कास्कीमा कांग्रेस र वाम गठबन्धनबीच कडा प्रतिस्पर्धा, साख जोगाउने कसरतमा पुराना अस्तित्व खोज्दै नयाँ



 

धन बस्नेत, पोखरा

चुनावका लागि समय पर्याप्त छ। उम्मेदवार प्रचारप्रसारमा जुटिरहेका छन्। घरदैलो अभियान चलिरहेको छ। तर, समय भने प्रतिकूल जस्तै देखिएको छ। मंसिर नजिकिँदै गर्दा किसान भने वर्षदिनका लागि अन्न जोहो गर्न खेतबारीमा व्यस्त छन्। धान थन्क्याउने चटारो छ। तर, उम्मेदवारलाई आफ्नो पक्षमा भोट माग्दै हिँडिरहेका छन्।

नयाँ–पुराना एकैठाँउमा छन्। चुनावी प्रतिस्पर्धामा आफ्नै नारा छन्। कास्कीलाई विकासको खाका कोर्ने अभियानमा मुख्य दलहरूले आफ्नो नारालाई पूरा गर्ने प्रतिबद्धतासमेत गरिरहेका छन्। त्यही नारामा आफ्नो मत जाहेर गर्ने पक्षमा जनता छन्। नयाँले राजनीतिक छविलाई उचाइमा पुर्याउने तथा पुरानाले आफ्नो साखलाई जोगाइराख्ने प्रतिस्पर्धा छ।

कास्कीमा ३ क्षेत्र छन्। तीनै क्षेत्रमा वाम गठबन्धन र नेपाली कांग्रेसबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ। दुई पार्टीको प्रतिस्पर्धासँगै राष्ट्रिय जनमोर्चा, संघीय समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली कांग्रेस बीपी, विवेकशील, नेपाल दलित पार्टीलगायत अन्य पार्टीले आफ्नो अस्थित्व खोज्ने छन्।

दुई मन्त्री आमने–सामने
कास्कीमा दुई मन्त्रीको प्रतिस्पर्धा रोचक हुने प्रस्टिएको छ। वर्तमान कानुनमन्त्री यज्ञबहादुर थापा र पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीबीचको प्रतिस्पर्धाले सिंगो कास्कीलाई चुनावमय बनाइदिएको छ। कांग्रेसका थापा र वाम गठबन्धनका अधिकारी कास्की–१ को प्रतिनिधिसभाका उम्मेदवार हुन्। थापाको यो चुनावी प्रतिस्पर्धा तेस्रो हो। तेस्रो प्रतिस्पर्धा गरिरहँदा थापा एक विजयी र एक पराजित हुन्। मादी र रूपा गाउँपालिकासँगै महानगरपालिका केही वडाले कास्की–१ को प्रतिनिधित्व गर्छ।

थापा ०७० सालको चुनावमा पोखरा महानगरपालिकाका वर्तमान मेयर मानबहादुर जीसीलाई पराजित गर्दै सांसद भई मन्त्री भएका हुन्। हुन त अधिकारी थापाभन्दा अघि मन्त्री बनेका हुन्। तर, उनी चुनाव जितेर भने गएका होइनन्। दुवैको जन्मथलो क्षेत्र नं. १ नै हो। दुवै यतिबेला आफ्नो साख जोगाउने अभियानमा छन्। थापा आफ्नो वर्तमान छविलाई अझ उचाइमा पुर्याउने योजनामा लागिपरेका छन्। अधिकारी भने वाम गठबन्धनको इज्जतलाई शिरोपर गर्न कम्मर कसेका छन्।

थापा ०७० सालको दोस्रो सविधानसभाको चुनावमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीलाई पराजित गर्दै सांसद बनेका हुन्। प्रदेशअन्तर्गत क्षेत्र नं. १ ‘ख’ मा पनि हेभिवेट प्रतिस्पर्धा देखिएको छ। कांग्रेसको तर्फबाट जिल्ला सभापति कृष्ण केसी छन्। उनको प्रतिस्पर्धामा वाम गठबन्धनअन्तर्गत नेकपा एमालेका जिल्ला उपाध्यक्ष मनबहादुर गुरुङ छन्। दुवैको प्रतिस्पर्धा प्रतिष्ठासँग जोडिएको छ।

