टोटनह्यामको लगातार तेस्रो जित



 

लन्डन, (एजेन्सी)
प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार भएको खेलमा टोटनह्यामले क्रिस्टल पेलेसलाई १–० ले हराएर लगातार तेस्रो जित हात पारेको छ।

टोटनह्यामले लिगको रेलिगेसन क्षेत्रमा रहेको टोलीलाई हराउन एक मात्र गोल सन हिउङ मिनले गरेका हुन्। उनले ६४औं मिनेटमा गरेको गोल नै निर्णायक भएपछि स्पर्सले ३ अंक जोडेको थियो। यो गोलसँगै सन एसियाबाट प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने खेलाडी पनि बने। २०औं प्रिमियर गोल गरेका सनले म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी पार्क जी सुङ (१९ गोल) लाई पछि पारेका छन्।

यसै गरी शनिबार सम्पन खेलमा लिभरपुलले वेस्टह्याम युनाइटेडलाई उसैको घरेलु मैदानमा ४–१ ले पराजित गर्यो। लिभरपुलको जितमा विंगर मोहम्मद सालाहले २ गोलको योगदान दिएका थिए। चोटबाट फर्केका स्टार खेलाडी साडियो मानेको पासमा सालाहले २३औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई शुरूआती अग्रता दिलाए। उक्त अग्रता लिएको ३ मिनेटभित्रै डिफेन्डर जोएल माटिपले लिभरपुलका तर्फबाट दोस्रो गोल सम्भव पारे।

यता वेस्टह्यामका म्यानुयल लान्जिनीले खेलको ५५औं मिनेटमा गोल फर्काएर घरेलु टोलीलाई खेलमा पुनरागमन गराउने छाँटकाँट देखाए। तर, त्यसको एक मिनेटपछि नै एलेक्स अक्सलेड चेम्बरलेनले गोल गर्दै लिभरपुललाई ३–१ ले अघि पारे। यसै गरी ७५औं मिनेटमा सालाहले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलको ३ अंक सुनिश्चित बन्यो। जितसँगै ११ खेलमा १९ अंकका साथ लिभरपुल अंक तालिकाको छैटौं स्थानमा यथावत रहेको छ भने वेस्टह्याम ११ खेलमा ९ अंकसहित तालिकाको १७औं स्थानमा छ।

प्रिमियर लिगअन्तर्गत शनिबार राति नै भएका अन्य खेलमा हडर्सफिल्ड टाउनले वेस्ट ब्रोमलाई, बर्नमाउथले न्युक्यासल युनाइटेडलाई, बर्नलेले साउथह्याम्पटनलाई र ब्राइटनले स्वान्सी सिटीलाई समान १–० ले हराए भने लेस्टर सिटी र स्टोक सिटीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

प्रतिक्रिया दिनुहोस्