वयस्क तन्नेरी



गत आर्थिक वर्षदेखि कक्षा १२ सम्मको शैक्षिक तह माध्यमिक भित्रै गाभिएको छ। तह हेरफेर भएसँगै उमेर हदबन्दीका कारण सेवा निवृत्त हुने शिक्षक–शिक्षिकाको सूची पनि लामै छ। गतिलै सेवा सुविधाका साथ निवृत्त भएकाहरूको मन अझै तरुनो भएको देख्दा धराहरा छक्क पर्न थाल्या छ। कुरो के भने पाठकवृन्द, मन तरुनो भएका अधिकांश सेवा निवृत्त विगतमा झैं करार वा दैनिक हाजिरीका रूपमा दोहोरो सुविधाका साथ अध्यापनमा जुटिरहेका छन्।

खारिएको जनशक्ति विद्यालयमा निरन्तर हुनु ठीकै पनि हो, तर उनै पुरानाले ठाउँ ओगट्दा युवा पुस्ताको गतिलो शैक्षिक डिग्रीले कहिले सम्मान पाउने ? काठमाडौं खाल्डोमा ‘इनर्जी ड्रिंक’ र ‘यार्चागुम्बा’ खाएर विद्यालय धाउन नछोड्नेहरूको जमात ठूलै छ। अझ आश्चर्यको कुरा त के छ भने वयस्क तन्नेरीहरू अधिकांश विषयको जानकार आफैलाई सम्झन्छन्, नयाँलाई भन्छन्– ‘तपाईको अनुभव अझै पुग्या छैन।’

वर्षांै खर्चिएको डिग्रीको ट्रान्सक्रिप्टमा ताराको लामै सूची थप्दा पो अनुभवले खारिने हो कि धराहराले बुझ्न सक्या छैन।

प्रतिक्रिया दिनुहोस्