प्रदेशतर्फ क्षेत्र नं. १ ‘क’ मा जीवन परियार र दीपक कोइरालाबीच प्रतिस्पर्धा हुँदै छ। परियार नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। कोइराला पनि माओवादीका सहइन्चार्ज हुन्। कोइरालाले पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराको ४ वर्षे नेतृत्वसमेत सम्हालिसकेका छन्।

सभापति र उपाध्यक्षको प्रतिस्पर्धा
नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीको चुनावी अभियान पहिलो हो। सभापतिको जिम्मेवारी सम्हाल्दै प्रदेश–१ ‘ख’ को उम्मेदवार बनेका केसीले प्रतिस्पर्धी पनि नेकपा एमालेका जिल्ला उपाध्यक्ष मनबहादुर गुरुङसँगै गर्दै छन्। दुई बीचको चुनावी प्रतिस्पर्धाले पनि रोचक भिडन्तसँगै पार्टीको साखसँग जोडिएको छ। एउटै क्षेत्रका उनीहरुको प्रतिस्पर्धाले स्थानीय बासिन्दालाई पनि भोट हाल्न एकपटक सोच्नै पर्ने बाध्यता बनाइदिएको छ।

दुवैको प्रतिस्पर्धा पहिलो हो। एक–अर्काले आफ्नो जित हुने सम्भावनालाई औंल्याइरहेका छन्। कांग्रेसले घरदैलो अभियान थालिसकेको छ। कृष्ण केसीले आफ्नो क्षेत्रका वडाहरुमा घरदैलो गर्दै भोट माग्न व्यस्त भइसकेका छन्। चुनावमा टेस्टेड हुन खोजिरहेका केसीले कांग्रेसको विकल्प अरू कुनै पार्टी नहुने जिकिर गरिरहेका छन्। ‘लोकतन्त्र समाजवाद र समृद्ध देश निर्माणका लागि कांग्रेसको विकल्प अरू हँुदैनन्’ –उनले भने।


दुई बौद्धिक व्यक्तित्वको भिडन्त

कास्कीको प्रतिनिधिसभा–२ मा दुई बौद्धिक व्यक्तित्व चुनावी भिडन्तमा छन्। लामो समय विद्यार्थी राजनीतिमा समेत आफूलाई समाहित गरेका नेपाली कांग्रेसका देवराज चालिसे सहप्राध्यापकसमेत हुन्। नेकपा एमालेका नेता अहिले वाम गठबन्धनका उम्मेदवार रवीन्द्र अधिकारी बौद्धिक व्यक्तित्वमा पर्छन्। अधिकारी संसदीय विकास समितिका सभापतिसमेत हुन्। अधिकारी दुई पटक कास्की क्षेत्र नं. २ बाट निर्वाचित भइसकेका छन्। चालिसे भने चुनावी मैदानमा पहिलोपटक खरोरूपमा उत्रिने तयारीमा छन्।

अधिकारीले २०६४ सालमा माओवादी केन्द्र झलकपाणि तिवारी र २०७० सालमा कांग्रेसका सोभियतबहादुर अधिकारीलाई पराजित गर्दै दुई पटक सांसद बनिसकेका हुन्। अहिले उनलाई चालिसेले कडा चुनौती दिएका छन्। वाम गठबन्धन र नेपाली कांग्रेसबीच नै हुने प्रतिस्पर्धाले सबैको ध्यान केन्द्रित भएको छ।

दुईको पछिल्लो अभिव्यक्ति एक–अर्काप्रति कटाक्ष गरिरहेका छन्। रवीन्द्र अधिकारीले भने– ‘कम्युनिस्ट पराजित भए राजतन्त्र फर्कन्छ।’ उनले सार्वजनिक समारोह भनिरहँदा कांग्रेसका उम्मेदवार चालिसेले हसिया हथौडा (कम्युनिस्ट) पार्टी नै नेपालका लागि दुर्भाग्य भएको बताए। चालिसेले अधिकारीप्रति इंकित गर्दै थपे– ‘एउटा व्यक्तिले दुई पटकभन्दा बढी अवसर पाउनुहुँदैन भन्ने मान्यता सबैले राख्नुपर्छ।’

