नेपाली जोडी फाइनलमा



 

नेपाल समाचारपत्र
काठमाडौं
नेपाली जोडी निशान श्रेष्ठ र आदित्य सुवेदीले केशा ग्रुप एएनएलटीए एसियन यू–१४ रेन्किङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट २ को ब्वाइज डबल्सको फाइनलमा स्थान सुरक्षित गरेका छन्।

सातदोबाटोस्थित टेनिस कोर्टमा मंगलबार ब्वाइज डबल्सको सेमिफाइनल खेलमा निशान र आदित्य सुवेदीको जोडीले भारतका हरिशरण बास्करण र सिवसामी रामालिङ्गम नाथिन रामको जोडीलाई ६–२, ६–३ ले हराएको हो। त्यस्तै अर्को खेलमा भने नेपालका श्रीयोग अधिकारी र भारतका सम्प्रित शर्माको जोडी भारतका अनर्घा गांगुली र लेस्टन भाजको जोडीसँग ६–१ र ६–३ ले हारेको थियो।

यस्तै नेपालकी अभिलाषा विष्टले प्रतियोगिताअन्तर्गत गल्र्स डबल्सको फाइनलमा यात्रा तय गरिन्। अभिलाषा र भारतकी इलिना झाको जोडीले नेपालका ईशाश्री शाह र सर्भानी श्रेष्ठको जोडीलाई ६–१ र ६–३ ले हराएको थियो। अर्को सेमिफाइनल खेलमा भने नेपालकी सलोनी तामाङ र भारतकी प्राची मन्त्रीको जोडी पराजित भयो। उनीहरुलाई भारतीय जोडी वैश्नवी अड्कर र हर्साली मान्दभ्करले ६–२ र ६–० ले पन्छाएका थिए।

अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्समा नेपालका आदित्य सुवेदीले नेपालकै श्रीयोग अधिकारीलाई स्पष्ट ह्वाइट वाश गरेर अन्तिम चारमा स्थान पक्का गरे। तर उनका डबल्सका साथी खेलाडी निशान श्रेष्ठ भने पराजित भएका थिए। उनलाई भारतका सिवसामी रामालिङले ७–५, ६–० ले निरास गरेका थिए। अन्य खेलमा भारतका अनर्घा गांगुली र लेस्टन भाज अन्तिम चारमा पुगे।

गल्र्स सिंगल्समा नेपालका अभिलाषा विष्ट क्वार्टरफाइनलमा पुगिन्। पहिलो सेटमा अभिलाषा ३–० ले अगाडि छँदा प्रतिद्वन्द्वी नेपालकै शुभांगीलक्ष्मी शाह रिटायर्ड हर्ट भएकी थिइन्। अन्य खेलमा नेपालकी रायना शाह भारतकी हर्साली मान्दभ्करसँग ६–२, ६–०, नेपालकी ईशाश्री शाह भारतकी प्राची मन्त्रीसँग ६–०, ६–० ले हारेर प्रतियोगिताबाट बाहिरिए।

प्रतिक्रिया दिनुहोस्