्ता बताउँछन्।

आसन्न निर्वाचनमा भने भक्तपुरको क्षेत्र नं. १ को प्रतिनिधिसभा निर्वाचन र प्रदेश नं. २ (ख) भक्तपुरमा नेमकिपासँग अन्य दलले कठिन प्रतिस्पर्धा गर्नुपर्ने आँकलन गर्न सकिन्छ। तर, क्षेत्र नं. २ र अन्य प्रदेशमा भने प्रतिस्पर्धा मूलरूपमा एमाले र कांग्रेसबीच नै हो। त्यसो त नेमकिपालाई पनि त्यति धेरै कमजोर मान्न मिल्दैन। संगठनका हिसाबले यी क्षेत्रमा कांग्रेस बलियो देखिए पनि स्थानीय तह निर्वाचनको परिणामले एमाले बलियो देखिएको छ। मध्यपुर थिमीमा कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ भने सूर्यविनायकमा एमाले र कांग्रसबीच र चाँगुनारायणमा कांग्रेस, एमाले र नेमकिपाबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गर्न सकिन्छ।

भक्तपुर क्षेत्र नं. १ को प्रतिनिधिसभातर्फ नेपाल मजदुर किसान पार्टीको राम्रो पक्कड छ। भक्तपुर नगरपालिका नेमकिपाको लालकिल्लाको रूपमा स्थापित भएकाले प्रतिनिधिसभामा नेमकिपाका उम्मेदवारलाई पराजित गर्न अरू दललाई मुस्किल पर्ने देखिन्छ। नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले विजयी हासिल गर्दै आएको यो क्षेत्रमा यसपटक बिजुक्छेले प्रेम सुवाललाई उम्मेदवार बनाए पनि नेमकिपाको भोटमा खासै असर नपर्ने विश्लेषण गरिएको छ।

प्रदेशसभातर्फ भने क्षेत्र नं. १ को प्रदेश ‘क’ चाँगुनारायणमा नेमकिपालाई आफ्नो साख जोगाउन हम्मे पर्ने विश्लेषण गरिएको छ। यस क्षेत्रमा नेमकिपाका युवा नेता निरज लवजुले एमालेका पुराना नेता हरिशरण लामिछाने र नेपाली कांग्रेसका युवा नेता जीवन खत्रीसँग कडा प्रतिस्पर्धा गर्नुपर्नेछ। यस क्षेत्रमा तीनवटै दलले आफू जित्ने पक्का भएको चर्चा गर्दै आएका छन्।
नेमकिपाको लालकिल्लाको रूपमा लिइने प्रदेश नं. २ भक्तपुर नगर क्षेत्रमा भने नेमकिपालाई पराजित गर्न नसक्ने देखिएको छ। यस प्रदेशमा नेमकिपाका सुरेन्द्रराज गोसाई, कांग्रेसका अनिल भुजु, र वाम गठबन्धनबाट रोमन शिलाकारलाई उम्मेदवार बनाएको छ।
यस क्षेत्रको प्रदेश नं. १ सूर्यविनायकमा एमालेका प्रखर एवं युवा नेता शशिजंग थापा, नेपाली कांगे्रसका अंगद खड्का र नेमकिपाका युवा नेता सरोजराज गोसाईबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। प्रदेश नं. २ मा भने नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति गणेशमान चक्रधर, एमालेका पुराना नेता राजेन्द्रमान श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने भएको छ। यस क्षेत्रमा नेमकिपाले प्रेमजन थापालाई उम्मेदवार बनाएको छ।