नयाँ अनुहार
लामो समय राजनीति गरे पनि चुनावमा केही उम्मेदवारले भने अवसर पाएका छन्। कांग्रेसबाट कृष्ण केसी, देवराज चालिसे, गुरु बराल, विन्दुकुमार थापा, सिकन्दर गुरुङ ‘भोज’, एमालेका मनबहादुर गुरुङ, वाम गठबन्धन (माओवादी केन्द्र) का दीपक कोइराला, गठबन्धनकै राजीव पहारी, नयाँ शक्तिका सौगात पोखरेल, सझा विवेकशीलका मिलन अधिकारी चुनावी मैदानमा नयाँ अनुहार हुन्। नयाँ अनुहार आफ्नो अस्थित्वको खोजीमा जुटिरहेका छन्।

महिला उम्मेदवार कम
महिला उपस्थितिको सुनिश्चितताको चासो र चर्चा बढिरहेका बेला राजनीतिमा उनीहरुको अर्थपूर्ण उपस्थिति झनै कमजोर बन्दै गएको छ। ठूला राजनीतिक दलहरुमा महिलालाई पत्याउने चलन अझै बसिसकेको छैन। साना दलहरुले पनि उनीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तित भएको छैन। कास्कीमा आगामी मंसिर २१ गते हुने चुनावका लागि महिला उम्मेदवार खासै देखिएनन्। ठूला मानिएका कांग्रेस, एमाले र माओवादीमा महिला उम्मेदवारको खडेरी नै लाग्यो। साना दलहरुले केही थान उम्मेदवारी महिलाको जिम्मा लगाएका छन्। नेपाली कांग्रेसले केही समानुपातिक पद्धति देखाए पनि अरू दल महिलाका हकमा कमजोर देखिए।

कांग्रेसले कास्की क्षेत्र नम्बर ३ को प्रदेशसभाअन्तर्गत ‘क’ मा नेतृ शारदा पौडेललाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ। वाम गठबन्धनले भने जिल्लाको कुनै पनि क्षेत्रमा महिला उम्मेदवारलाई विश्वास गरेको छैन। एमालेले प्रदेश र प्रतिनिधिसभाका लागि प्रत्येक क्षेत्रबाट महिलालाई सिफारिस गरे पनि निर्णय हुँदा महिला उम्मेदवार परेनन्। जिल्लाभर १ सय १ जनाले दाबेदारी दिँदा महिलाको संख्या ११ जना मात्रै छ।

प्रतिनिधिसभाअन्तर्गत क्षेत्र नम्बर १ र ३ मा एक जना पनि महिला उम्मेदवार छैनन्। क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमोर्चाबाट दालकुमारी खत्री, संघीय समाजवादी फोरमबाट रत्न भट्टचन र नेपाल दलित पार्टीबाट लक्ष्मी विश्वकर्मा उम्मेदवार बनेकी छिन्। प्रदेशसभाअन्तर्गत पनि क्षेत्र नम्बर १ ‘क’ मा राष्ट्रिय जनमुक्ति पार्टीकी सीता श्रीसमगर र मंगोल नेसनल अर्गनाइजेसनकी जानु गुरुङलाई टिकट दिइएको छ। १ नम्बर क्षेत्रकै ‘ख’ मा संघीय समाजवादी फोरम नेपालबाट काशीमाया गुरुङ मात्रै उम्मेदवार छिन्।

२ ‘क’ मा राप्रपाले महिला उम्मेदवार अघि सारेको छ। राप्रपाबाट विष्णु खड्का प्रदेशसभा सदस्यकी उम्मेदवार बनेकी छिन्। २ ‘ख’ मा नेपाल दलित पार्टीबाट मिठु परियार र ‘ख’ मा राप्रपाले धनुमाया कोइराला आचार्य तथा नेपाल दलित पार्टीले कमला विकलाई उम्मेदवार बनाएको छ।

कास्कीमा २ लाख ५५ हजार मतदाता छन्। मतदानका लागि ३ सय १७ मतदान केन्द्र तोकिएको छ। क्षेत्र नम्बर १ ‘क’ मा ५० हजार २ सय ८९, ‘ख’ मा ४५ हजार ७ सय ९५ जना मतदाता छन्। क्षेत्र नम्बर २ ‘क’ मा ३७ हजार ६ सय ४३, ‘ख’ मा ३३ हजार ८ जना मतदाता छन् भने क्षेत्र नम्बर ३ ‘क’ मा ४६ हजार २ सय ५२ र ‘ख’ मा ४२ हजार ४ सय ६५ जना मतदाता रहेको निर्वाचन कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्