बंगलादेशमा नेपालको दोस्रो हार



 

नेपाल समाचारपत्र
काठमाडौं
बंगलादेशमा एसिया कपको तयारीमा रहेको नेपालको १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट टोली अर्को अभ्यास खेलमा पनि पराजित भएको छ।पहिलो अभ्यास खेलमा तीन विकेटले हारेको नेपाली युवा टोलीले शनिबार बंगलादेशको घरेलु टोलीसँग १ सय २३ रनको फराकिलो हार आत्मसात गर्यो। बंगाली टोलीले दिएको २ सय २८ रनको लक्ष्य नेपालले पछइउन सकेन। नेपाल ३६ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १ सय ४ रनमा समेटिएको थियो। पराजित टोलीका लागि सर्वाधिक योगदान २४ रन बनाएका रसिद खानले दिए। जबकि उनी १०औं नम्बरमा ब्याटिङ गर्न आएका थिए। माथिल्लो नम्बरका खेलाडीहरुले टोलीका लागि कुनै ठोस सहयोग गर्न सकेनन्।

नेपालले ६७ रनमा पुग्दा नै नौ विकेट गुमाइसकेको थियो। तर रसिद र सन्दीप लामिछानेले अन्तिम विकेटका लागि ३७ रनको साझेदारी गरेर नेपालको स्कोर १ सयमा पुर्याएका थिए। रसिदले ४० बलको सामना गरेर दुई चौका र एक छक्का पनि प्रहार गरेर अन्तिम विकेटका रुपमा आउट भएका थिए। सन्दीप १२ रन बनाएर नटआउट रहेका थिए।

नेपालको शुरुआतै ज्यादै खराब भएको थियो। ओपनर सन्दीप सुनार ३ रनमा, मोहम्मद आसिफ शेख ९ रनमा र कप्तान दीपेन्द्रसिंह ऐरी शून्यमा आउट भएपछि नै नेपालको ब्याटिङ कमजोर बनिसकेको थियो। थप दुई विकेट कुमार पौडेल (९ रन) र भीम सार्की (६ रन)को पतन भएपछि नेपालले २९ रनमै पाँच विकेट गुमाएको अवस्था थियो। मध्यक्रमका ब्याट्सम्यान पवन शराफले १६ रन र प्रनीत थापा मगरले १२ रन जोडेर आउट भएका थिए। मध्यक्रममा पनि सम्हालिन नसक्दा नेपालको पराजय पक्का भएको थियो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ८ विकेटको क्षतिमा २ सय २७ रन बनाएको थियो। टोलीका लागि कप्तान सैफ हसनले ६२ रन र अफिफ हुसेनले ५९ रनको योगदान दिएका थिए। यी दुई ब्याट्सम्यानलाई नेपाली बलरले अंकुश लगाउन नसक्दा बंगाली टोलीले २ सय रन कटाउन सकेको थियो। नेपाली बलरमा सन्दीप र दीपेन्द्रले २⁄२ विकेट लिएका थिए।

नेपालले यू–१९ एसिया कपअन्तर्गत समूह ‘ए’मा बंगलादेश, भारत र मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। नेपालको पहिलो खेल कात्तिक २५ गते बंगलादेशसँगै हुनेछ। त्यस्तै कात्तिक २६ गते भारतसँग खेल्ने नेपालले अन्तिम खेल कात्तिक २८ गते आयोजक मलेसियाविरुद्ध खेल्नेछ।

डेनमार्ककी टेनिस सुन्दरी कारोलिन वोजनियाकीले अमेरिकी बास्केटबल खेलोडीसँग इन्गेजमेन्ट गर्ने घोषणा गरेकी छिन्। सिंगापुरमा गत साता डब्लूटीए टूर फाइनल्सको उपाधि जितेलगतै उनले इन्गेजमेन्टको घोषणा ट्विटरमा गरेकी हुन्। उनका प्रेमी डेविड ली न्यु योर्क निक्स र गोल्डेन स्टेट वारियर्स पावरका पूर्वखेलाडी थिए। २७ वर्षीया वोजनियाकीले डब्लूटीए टूर फाइनल्समा भेनस विलियम्सलाई हराएर करिअरमै पहिलो सबैभन्दा ठूलो उपाधि जितेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्