आगामी मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुरमा ११ दल एवं स्वतन्त्रसहित ६७ जनाको उम्मेदवारी कायम भएको छ। जिल्लाको निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभातर्फ कुल १२ जनाको, प्रदेशसभा ‘क’ चाँगुनारायणमा १२ जना र ‘ख’ भक्तपुरमा १० जना गरी ३४ जनाको उम्मेदवारी परेकोमा प्रदेशसभातर्फ ‘क’ चाँगुनारायणमा स्वतन्त्र उम्मेदवारी दिनुभएका रमेश बुढाथोकीले फिर्ता लिएपछि ३३ जनाको उम्मेदवारी कायम भएको छ। त्यसै गरी निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभातर्फ १३ जना एवं प्रदेशसभातर्फ प्रदेश ‘क’ सूर्यविनायकमा १२ जना र ‘ख’ मध्यपुरमा ११ जना गरी ३६ जनाको उम्मेदवारी परेको थियो।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार भक्तपुरका दुवै क्षेत्रमा नेपाली कांग्रेस, वाम गठबन्धन (एमाले–माओवादी केन्द्र), नेपाल मजदुर किसान पार्टी, राप्रपा, नेपाली कांग्रेस (बीपी), नयाँ शक्ति पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, नेपाल दलित पार्टी, विवेकशील साझा पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा नामका पार्टी र स्वतन्त्रले उम्मेदवारी दिएका छन्। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ भक्तपुरमा ७० जनाको उम्मेदवारी परेको थियो।
बिजुक्छे बाहिरिए, ढुंगाना भित्रिए लगातार ५ पटक चुनाव जितेका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले योपटक उम्मेदवार दिनुभएन। नयाँ पुस्तालाई अवसर दिन आफू चुनावमा नउठ्ने निर्णय गरेको उहाँले सञ्चारकर्मीलाई बताउनुभयो। अध्यक्ष बिजुक्छे अब पार्टी संगठन सुदृढीकरणमा केन्द्रित हुने नेमकिपा नेता प्रेम सुवालले बताउनुभयो। यता अग्रज नेता बिजुक्छे संसदीय राजनीतिबाट टाढिन लाग्दा काठमाडौं निवासी कांग्रेसका अग्रज नेता तथा पूर्वसभामुख दमननाथ ढुंगाना भने भक्तपुरमा आएर चुनावी प्रतिस्पर्धामा उत्रनुभएको छ। यसरी हेर्दा भक्तपुरमा एकैपटक २ चुनावी विषय जिल्लाबासीका लागि आश्चर्यचकित पार्ने विषय भएका छन्। बिजुक्छे यसपटक पनि चुनाव लड्छन् भन्ने धेरैको आँकलन थियो भने पछिल्लो समय राजनीतिमा धेरै सक्रिय नदेखिएका ढुंगाना भक्तपुरबाट उठ्छन् भन्ने जिल्लाबासीले सोचेकै थिएनन्। यससँगै निर्वाचन क्षेत्र नं. २ मा ढुंगाना र एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेतबीच कडा टक्कर पर्ने देखिएको छ।

लोकतन्त्र सुदृढीकरण र परिवर्तन संस्थागत गर्न ढुंगानाको उम्मेदवारी२३ वर्षपछि सक्रिय राजनीतिमा आएका पूर्वसभामुख ढुंगानाले भन्नुभयो– ‘देशको अहिलेको परिस्थितिमा आफ्नो धारणा जनतामा लैजान आवश्यक भएकाले चुनावी प्रतिस्पर्धामा आएको बताउनुहुन्छ। लोकतन्त्र सुदृढीकरण र परिवर्तन संस्थागत गर्न जनतामा आफ्नो धारणा लैजान फेरि उम्मेदवार बनेको बताउँदै ढुंगानाले राजनीतिक परिवर्तन भयो तर जनताले त्यसको प्रतिफल पाएनन् त्यसैले यस्तो अवस्थामा आफ्नो धारणा लिएर जनतामा जान खोजेको हुँ।’ ढुंगानाले पार्टी र आफू दुवैको पहलमा उम्मेदवार भएको बताउँदै अहिले जुन प्रजातान्त्रिक गठबन्धन बनाउन खोजिएको छ, त्यसलाई अझ व्यापक बनाउनका लागि पार्टी नेतृत्वले आफूलाई समेटेको दाबी गर्नुभयो। 
ढुंगानालाई भक्तपुरको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाएपछि सो क्षेत्र अहिले चर्चामा रहेको छ। ढुंगानाले मनोनयनपश्चात् कांग्रेसका पुराना नेता एवं कार्यकर्तासँग भेटघाट गर्न थाल्नुभएको छ। उहाँ आफू भक्तपुरबासी भएको दाबी गर्नुहुन्छ। सरकार माओवादीबीचको पहिलो वार्तामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका कांग्रेस नेता ढुंगाना मानव अधिकार क्षेत्रमा समेत परिचित नेता हुनुहुन्छ। भक्तपुर २ नं. क्षेत्रमा ढुंगानाले वाम गठबन्धनका उम्मेदवार महेश बस्नेतसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। बस्नेत पूर्वउद्योगमन्त्री हुन्। मुख्यतः भक्तपुरको क्षेत्र नं. १ मा प्रतिनिधिसभामा नेमकिपाका प्रेम सुवाल, कांग्रेसका बाबुराजा जोशी र वाम गठबन्धनका मिलन सुवालबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। त्यसो त यो नेमकिपाको बलियो क्षेत्र नै हो। आसन्न दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि भक्तपुरमा प्रमुख दल, साना दलसहित स्वतन्त्र व्यक्तिहरूे उम्मेदवार बनेका छन्।

