रियलको सहज जित



मेड्रिड, (एजेन्सी)
स्पेनिस ला लिगामा रियल मेड्रिडले सहज जित हात पारेका छन्।
आइतबार राति भएको खेलमा रियल मेड्रिडले लस पाल्मासलाई ३–० गोल अन्तरले पराजित गरेको छ। रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको उक्त खेलको ४१औं मिनेटमा मिडफिल्डर कासेमिरोले हेडमार्फत गोल गर्दै रियललाई शुरूआती अग्रता दिलाएका थिए।

पहिलो हाफसम्म एक गोलले अघि रहेको रियलले खेलको ५६औं मिनेटमा एसेन्सियोको गोलबाट अग्रता दोब्बर पार्यो। उनले ३० यार्डको दूरीबाट आकर्षक गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर पारेका थिए। यस्तै खेलको ७४औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको पास सदुपयोग गर्दै इस्कोले गोल गरेपछि रियलले तीन अंक पनि सुनिश्चित गर्न सफल भए।

जितसँगै ११ खेलबाट २३ अंकका साथ रियल लिग तालिकाको तेस्रो स्थानमा रहेको छ। शीर्षस्थानमा रहेको चिरपरिचित प्रतिद्वन्दी बार्सिलोनाभन्दा रियल ८ अंकले पछि रहेको छ। लस पाल्मास भने लगातार सातौं हार बेहोर्दै अंक तालिकाको १९औं स्थानमा छ।

आइतबार राति नै भएका अन्य खेलहरूमा लेभान्टेले जिरोनालाई २–१ ले हराउँदा भियारियलले पनि मालागालाई २–० ले पाखा लगाए। यसैगरी सेल्टा भिगोले एथ्लेटिक बिल्बाओ तथा रियल सोसिडाडले एबारलाई समान ३–१ ले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्