सिटी शीर्षस्थानमा अडिग



बेल्जियम स्टार लुकाकु (रातो जर्सी)ले युनाइटेडका लागि अघिल्ला सात खेलमा गोल गर्न सकेका छैनन्। जबकि ७ करोड ५० लाख पाउन्ड तिरिएको यी खेलाडीले शुरूका ११ खेलबाट १० गोल गरिसकेका थिए। तस्वीरः एजेन्सी

 

लन्डन, (एजेन्सी)
आर्सेनललाई हराउँदै म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको अंक तालिकामा शीर्षस्थानमा अडिग रहँदै अग्रता दूरीलाई पनि फराकिलो पारेको छ।
प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले आर्सेनललाई ३–१ गोल अन्तरले हराएको हो। सिटीका लागि केभिन डे ब्रुयन, सर्जियो अगुएरो र ग्याब्रियल जिससले एक–एक गोलको योगदान गरेका थिए।

खेलको १९औं मिनेटमा फर्नान्डिन्होको पासमा डे ब्रुयनले उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। त्यस्तै दोस्रो हाफको शुरूआती मिनेटतिर आर्सेनलका डिफेन्डर नाचो मोनरियालले रहिम स्टर्लिङलाई फाउल गरेकाले सिटीले पेनाल्टी पाएको थियो। जसलाई गोलमा परिणत गर्दै अगुएरोले सिटीको गोलसंख्या दोब्बर पार्नुका साथै जारी सिजनमा आठौं गोल पनि गरे। यता आर्सेनलका फरवार्ड एलेक्जेन्डर लाकाजेटले खेलको ६५औं मिनेटमा आर्सेनलका लागि एक गोल फर्काए। तर खेलको ७४औं मिनेटमा जिससले सिटीतर्फबाट तेस्रो गोल गर्दै जित सुनिश्चित गरे।

जितसँगै सिटीले आफ्नो ११ खेलबाट ३१ अंक जोडेको छ र अग्रस्थानमा आफ्नो पकड अझ बलियो बनाएको छ। त्यस्तै आर्सेनल भने अंक तालिकाको छैठौं स्थानमा झरेको छ।

चेल्सीद्वारा युनाइटेड पराजित
आइतबार राति नै भएको अर्को खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडलाई १–० ले हरायो। घरेलु टोलीको जितमा स्ट्राइकर एल्भारो मोराटाले निर्णायक गोल गरेका थिए।

पहिलो हाफसम्म गोलविहीन बनेको उक्त खेलको ५५औं मिनेटमा सेजार एज्पिलिक्वेटाको पासमा मोराटाले हेडमार्फत बललाई युनाइटेडको जाली चुमाएका थिए। जारी सिजनको प्रिमियर लिगमा यो उनको १०औं गोल थियो। जितसँगै चेल्सी २२ अंकसहित अंक तालिकाको चौथो स्थानमा छ भने युनाइटेड २३ अंकसहित दोस्रोमा रहेको छ। यस नतिजाले ३१ अंकसहित अग्रस्थानमा रहेको म्यानचेस्टर सिटीलाई फाइदा पुगेको छ।
प्रिमियर लिगअन्तर्गत आइतबारै खेलिएको अन्य खेलमा एभर्टनले वाट्फोर्डलाई ३–२ ले पराजित गरेको थियो। एभर्टनको जितमा खेलको इन्जुरी समयमा प्राप्त पेनाल्टीमा लेटन बेन्सले गरेको गोल नै निर्णायक बनेको थियो।

प्रतिक्रिया दिनुहोस्