सोही निर्वाचन क्षेत्रमा वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका मिलन सुवाल, प्रदेश नं. १ ‘क’ चाँगुनारायणमा माओवादी केन्द्रका देवीप्रसाद ढकाल, एमालेका तर्फबाट हरिशरण लामिछाने र प्रदेश नं. २ ‘ख’ भक्तपुरमा माओवादी केन्द्रबाट रोमन शिलाकारले उम्मेदवारी दिनुभएको छ। यस क्षेत्रमा वाम गठबन्धन भए पनि एमाले र माओवादी केन्द्रले एकै प्रदेशमा छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएको छ।

निर्वाचन क्षेत्र नं. १ मा नेपाल मजदुर किसान पार्टीले प्रतिनिधसभामा प्रेम सुवाल, प्रदेशसभातर्फ प्रदेश नं. १ ‘क’ चाँगुनारायणमा निरज लवजू र प्रदेश नं. २ ‘ख’ भक्तपुरमा सुरेन्द्रराज गोसाईले उम्मेदवारी दिनुभएको छ। संसद्को प्रत्येक निर्वाचनमा यसै क्षेत्रबाट उम्मेदवारी दिँदै आउनुभएका नारायणमान बिजुक्छेले भने यसपटकको चुनावमा उम्मेदवारी दिनुभएन।यस क्षेत्रमा राप्रपा (प्रजातान्त्रिक) ले नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने भन्दै उम्मेदवारी दिएन भने उम्मेदवारी दर्ताका समयमा समेत राप्रपा र नेपाली कांग्रेस संयुक्तरूपमा आएर समर्थन जनाएका थिए। राप्रपाले भने यस क्षेत्रमा प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएन। प्रदेशसभातर्फ भने प्रदेश नं. १ ‘क’ चाँगुनारायणमा मुकुन्द कार्की र प्रदेश नं. २ ‘ख’ भक्तपुरमा विष्णुप्रसाद त्वायनावासुले उम्मेदवारी दिनुभएको छ।

यस क्षेत्रमा विवेकशील साझा पार्टीले प्रतिनिधिसभातर्फ ई. दीपेश न्यौपानेले र प्रदेश नं. १ ‘क’ चाँगुनारायणमा कालीचरण कार्कीले उम्मेदवारी दिनुभएको छ। राष्ट्रिय जनमोर्चाले भने प्रतिनिधिसभातर्फ राजेश गोसाईले उम्मेदवारी दिनुभएको छ। नयाँ शक्ति नेपालले प्रतिनिधिसभामा रामसुन्दर ह्योमिखा, प्रदेश १ मा सानुप्रसा दबन, २ मा राजाराम धुकुछुले उम्मेदवारी दिएका छन्।
यस क्षेत्रमा प्रतिनिधिसभातर्फ संघीय समाजवादी फोरम नेपालबाट कुश्मा प्रधान श्रेष्ठको मात्रै उम्मेदवारी परेको छ भने यस क्षेत्रको प्रदेश नं. २ ‘ख’ भक्तपुरमा स्वतन्त्रबाट कृष्णगोविन्द सुवाल, राजेन्द्र तिमिल्सिना, शिवराम अवाल, नीलकृष्ण थापालगायतको उम्मेदवारी परेको छ।
निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभातर्फ दमननाथ ढुंगाना र प्रदेशसभातर्फ क्षेत्र नं. १ ‘क’ सूर्यविनायकमा अंगद खड्काले र प्रदेश नं. २ ‘ख’ मध्यपुर थिमिमा गणेशमान चक्रधरले उम्मेदवारी दिनुभएको छ। सोही निर्वाचन क्षेत्रमा वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा एमालेका महेश बस्नेत, प्रदेशसभातर्फ प्रदेश नं. १ ‘क’ सूर्यविनायकमा एमालेका शशिजंग थापा र प्रदेश नं. २ ‘ख’ मध्यपुर थिमिमा एमालेका राजेन्द्रमान श्रेष्ठले उम्मेदवारी दिनुभएको छ।

