इपिसेन्टर गोरखा



हिजोआज जताततै चुनावको मात्रै कुरा हुन थालेको छ। कार्यालय जाऊ चुनाव, बाटाघाटा जाऊ चुनाव, होटल रेस्टुराँमा चुनाव जताततै चुनावै चुनाव। यसो यो अदृश्य प्राणी आफ्नो दूरविन लिएर बजारतिर निस्केको त ०७२ सालको भूकम्पको केन्द्रबिन्दु गोरखा र अहिलेको प्रदेशसभा तथा प्रतिनिधिसभाको केन्द्रबिन्दु पनि गोरखा नै हो भनी दुईचार जना एकआपसमा खासखुस गरिरहेको यसले देख्यो।

कहिले कांग्रेसको रूख जरैसमेत उखेल्नुपर्छ भनेर चर्चामा आउने त कहिले अब पार्टी भनेको कांग्रेस मात्रै हो भनी आफ्ना मतदाता फकाइरहेका डा. बाबुराम भट्टराई र गोर्खालीको छोरो हुँ बाबुरामले के गरे अब म गर्छु भनेर आफ्ना मतदाता फकाइरहेका नारायणकाजीका बारेमा निकै बहस भइरहेको थियो। यस धरहरालाई लाग्यो गोरखा जहिले पनि चर्चित नै छ चाहे पृथ्वीनारायण शाह हुन् या राम शाह अथवा अहिलेका दुई चर्चित काम्रेडहरू। जताततै यिनीहरूकै कारणले गोरखा तातेको आभास भएको छ। चुनावी मैदानमा एउटाले त पक्कै बाजी मार्छन् तर कसले मार्छ भन्ने नै अहिलेको प्रमुख विषय बनेको छ।

प्रतिक्रिया दिनुहोस्