राजनीतिको घृणित खेल



 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिने क्रममा ठूला दलका नेताले एक–आपसमा लगाउन थालेको आरोपलाई मतदाताले राजनीतिको घृणित खेल भएको बताउन थालेका छन् । चुनावी परिणाम आफ्नो पक्षमा पार्न नेताहरूले एकले अर्कालाई लगाएको आरोप सुन्न र पचाउनसमेत गाह्रो हुन थालेको छ । अहिले नेपाली कांग्रेको नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धन र नेकपा एमालेको नेतृत्वमा बनेको वाम गठबन्धनका नेताले एक–अर्कालाई आरोप–प्रत्यारोप लगाएर चुनाव आफ्नो पक्षमा पार्ने कोशिश गरेका छन् । यो पक्कै पनि लोकतान्त्रिक अभ्यास होइन । चुनाव जित्नका लागि अहिले दलका शीर्षनेताहरूबाट आउने गरेका अभिव्यक्तिहरू एकले अर्कालाई दबाउने र होच्याउने किसिमका छन् । अहिलेको परिस्थितिमा यो पटक्कै सुहाउने खेल होइन । उनीहरूले व्यक्त गरेका अभिव्यक्ति समाजलाई विखण्डन गर्ने खालका छन्् भन्दा अत्युक्ति नहोला ।

राजनीति भनेको शिष्ट र शालीन अनि जनताले पत्याउने खालको हुनुपर्ने हो । तर विडम्बना, हामीकहाँ भने एकले अर्कालाई खुइल्याएर मतदाता आफ्नो पक्षमा पार्नका लागि नेताहरूबाट आएका अभिव्यक्ति सुन्दा लाग्छ– नेताहरूले आफ्नौ हैसियत भुलेका छन् । आफूले व्यक्त गरेका अभिव्यक्तिले मुलुकलाई कस्तो असर पार्छ भन्ने कुरा पनि बिर्सिएका हुन् कि भन्ने आभास हुन थालेको छ । नेताहरू आफैंले बनाएको घोषणापत्रमा उल्लेख भएका कुरालाई जनताको माझमा पुर्याउनुभन्दा पनि आफ्ना विरोधी दललाई सिध्याउने खेलमा लाग्नुले नेपालको राजनीतिमा अपराधीकरण भित्रिने खतरा बढ्दै गएको भन्दा फरक नपर्ला ।

आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्ना एजेन्डा लानुभन्दा पनि एकले अर्कालाई लगाएको आरोपले मुलुकलाई झन् अस्थिरतातर्फ लैजाने हो कि भन्ने आशंका बढ्दै गएको छ । दलका शीर्षनेताहरूले निर्वाचनका बेला विकास निर्माणका एजेन्डा जनतासामु लैजानुपर्ने हो तर नेताहरूबाट विकास निर्माणका मुद्दालाई गौण बनाइनुलाई जनताले राम्रो मानेका छैनन् । जनताको मन जित्ने काम दलका नेताहरूबाट हुनुपर्ने हो तर लामो समयदेखि ठूला दलका नेताहरू एक–अर्काबीच आरोप–प्रत्यारोपमा उत्रनुलाई दुर्भाग्य नै मान्नुपर्दछ । त्यसैले यसरी चुनाव जित्नकै लागि एक–अर्काबीच आरोप–प्रत्यारोप गर्ने घृणित खेल दलहरूले रोक्नै पर्छ ।

प्रतिक्रिया दिनुहोस्