नेमकिपाले यसक्षेत्रमा प्रतिनिधिसभातर्फ अनुराधा थापामगर, प्रदेशसभातर्फ प्रदेश नं. १ ‘क’ सूर्यविनायकमा सरोजराज गोसाई र प्रदेश नं. २ ‘ख’ मध्यपुर थिमिमा प्रेमजन थापाले उम्मेदवारी दिनुभएको छ। राप्रपाले भने यस क्षेत्रमा प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएन भने प्रदेशसभातर्फ भने प्रदेश नं. १ ‘क’ सूर्यविनायकमा डोलबहादुर कार्की र प्रदेश नं. २ ‘ख’ मध्यपुर थिमिमा राजेश राजवाहकले उम्मेदवारी दिनुभएको छ।

त्यसै गरी यस क्षेत्रमा विवेकशील साझा पार्टीले प्रतिनिधिसभातर्फ शशिविक्रम कार्की र प्रदेश नं. १ ‘क’ सूर्यविनायकमा रमेश राई तथा प्रदेश नं. २ ‘ख’ मध्यपुरमा ई. रामभक्त वादेले उम्मेदवारी दिएका छन्। त्यसै गरी प्रतिनिधिसभातर्फ राष्ट्रिय जनमोर्चाका शिवहरि खनालले उम्मेदवारी दिनुभएको छ। यहाँ नयाँ शक्तिले प्रतिनिधिसभामा श्रीराम खाइजु, १ ‘क’ मा मुकुन्द पोखरेल, २ ‘ख’ मा पूर्णचन्द्र श्रेष्ठले उम्मेदवारी दिनुभएको छ।

भक्तपुरमा वाम गठबन्धन संकटमा, एमाले र माओवादीको छुट्टाछुट्टै भेलाप्रतिनिधि र प्रदेशसभाको आसन्न निर्वाचनमा एकताबद्ध भएर जाने लक्ष्यका साथ गठन भएको वाम गठबन्धन भक्तपुरमा टुट्ने अवस्थामा पुगेको छ।  उम्मेदवारको विवाद भएपछि एमाले र माओवादी केन्द्रले जिल्लामा छुट्टाछुटै भेला गरेका छन्। भक्तपुरको निर्वाचन क्षेत्र नं. १ को प्रदेश नं. १ ‘क’ मा माओवादी केन्द्र र एमालेको छुट्टाछुट्टै उम्मेदवारी परेपछि दुई पार्टीबीच विवाद चुलिएको हो।

यस क्षेत्रमा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका जिल्ला संयोजक डीपी (देवीप्रसाद) ढकालको उम्मेदवारी परेको छ भने एमालेको तर्फबाट एमाले जिल्ला सचिव हरिशरण लामिछानेको उम्मेदवारी परेको छ। सूर्यविनायकमा एमाले समर्थित युवा संघ नेपाल र अनेरास्ववियु भक्तपुरले आयोजना गरेको संयुक्त विस्तारित भेलामा यस क्षेत्रको उम्मेदवारको रूपमा लामिछानेलाई अगाडि सार्दै प्रचारमा जुटेको थियो। यता माओवादी केन्द्रले पनि सूर्यविनायकमै कार्यकर्ता भेला गरेर भक्तपुरमा वाम एकतामा संकट आएको र एमालेले उम्मेदवारी फिर्ता नलिए वाम एकता तोडेर अगाडि बढ्ने गरी तयारी रहने बताइएको छ। वाम गठबन्धनको रूपमा रहेको माओवादी केन्द्रका उम्मेदवार ढकालले भने आफू गठबन्धनको उम्मेदवार भएको बताउनुभयो। एमाले र माओवादी केन्द्रका उच्च नेताहरुको बैठकले भक्तपुर निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधि र प्रदेशसभाको दुईवटै प्रदेश माओवादी केन्द्रको भागमा र क्षेत्र नं. २ को प्रतिनिधि र प्रदेशसभा एमालेको भागमा परेकाले यसलाई कायम राख्नुपर्ने बताउनुभयो।
उहाँले भक्तपुरमा वाम गठबन्धन संकटमा परेको बताउँदै लामिछानेले उम्मेदवारी फिर्ता नलिएकाले गठबन्धन तोडेर माओवादी केन्द्र अगाडि बढेको बताउनुभयो। भक्तपुरमा वाम गठबन्धन जोगाइराख्न र सहमतिबाटै निकास खोज्न एमाले र माओवादी केन्द्रको शीर्ष तहमा छलफल भइरहेको एमाले र माओवादी केन्द्रका जिल्ला पदाधिकारीहरूले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्