पिर्लोले संन्यास लिए



 

रोम, एजेन्सी
इटालीका पूर्व मिडफिल्डर आन्द्रे पिर्लोले फुटबलबाट संन्यासको घोषणा गरेका छन्।

उनले न्युयोर्क सिटीका लागि यस सिजनको आफ्नो अन्तिम खेलपछि फुटबलबाट संन्यासको घोषणा गरेका हुन्। न्युयोर्कलाई दुवै सिजन प्लेअफसम्म पुर्याएका पिर्लोले करिअरको अन्तिममा ट्रफी भने जित्न सकेनन्।

३८ वर्षीय पिर्लोले इटालियन राष्ट्रिय टोलीबाट १ सय १६ म्याच खेलेका छन्। सन् २००६ मा इटालीले फिफा विश्वकप चौथो पटक जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए। सन् २०१५ मा उनी अमेरिकी लिग क्लब न्युयोर्क सिटीमा आबद्ध भए हुन्। जहाँ उनले इंग्लिस मिडफिल्डर फ्रान्क लाम्पार्ड र स्पेनिस स्ट्राइकर डेभिड भियासँगै खेले। इटालियन क्लब ब्रेशियाबाट करिअर शुरू गरेका पिर्लोले इन्टर मिलान, एसी मिलान र युभेन्ट्सबाट पनि खेलिसकेका छन्।

उनले ट्वीटरमार्फत घोषणा गर्दै भने– ‘मलाई खेल्ने अवसर दिने सबै क्लबलाई आभार व्यक्त गर्न चाहन्छु। टिमका हरेक साथी जोसँग मैले खेल्न पाएँ उनीहरूप्रति म कृतज्ञ छु।’ इटालीका तर्फबाट विश्वकप जित्नुबाहेक २२ वर्षे फुटबल करिअरमा पिर्लोले धेरै घरेलु प्रतियोगिताहरूमा पनि आबद्ध भएर टोलीलाई उपाधि दिलाउन महत्त्वपूर्ण योगदान गरेका छन्।

सन् २००३ देखि २०११ सम्म एसी मिलानमा रहँदा उनले दुई पटक च्याम्पियन्स लिगको उपाधि र समान एक–एक पटक फिफा क्लब विश्वकप र सिरी ‘ए’को उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। त्यस्तै सन् २०११ देखि २०१५ सम्म चार वर्ष युभेन्ट्सले लगातार सिरी ‘ए’को उपाधि जित्दा उनी टिमका प्रमुख सदस्य थिए।

प्रतिक्रिया दिनुहोस्